२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वनस्थलीस्थित पार्टी कार्यालयमा प्रहरीको बाक्लो उपस्थिति छ ।
रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएसँगै पार्टी कार्यालयमा कार्यकर्ताको भिड छ । त्यहीबीचमा रास्वपा कार्यालय वरिपरि प्रहरीको पनि बाक्लो उपस्थिति छ ।
‘पछिल्लो परिस्थिति हेरेर उत्पन्न हुनसक्ने परिस्थितिलाई नियन्त्रणमा लिन पनि प्रहरी टोली खटाएका हौं’, प्रहरीका एक उच्च अधिकृतले अनलाइनखबरसँग भने, ‘पोशाकमा खटिएको टोली उहाँलाई पक्राउ गर्नभन्दा पनि तनाव नहोस् भनेर सुरक्षार्थ गएको हो ।’
सत्तारुढ नेकपा एमालेका सांसद् सूर्य थापाको नेतृत्वमा सहकारी समस्याबारे छानबिन गर्न १५ जेठमा बनेको संसदीय विशेष समितिले लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको थियो । प्रतिवेदनलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै कास्की प्रहरीले यो मामलामा अनुसन्धान अघि बढाएको थियो ।
त्यसक्रममा प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई ६ असोजमा प्रहरीले ‘जरुरी पक्राउ पूर्जी’ दिएर काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । तर, लामिछाने पक्राउ परेका थिएनन् ।
अहिले जोशीको बयान समेत लिइसकेको अवस्थामा लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ । अदालतले पक्राउ गर्न अनुमति दिएसँगै रास्वपाका समर्थकहरुले रास्वपा कार्यालयमा नारावाजी समेत गरिरहेका छन् ।
तस्वीरहरु: आर्यन धिमाल/अनलाइनखबर
 
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4