 
																			१० फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ३५ वर्षयता पार्टीको महाधिवेशन नियमित समयमा हुन नसकेको भन्दै यसपटक पनि पछाडि धकेलिन सम्भावना व्यक्त गरेका छन् ।
कांग्रेस धनुषाले पार्टी कार्यालयमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीको महाधिवेशन पार्टीको विधान र नेपालको संविधानमा भएको प्रावधानअनुसार सबैलाई मिलाएर गरिने बताए ।
‘बहुदलीय व्यवस्था पुनर्स्थापन भएदेखि नै चार वर्षमा कहिल्यै महाधिवेशन भएकै छैन,’ उनले भने, ‘पार्टीको विधान, देशको संविधानको प्रावधानअनुसार सबैलाई मिलाएर महाधिवेशन हुने हो ।’
कांग्रेसमा प्रत्येक चार वर्षमा नियमित महाधिवेशन हुने विधानको व्यवस्था छ । विशेष परिस्थिति निर्माण भए एक वर्ष थप्न सकिने व्यवस्था छ । यस्तै संविधानमा प्रत्येक राजनीतिक पार्टीले पाँच वर्षभित्र महाधिवेशन गरिसक्नु पर्ने र विशेष कारण उत्पन्न भए ६ महिना थप्न सक्ने व्यवस्था छ ।
कांग्रेसको १५औं महाधिवेशन नियमित समयमा गर्दा २०८२ मा सम्पन्न हुनु पर्ने भए पनि कतिपय नेताले विधान र संविधानको व्यवस्था देखाएर पछि सार्न सक्ने बताउँदै आएका छन् ।
कार्यक्रममा नेता सिंहले कांग्रेसमा आन्तरिक व्यवस्थापन हुन नसक्दा बलियो भएर पनि पार्टी कमजोरजस्तो देखिएको टिप्पणी गरे । ‘कांग्रेस बलियो छ । तर, आन्तरिक व्यवस्थापन गर्न नसक्दा हामी कमजोर भईरहेका छौं,’ उनले भने ।
सिंहले पार्टीत्रि विभिन्न गुटहरू क्रियाशील रहेकोमा चिन्ता व्यक्त गर्दै पार्टीभित्रको विभाजित मानसिकताको अन्त्य हुनुपर्ने धारणा राखे । कार्यक्रममा कांग्रेस प्रचार प्रसार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, आनन्दप्रसाद ढुंगाना, गुरु बराल पनि सहभागी थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4