 
																			१३ चैत, बुटवल । अर्घाखाँचीमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु भएका चारमध्ये तीन जनाको सनाखत भएको छ ।
सुपा देउराली मन्दिर दर्शन गरेर फर्किने क्रममा भएको दुर्घटनामा परी रुपन्देहीको बुटवल उपमहाननगरपालिका–८ बस्ने ५५ वर्षीया जमुना बस्याल, पश्चिम नवलपरासीको भुमही बस्ने ४५ वर्षीया उमा न्यौपाने, निजकी ६५ वर्षीया सासु (नामथर नखुलेकी) र पश्चिम बर्दघाट बस्ने ४५ वर्षीय बस चालक मदनकुमार विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बस चालक विकको उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ भने अन्यको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ ।
गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डमा रहेको सुपा देउराली मन्दिर दर्शन गरी नवलपरासी फर्कदै गरेको लु २ ख ३०३ नं को बस ओरालो सडकमा अचानक अनियन्त्रित भई शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4