४ फागुन, काठमाडौं । पाकिस्तानमा यही फेब्रुअरी १९ देखि नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट सुरू हुँदैछ । ८ वर्षपछि हुन लागेको यस ‘मिनी विश्वकप’ मा ८ टोलीको सहभागिता रहनेछ ।
दुई समूहमा विभाजित टोलीहरूमध्ये समूह ए मा आयोजक पाकिस्तानसँगै भारत, न्युजिल्याण्ड र बंगलादेश छन् । त्यस्तै समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान छन् ।
पछिल्लोपटक सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन बनेको थियो । त्यसअघि सन् २०१३ मा भने भारतले जितेको थियो भने सन् २००९ मा अस्ट्रेलियाले जितेको थियो ।
लामो समयको अन्तरालपछि हुन लागेको च्याम्पियन्स ट्रफीका लागि सबै राष्ट्रले आफ्नो अन्तिम टोली सार्वजनिक गरिसकेका छन् । केही खेलाडीहरू अहिलेसम्म पनि चोटका कारण बाहिरिरहेका छन् ।
यस्तोमा चर्चित टोलीका केही चर्चित खेलाडीहरू पनि यस प्रतियोगितामा देखिने छैनन् । चर्चित खेलाडीहरूको अभावमा कस्तो प्रदर्शन हुन्छ त्यो भने हेर्न बाँकी छ । आज हामी सुरूमा च्याम्पियन्स ट्रफीमा नखेल्ने ५ स्टार बलरहरूका बारेमा कुरा गर्नेछौं ।
मिचेल स्टार्क (अस्ट्रेलिया)
स्टार्क अस्ट्रेलियाको स्टार बलरमध्ये एक हुन् । बाँयाहाते पेसर स्टार्कले हरेक आईसीसी प्रतियोगितामा शानदार प्रदर्शन गर्दै आएका हुन्छन् । उनी व्यक्तिगत कारण देखाउँदै अन्तिम समयमा टोलीबाट बाहिरिएका हुन् ।
अस्ट्रेलियाले पछिल्लो १० वर्षभित्र जितेका चारवटै उपाधि यात्रामा स्टार्क महत्वपूर्ण सदस्य हुन् । सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप तथा २०२१ को टी-२० विश्वकप र २०२१-२३ को टेस्ट च्याम्पियनसिप जित्दा स्टार्कको भूमिका उत्कृष्ट थियो ।
स्टार्क नहुँदा उनको स्थानमा ‘लाइक-फर-लाइक’ परिवर्तनका रूपमा स्पेन्सर जोनसोन छन् । युवा बलर जोनसोन पनि बाँयाहाते बलिङ गर्छन् । उनले घरेलु क्रिकेट र बिग ब्यास लिगमा राम्रो खेल्दै आएका छन् ।
जसप्रित बुमराह (भारत)
बुमराह भारतीय टोलीका प्रमुख पेस बलर हुन् । उनको बलिङमा भारतले जुनसुकै समयमा खेल परिवर्तन गर्ने क्षमता राख्छ । उनी ब्याक इन्जुरीका कारण प्रतियोगितामा देखिने छैनन् ।
गत डिसेम्बर-जनवरीमा भएको अस्ट्रेलियासँगको टेस्ट शृंखलाका दौरान लोअर ब्याकमा समस्या भएपछि उनले शृंखला बीचमै छाडेका थिए । त्यसयता उनी रिकभर नहुँदा प्रतियोगिता नखेल्ने भएका हुन् ।
बुमराहको स्थानमा अन्तिम टोलीमा युवा बलर हर्षित राना आएका छन् । हर्षितलाई अनुभवी सिनियर खेलाडी मोहम्मद शामी तथा अर्का युवा बलर अर्शदीप सिंहको साथ हुनेछ ।
प्याट कमिन्स (अस्ट्रेलिया)
प्याट कमिन्स वर्तमान समयमा टेस्ट र ओडिआई फर्म्याटमा अस्ट्रलियाको कप्तान समेत हुन् । यद्यपी उनी पनि चोटका कारण प्रतियोगितामा देखिने छैनन् । उनको अभावमा कप्तानको जिम्मेवारी पूर्वकप्तान स्टिभ स्मिथलाई दिइएको छ ।
कमिन्सले अस्ट्रेलियालाई सन् २०२३ को एकदिवसीय विश्वकप जिताएका थिए । त्यस्तै टेस्ट च्याम्पियनसिप पनि आफ्नो कप्तानीमा जिताएका उनी सन् २०२१ को टी-२० विश्वकपमा पनि थिए ।
कमिन्स नहुँदा अस्ट्रेलियाको मिडल ओभरमा पेस बलिङ आक्रमण कमजोर बनेको छ । त्यस कमजोरीलाई युवा बलरहरूले अवसरको रूपमा लिनुपर्नेछ । कमिन्सको स्थानमा दाँयाहाते पेसरमा नेथन एलिस र शन एबट हुनेछन् ।
जोश हेजलवूड (अस्ट्रेलिया)
जोश हेजलवूड पनि चोटका कारण च्याम्पियन्स ट्रफी २०२५ मा देखिने छैनन् । हेजलवूड पनि स्टार्कजस्तै पछिल्ला १० वर्षमा अस्ट्रेलियाले जितेका चारवटै उपाधिका महत्वपूर्ण हिस्सा थिए ।
उनीसँगै कमिन्स र स्टार्क नहुँदा बिल्कुलै नयाँ बलिङ लाइनअपमा अस्ट्रेलिया देखिनेछ । अस्ट्रेलियासँग नेथन एलिस र शन एबट अर्का दुईपेसर छन् भने बेन ड्वारसुइस र स्पेन्सर जोनसोन बाँयाहाते पेसरका रूपमाा हुनेछन् ।
एनरिच नोर्त्जे (दक्षिण अफ्रिका)
दक्षिण अफ्रिकी बलर नोर्त्जे विश्वकै उच्च गतिको पेस भएका बलरमध्ये एक हुन् । सन् २०२१ र २०२४ को टी२० विश्वकप तथा सन् २०२३ को एददिवसीय विश्वकप खेलेका उनले यसपटक च्याम्पियन्स ट्रफी भने मिस गर्ने छन् ।
कगिसो रबाडासँगै पेस बलिङको आक्रमण सम्हाल्ने गरेका नोर्त्जेको स्थानमा कोर्बिन बोस्च टिममा आएका थिए । लुंगी एंगिडी पनि अर्का पेसरका रूपमा छन् ।
अब अलराउण्डर मार्को यान्सेनले तीन पेसरसँग मिलेर बलिङ आक्रमण सम्हाल्ने छन् भने बलिङ अलराउण्ड बोस्चलाई पनि मौका हुन सक्छ ।
टिमलाई कस्तो असर ?
स्टार खेलाडीको अभावले सबैभन्दा बढी अस्ट्रेलियालाई चुनौती देखिएको छ । सन् २०१५ देखि पहिलोपटक अस्ट्रेलियाको टोलीमा मिचेल स्टार्क, जोश हेजलवूड र प्याट कमिन्स तीनैजना हुने छैनन् ।
यी बलरहरूको स्थानमा युवा बलरहरू स्पेन्सर जोनसन, नेथन एलिस तथा बेन ड्वारसुइस र शन एबट टोलीमा छन् । अस्ट्रेलियाका लागि यो पेस बलिङ लाइनअप पूरै नयाँ हुनेछन् ।
बलिङमा नयाँ लाइनअप देखिँदा ब्याटिङतर्फ भने अस्ट्रेलियासँग स्टार खेलाडीहरूको बाहुल्यता छ । कप्तान स्टिभ स्मिथसँगै ट्राभिस हेड, ग्लेन म्याक्सवेल र मार्न लबुशान टिममा रहेका छन् ।
त्यस्तै भारतीय टोलीमा पनि जसप्रित बुमराह नहुँदा केही असर भने पर्नेछ । आवश्यक परेका बेला विकेट निकालेर विपक्षीलाई दबाबमा राख्ने क्षमता बुमराहसँग हुने गर्छ ।
उनको अनुपस्थितिमा दुई युवा बलरद्वय अर्शदीप सिंह र हर्षित रानाले उक्त जिम्मेवारी लिनुपर्ने छ भने उनीहरूलाई अनुभवी मोहम्मद शामीको साथ हुनेछ ।
एनरिच नोर्त्जेको अभावमा दक्षिण अफ्रिकी टोलीको पेस बलिङ अट्याक केही कमजोर देखिएपनि कगिसो रबाडा र लुंगी एंगिडीलाई बलिङ अलराउण्डरद्वय मार्को यान्सेन र कोर्बिन बोस्चले राम्रो साथ दिएमा नोर्त्जेको कमी पूरा हुन सक्छ ।
अन्य चर्चित खेलाडीहरू
च्याम्पियन्स ट्रफीको प्रारम्भिक टोलीमा परिसकेपछि अप्रत्याशित रूपमा सन्यासको घोषणा गरेका मार्कस स्टोइनिस च्याम्पियन्स ट्रफीमा नदेखिने चर्चित अनुहारमध्ये एक हो ।
त्यस्तै न्युजिल्याण्डका स्टार अलराउण्डर जिमी नीशम पनि च्याम्पियन्स ट्रफीका लागि टोलीमा परेनन् । बंगलादेशका अलराउण्डर शाकिब अल हसन र ब्याटर लिटन दास पनि प्रतियोगिताका लागि छानिएनन् ।
शाकिबको बलिङ एक्सन शंकास्पद भएपछि अन्तर्राष्ट्रिय खेलमा बलिङ गर्न उनलाई प्रतिबन्ध लगाइएको थियो । त्यसकारण उनी बंगलादेशको टोलीमा छानिएनन् । उनी एकदिवसीय करियरको अन्त्यतिर पनि छन् । लिटन भने पछिल्लो समयको फर्मका कारण टोलीमा परेनन् ।
अफगानिस्तानका युवा स्पीनर मुजीब उर रहमान र अलाह गजनफर पनि च्याम्पियन्स ट्रफीमा देखिने छैनन् । दुवैजना चोटका कारण प्रतियोगिता खेल्ने छैनन् ।
त्यस्तै भारतका सुर्यकुमार यादव पनि च्याम्पियन्स ट्रफीको टोलीमा परेनन् । उनी ओडिआईमा राम्रो लयमा नभएकाले टोलीमा परेनन् । यो कुरा उनी आफैंले पनि स्वीकारेका छन् ।
प्रतिक्रिया 4