 
																			१८ माघ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अस्ट्रेलियामा व्यापार सहजीकरण गर्न प्रतिनिधि चयन गरेको छ ।
चेम्बर सल्लाहकार परिषद् अध्यक्ष राजेशकाजी श्रेष्ठले एनआरएन आईसीसी अनररी काउन्सिल सदस्य एवं व्यवसायी सञ्जीव शर्मालाई ‘चेम्बर अनररी रिप्रेजेन्टेटिभ्स’ प्रमाणपत्र प्रदान गरे ।
अस्ट्रेलियामा आयोजित विशेष कार्यक्रममा सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठले अनररी रिप्रेजेन्टेटिभ्स प्रमाणपत्र सहित आगामी कार्यकालका लागि शुभकामना दिए ।
नेपाल र अस्ट्रेलियाबीच व्यपार प्रवर्द्धन, पर्यटन एवं लगानीबारे सहकार्य गर्न शर्मालाई अनररी रिप्रेजेन्टेटिभ्सका रूपमा चयन गरिएको चेम्बरले विज्ञप्ति मार्फत जनाएको छ ।
अस्ट्रेलियामा नेपालीको बसोबास उल्लेख्य रहेको र व्यापारिक दृष्टिकोणले पनि महत्त्व राख्ने भएकाले व्यापार सहजीकरणका लागि प्रतिनिधि चयन गरिएको सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठले बताए ।
‘नेपालबाट अस्ट्रेलियामा निर्यातको राम्रो सम्भावना देखिएको छ, चालु आर्थिक वर्षमात्र ८४ करोड रुपैयाँ बराबर निर्यात भएको छ, घरेलु तथा हस्तकला सामग्री, कार्पेट, पास्ता लगायत सामग्री निर्यातका लागि अस्ट्रेलिया राम्रो बजार छ,’ उनले भने ।
यस्तै अस्ट्रेलियामा रहेका गैरआवासीय नेपालीलाई स्वदेशमा लगानी भित्र्याउन पनि सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठले आग्रह गरे ।
चेम्बरका अनररी रिप्रेजेन्टेटिभ्स शर्माले नेपालमा लगानी भित्र्याउन एवं व्यापार सहजीकरणका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।
चेम्बरले विभिन्न देशमा व्यापार सहजीकरण एवं निर्यात प्रवर्द्धनका लागि प्रतिनिधि चयन गर्दै आएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4