९ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माणको काम चलिरहँदा यो नेपाली क्रिकेटको लामो समयदेखिको सपना पूरा हुने क्रममा रहेको बताएका छन् ।
पारसले त्रिवि क्रिकेट मैदानमा भइरहेको कामको अवलोकन गरेपछि सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् । ‘नेपाल क्रिकेटको एउटा लामो समयदेखिको सपना अहिले आकार लिँदैछ, जसले सम्पूर्ण नेपाली क्रिकेट समुदायलाई असीम आनन्द, गर्व र नयाँ आशा प्रदान गरेको छ’ उनले लेखेका छन्, ‘विशेषगरी त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको द्रुत विकास र फ्लडलाईट जडान गर्ने नेपाल सरकारको अनुकरणीय पहलका लागि हामी हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छौं।’
यो महत्वपूर्ण पूर्वाधारले नेपालमा क्रिकेट र समग्र खेलकुदलाई मात्र नभई देशको आर्थिक वृद्धि र विकासमा योगदान पुर्याउने एउटा कोशेढुङ्गा सावित हुने उनले विश्वास लिएका छन्।
‘नेपाल क्रिकेटलाई यो स्थानसम्म पुर्याउन अहोरात्र मेहनत गर्ने सम्पूर्ण खेलाडी, पदाधिकारी, समर्थक, साझेदार तथा सम्बन्धित सबैलाई क्यान हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छ’ उनले अगाडि लेखेका छन् ।
पारसले छिट्टै आफ्नै घरेलु मैदानमा विश्व क्रिकेटका ठूला नामहरूलाई आतिथ्य गर्ने क्रममा रहेको र अनन्त सम्भावनाहरूका साथ उत्साहित रहेको उल्लेख गर्दै सपनाहरूलाई यथार्थमा बदलिरहेको बताए ।
गएको फागुन २० देखि त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माणको काम सुरु गरिएको हो । आगामी वैशाख अन्तिम सातासम्म काम सक्ने गरी काम भइरहेको छ । त्यसका लागि आवश्यकता अनुसार सिफ्टहरू पनि बनाइएको छ ।
प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाखको बोलपत्र स्वीकृत भएको छ । प्यारापिट निर्माणको ठेक्का काठमाडौंको टङ्गालमा रहेको BKOI-KCDC-BG जेभीले पाएको छ ।
त्यस्तै फ्लडलाइट जडानको ठेक्का ललितपुरको गुसिंगलस्थित विशाण-ईश्वरी जोइन्ट भेन्चरले पाएको हो । फ्लडलाइटको काम भने सुरु हुन बाँकी छ ।
 
                    










 २०८१ चैत  ९ गते १७:४२
                        २०८१ चैत  ९ गते १७:४२                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4