 
																			नेपाली किसानको जीवन कठिनाइ र संघर्षको उदाहरण हो, उनीहरूलाई हामीले साँचो अर्थमा देशका नायकका रूपमा सम्झनुपर्छ। उनीहरू बिहानै उठेर, दिनरात, घामपानी नभनी कठिन मिहिनेत गर्दै, आफ्नो परिवार, समुदाय र देशका लाखौं मानिसलाई बिहान र साँझको भोजन उपलब्ध गराउँछन्। तर, यो यात्रा सोचे जस्तो सरल भने छैन। उनीहरूको अस्तित्व प्रकृतिको अनिश्चिततामा झुन्डिरहेको छ।
हरेक नयाँ कृषि मौसमले नयाँ–नयाँ चुनौती र संघर्ष बोकेको हुन्छ। बाली रोप्ने बेलामा किसानहरूको मनमा आशा र डर, दुवै एकसाथ पलाउँछन्। पर्याप्त उपजको आशाले राम्रो आम्दानी र आवश्यकता पूरा गर्न प्रेरित गर्छ, अप्रत्यासित प्राकृतिक विपद्ले उनीहरूको परिश्रमलाई केही समयमै तहसनहस पार्न सक्छ। रोग, कीरा, बाढी, खडेरी, आँधी र असिना जस्ता विपद्ले प्रत्येक वर्ष हजारौं किसानहरूको सपना र श्रमलाई खोसेर, उनीहरूलाई निराशातिर धकेल्दछन्।
 राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण २०२२ अनुसार, नेपालको कृषि क्षेत्रमा पछिल्लो पाँच वर्षमा प्राकृतिक प्रकोपका कारण ४१५ अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको छ। विगत दुई दशकमा लगभग ५० प्रतिशत किसान (पछिल्लो २५ वर्षमा) नयाँ-नयाँ रोग र कीराका प्रकोपको शिकार भएका छन्। करिब ६५ प्रतिशत किसानले खडेरी, ४६ प्रतिशत आँधी र २९ प्रतिशत किसानले बाढीको प्रकोप भोगेका छन्।
राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण २०२२ अनुसार, नेपालको कृषि क्षेत्रमा पछिल्लो पाँच वर्षमा प्राकृतिक प्रकोपका कारण ४१५ अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको छ। विगत दुई दशकमा लगभग ५० प्रतिशत किसान (पछिल्लो २५ वर्षमा) नयाँ-नयाँ रोग र कीराका प्रकोपको शिकार भएका छन्। करिब ६५ प्रतिशत किसानले खडेरी, ४६ प्रतिशत आँधी र २९ प्रतिशत किसानले बाढीको प्रकोप भोगेका छन्।
यी प्रकोपहरूले केवल बाली मात्र होइन, किसानहरूको आशा, भरोसा, परिश्रम, रोजीरोटी, सपना र भविष्यलाई पनि नष्ट पार्ने गरेका छन्। यसैले, प्रत्येक बाली लगाउँदा सबै किसानको मनमा एउटा गहिरो डर पलाउँछ– यो पटक पनि कुनै अनियन्त्रित प्रकोपले परिवारलाई भोक र निराशामा डुबाउने हो कि ?
यस कठिन र नाजुक कृषि प्रणालीमा, कृषि बीमा एक महत्वपूर्ण सुरक्षाकवचको रूपमा प्रस्तुत हुन सक्छ, जसले किसानलाई अप्रत्याशित विपदहरूबाट बच्न केही हदसम्म सुरक्षा र आत्मविश्वास प्रदान गर्न सक्छ। यस्तै कठिन परिस्थिति बुझ्दै, सन् २०१३ मा नेपाल सरकारले कृषि बीमाको शुरूवात गर्दै किसान माझ ठूलो आशा जगायो।
कृषि बीमा, कृषकहरूको जीवनमा सुधार ल्याउने एक प्रमुख कदमको रूपमा देखियो। दशक बितिसक्दा, लाखौं किसानले अप्रत्याशित नोक्सानीको भरपाई पाएर सुरक्षित महसुस गरेका छन्। यी सफल उदाहरणले प्रमाणित गर्छ कि कृषि बीमाले किसानहरूको जीवनमा साँचो परिवर्तन ल्याउन सक्छ। यद्यपि, सरकारले सुरुमा प्रिमियममा ५० देखि ८० प्रतिशतसम्मको अनुदानको व्यवस्था गरे पनि नेपालका धेरै ग्रामीण क्षेत्रका किसानको लागि यो सुरक्षाकवच आज पनि पहुँच बाहिर छ।
सन् २०२२ को राष्ट्रिय कृषि जनगणनाका अनुसार, केवल ४ प्रतिशत कृषकहरूले बीमाको लाभ प्राप्त गर्छन्। ९६ प्रतिशत किसानहरू अझै पनि जोखिमको घेरामा संघर्ष गरिरहेका छन्, र बाली बीमाको स्तर अझै पनि न्यून, करिब सम्पूर्ण कृषि बीमाको जम्मा ८ प्रतिशत मात्र छ। यसले देखाउँछ कि अधिकांश किसान यो सुरक्षाकवचबाट वञ्चित छन् र उनीहरूको पेशा अझै जोखिमपूर्ण अवस्थामा छ।
नेपालका ग्रामीण क्षेत्रहरू, जहाँ अधिकांश किसानको वर्चस्व छ; ती क्षेत्रका किसानहरू झनै बढी जोखिममा रहेका छन्। दुर्गम स्थानहरूमा बीमाको पहुँच लगभग शून्य जस्तै छ। बीमाबारे चेतनाको स्तर पनि अत्यन्त न्यून छ। जहाँ किसानहरू केही हदसम्म जानकार छन्, त्यहाँ पनि बीमाको जटिल प्रक्रिया र स्थानीय एजेन्टहरूको अभावले समस्या अझ जटिल बनाएको छ। यसका कारण किसानलाई टाढाका जिल्ला कार्यालयहरूमा जान बाध्य बनाउँछ।
यस प्रक्रियामा यात्रा र अन्य खर्चले स-साना दाबीहरू पनि आर्थिक रूपमा अनर्थक बनाउँछन्। जसले बीमा गरेका छन्, उनीहरूलाई पनि लामो प्राविधिक र कागजी प्रक्रिया, बीमा अनुदानमा ढिलाइ तथा दाबी समाधानमा देखिने समस्याले बीमाप्रति विश्वास घटाएको छ।
बीमा सेवाको अभावले किसानहरूलाई केवल भैपरी आउने आर्थिक नोक्सानी मात्रै गर्दैन यसले उनीहरूको भावनात्मक अवस्था समेत कमजोर बनाउँछ। नष्ट भएको बालीको पछाडि केवल वित्तीय घाटा मात्र होइन, एउटा किसानको सपना र परिवारको भविष्य लुकेको हुन्छ। जब बाली नष्ट हुन्छ, किसानको मनमा गहिरो पीडा र निराशा उत्पन्न हुन्छ, जसले उनलाई भावनात्मक रूपमा कमजोर बनाउँछ र आत्मविश्वासको कमी ल्याउँछ। अझैसम्म पनि सरल बीमा पहुँच धेरै किसानका लागि एउटा दुर्गम सपना जस्तो लाग्छ।
अहिलेको परिप्रेक्ष्यमा कृषि बीमालाई प्रभावकारी बनाउन, कृषकहरूको बीचमा जागरुकता बढाउन, बीमामा पहुँचलाई सरल बनाउन र किसानलाई आवश्यक बीमा शिक्षा र जानकारी प्रदान गर्न निकै आवश्यक छ। यदि स्थानीयस्तरमा बीमा एजेन्टहरूको व्यवस्था, निरन्तर प्रशिक्षण कार्यक्रम र सरल दाबी प्रक्रिया लागू गर्न सकियो भने किसानको सहभागिता र विश्वासमा वृद्धि गर्न सकिन्छ।
बीमालाई प्रभावकारी बनाउन किसान समूह, सहकारी संस्था, बीमा कम्पनी र स्थानीय सरकारबीच सहकार्य गर्न आवश्यक छ। बीमा प्रक्रियालाई सरल र किसानमैत्री बनाउनेतर्फ काम गर्नुपर्छ। स्थानीय स्तरमा बीमा सम्बन्धी समस्याहरूलाई चाँडो समाधान गर्ने व्यवस्थापन प्रणालीको विकास गर्न जरूरी छ।
कृषि बीमा केवल आर्थिक उपकरण मात्र होइन, यो प्रत्येक किसानको लागि सुरक्षाकवच हो। यो हाम्रो राष्ट्रको भविष्यप्रतिको महत्त्वपूर्ण लगानी हो। साथै, यो किसानहरूको अपार योगदानको कदर, उनीहरूको अनवरत सहनशीलता र आत्मविश्वासप्रतिको सम्मान हो। बीमा भनेको किसानको कठोर परिश्रमको सुनिश्चितता हो, उनीहरूको सपनालाई साकार पार्ने रणनीति हो। यो उनीहरूलाई भविष्यमा आत्मविश्वास र सम्मानका साथ जीविकोपार्जन गर्न सहयोग पुर्याउने एउटा मजबुत आधारशिला हो।
(शर्मा गुड नेवर्स इन्टरनेशनल नेपाल र एग्रिकल्चरल टेक्नोलोजी सेन्टरमा कृषि विज्ञको रूपमा कार्यरत छन्। )
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4