 
																						७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्रै संयन्त्र बनाएर काम सुरु गर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा कांग्रेसको सय दिने विशेष अभियान अन्तर्गत काठमाडौं-१३ को दोस्रो वडा सम्मेलनलाई सम्बोधन गर्दै थापाले कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने बताए ।
थापाले संयन्त्रले संविधानमा न्यूनतम चलाउनुपर्ने र चलाउनसक्ने विषयमा समझदारी कायम गर्ने बताए । ‘अरू राजनीतिक दलहरूसँग संवाद गर्छौं, किनभने यो संविधान भनेको कांग्रेस एमालेले चाहेर मात्रै संशोधन हुनेकुरा होइन,’ उनले भने, ‘माओवादी, मधेशका अरू दलहरूसँग संवाद गर्छौं । दलहरूको बीचमा समझदारी बनाउँछौँ । न्यूनतम कुराहरू संशोधन गर्छौं ।’
गठबन्धन बनाएर चल्नुपर्ने बाध्यताबाट संविधानलाई बाहिर निकाल्ने उनले बताए । ‘एउटा राजनीतिक दलले एउटा निर्वाचनमा जाँदै गर्दा एकदमै लोकप्रिय समर्थन गरेको बेलामा पनि अर्को एउटा सानो दलसँग टाँसिनै पर्ने जुन अहिलेको बाध्यता छ, त्यो बाध्यताबाट हाम्रो संविधानलाई बाहिर निकाल्नुपर्नेछ,’ उनले भने ।
संविधान संशोधनपछि एउटा अवधि एउटा राजनीतिक दलले सरकार चलाउन पाउने अवस्था बनाउने बताए ।
महामन्त्री थापाले संयन्त्र सुझबुझपूर्ण ढंगले बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने बताए । उनले सबै राजनीतिक दलहरूसँग छलफल गरेर संविधान संशोधन गर्नैपर्ने न्यूनतम कुराहरूको संशोधन हुने बताए ।
महामन्त्री थापाले २०८४ को निर्वाचनमा जाँदा २०८१ देखि २०८३ सम्मको कामको जिम्मेवारीबाट कुनै पनि राजनीतिक दल भाग्न नहुने बताए । उनले यो अवधिमा आफूले गरेका कामहरूको फेहरिस्त बोकेर जनतासँग जानसक्ने हैसियत बनाउनुपर्ने बताए ।
निर्वाचनभन्दा अगाडिको अवधिको जिम्मा लिने कुनै पनि राजनीतिक दल नरहेको भन्दै उनले अब जिम्मेवारी लिनेगरी मात्रै जनतामाझ जानुपर्ने आवश्यक रहेको बताए ।
चुनावको परिणाम जेसुकै आए पनि २०८४ को चुनावमा १६५ निर्वाचन क्षेत्र, प्रदेशका ३३० स्थान, सबै नगरपालिका र वडामा कांग्रेसले एक्लै चुनाव लड्ने उनले बताए ।
महामन्त्री थापाले कांग्रेसले विधिको शासन स्थापित गर्नुपर्ने बताए । उनले सबै नागरिकसँग राज्यले बराबर व्यवहार गर्ने स्थिति सिर्जना गर्नुपर्ने बताइ । सरकारले केही समयभित्रै परिवर्तनका केही संकेतहरू देखिने गरी काम गर्ने उनको दाबी छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4