 
																			२ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बलमा लामो समयदेखि अवरुद्ध प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा प्रक्रिया बल्ल अघि बढेको छ ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकले शुक्रबार बढुवाका लागि मूल्यांकन फारम भरेर ३ दिनभित्र पेश गर्न भन्दै सूचना प्रकाशित गरेको हो ।
बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, ‘… साधारणतर्फ रिक्त सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ९ को उपनियम (१) (क) बमोजिम बढुवा गर्नुपर्ने भएकाले सम्भाव्य उम्मेदावर रहेकाहरूले आवयश्क पर्ने प्रमाण पत्रका प्रतिलपिहरु संलग्न गरी … अनुसूची १३ बमोजिमको मूल्यांकन फारम भरी यो सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र गृह मन्त्रालय बढुवा समितिको सचिवालयमा पेश गर्न हुन बढुवा समितिको मिति २ फागुन २०८१ गतको निर्णयानुसार यो सूचना प्रकाशित गरिएको छ ।’
सशस्त्रमा डीआईजी बढुवाका लागि एसएसपी कृष्ण पाठक, कृष्ण ढकाल, मनिष थापा, विनोद श्रेष्ठ, प्रकाश थापा लगायत दाबेदार छन् । छैठौं नम्बरमा रहेका दीपेन्द्र कुँवरलाई डीआईजी बढुवा गराउन लामो समयसम्म प्रक्रिया अलपत्र पारिएको आरोप छ ।
सशस्त्र प्रहरीमा १६ भदौदेखि दुई जना डीआईजीको दरबन्दी रिक्त थियो । पछि डीआईजीको थप एक दरबन्दी पद रिक्त भएको थियो । तर, राजनीतिक हस्तक्षेपका कारण बढुवा प्रक्रिया अघि बढ्न सकेको थिएन ।
सर्वोच्च अदालतले २०७५ सालमा पद रिक्त रहेको ३ महिनाभित्र पदपूर्ति गरिसक्न सरकारलाई परमादेश दिएको थियो । सशस्त्र प्रहरीमा डीआईजी बढुवा अलपत्र परेको विषयले संसद्मा पनि प्रवेश पाएको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4