 
																			१८ फागुन, काठमाडौं। जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भएको छ ।
आइतबार राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री रमेश लेखकले रुकुम र जाजरकोट जिल्लामा जिल्ला विपद् व्यवस्थापन समितिबाट सिफारिस भएर आएका भूकम्प प्रभावितका लागि प्रथम र दोस्रो किस्ताको रकम पठाइसकिएको बताएका हुन् ।
२०८१ माघ महिनामा मात्रै भूकम्प प्रभावितहरूका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ८० करोड निकासा भएको उनले जानकारी दिए ।
जाजरकोट भूकम्पको विस्तृत क्षति आँकलनको कार्य फागुन महिनाबाट सुरु भैसकेको पनि उनले बताए । फिल्डमा खटिने प्राविधिकहरुको तालिम सम्पन्न भैसकेको बताए ।
पश्चिम नेपाल भूकम्पको पुनर्निर्माणका लागि सहयोग पुर्याउन बझाङ, अछाम र जाजरकोटमा फिल्ड अफिस खोल्नका लागि अस्थायी दरवन्दी सिर्जना गरी फागुन महिनाभित्रै फिल्ड अफिस खोलिने उनले प्रतिवद्धता जनाए ।
२०८० साल कार्तिक १७ गते राती जाजरकोट केन्द्र बिन्दु भएर गएको भुकम्पबाट ठुलो जनधनको क्षती भएको थियो ।
२०७९ कार्तिक २३ गते डोटी, २०८० असोज १६ गते बझाङमा पनि भूकम्प गएको थियो । डोटी भूकम्पको लाभग्राहीसँग सम्झौता सुरु भैसकेको गृहमन्त्री लेखकले बताए । उनका अनुसार करिब ५८३ परिवारसँग सम्झौता सम्पन्न भैसकेको छ । सम्झौताको आधारमा रकम निकासाको प्रकृया अगाडी बढेको छ ।
यसबीचमा राहत र पुनस्र्थापनाका कार्यहरु भएका भएपनि जुन गतिमा हुनुपर्ने थियो त्यो हुन नसकेको यथार्थ भएको गृहमन्त्री लेखकले बताए ।
‘म गृह मन्त्रीको रुपमा आईसकेपछि यो प्रक्रियालाई अगाडि बढाउने कार्य प्राथमिकतामा राखी कार्य गरिरहेको छु’ उनले भने ।
अस्थायी आवास सम्बन्धी कार्यविधिमा परिवार संख्याका हकमा आवासको क्षतीको हकमा परिवार संख्यालाई आधार नलिई विपद्का वखत एउटै आवासमा बसोबास गरिआएका जतिसुकै परिवार संख्या भएपनि ती सबैलाई एउटै परिवार मानी एउटा अस्थायी आवास लाभग्राही कायम गराउने व्यवस्था गरिएको उनले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4