 
																			२२ चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रायः अर्को देशका नेताहरूलाई एक्लै भेट्दैनन्, तर नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे । त्यस अर्थमा न्युयोर्कको सेप्टेम्बर भेटभन्दा बैंककको अप्रिल भेट नेपाल–भारत सम्बन्ध सकारात्मक मोडमा लैजान बढ्ता कामयाब देखियो ।
मोदीले आफू बसेको ओरियन्टल होटलमा प्रधानमन्त्री केपी ओलीलाई भेट्नुअघि म्यानमारका सैनिक जनरल मिन आङ हाइलियाङलाई भेटेका थिए, समूहमा । ओली भेटिसकेपछि बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसलाई भेटेका थिए, समूहमै ।
मोदीले आफूसँग उतारचढावपूर्ण सम्बन्धमा रहेका नेपालका प्रधानमन्त्री ओलीसँग भने एक्लै भेट्ने तय गरे ।
ओलीमात्रै नभई विगतका अरु नेपाली प्रधानमन्त्रीले भारत वा चीनका कार्यकारीसँग भेट्दा एक्लै भेट्न इच्छाएका अनुभव प्रशस्तै छन् । तर अर्को पक्षले भने कोही न कोही साथमा राखेकै देखिन्थ्यो ।
यसपल्ट भने बैंककमा पछिल्ला केही मिनेट एक नोट–टेकरलाई प्रवेश दिलाएको दृष्टान्त छाड्ने हो भने मोदीले कुनै पनि उच्च अधिकारी सामेल गराएनन् । जबकि विदेशमन्त्री एस जयशंकर उनकै आसपास थिए, अनि नेपाल–भारत सम्बन्ध सुधारमा मेहनत गरिरहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा ओरियन्टलको हातामा नहुने कुरै थिएन ।
ओली–मोदी भेटपछि प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले टिप्पणी गरे, ‘दुई प्रधानमन्त्रीमात्रको उपस्थितिमा एक्लाएक्लै भएको भेटलाई प्रधानमन्त्री ओलीले आत्मीय क्षण बताउँदै खुसी व्यक्त गर्नुभएको छ ।’
कूटनीतिक मामिला जानकार तथा सुरक्षा विज्ञ इन्द्र अधिकारीको भनाइमा भारतीय प्रधानमन्त्रीले अर्को देशका प्रमुखलाई विरलै एक्लै भेट्ने प्रचलन तोड्दै मोदीले ओलीलाई भेटेका हुन् । ‘नेपाललाई सुन्नुपर्छ भनेर मोदीले ठानेको देखियो, त्यसैले एक्लै भेट्ने तय गरेको हुनुपर्छ,’ अधिकारीले भनिन्, ‘यो परम्परा तोड्ने प्रयास, साथै विशेष क्षण पनि हो ।’
उनले बैंककमा दुई प्रधानमन्त्रीको कुराकानीलाई प्रशस्त मेहनतपछिको भेटघाट भनी टिप्पणी गरिन् ।
यसअघि न्युयोर्कको लोट्टे प्यालेसमा सेप्टेम्बरमा ओलीसँग भेट्दा मोदीले आफ्ना विदेशमन्त्री जयशंकरसहित उच्च अधिकारीको लाइन नै लगाएका थिए । ओलीले पनि परराष्ट्रमन्त्री आरजु राणा देउवासहितको टिम नै राखेका थिए ।
जुलाईमा प्रधानमन्त्री बनेका ओलीसँग राष्ट्रसंघ महासभा क्रममा साइडलाइन भेट्दा मोदीले गर्ने व्यवहार कस्तो होला भनी राख्ने गरिएको आम जिज्ञासाबीचमा त्यो सामान्य भेट भएको थियो, जसले कुनै अर्थपूर्ण नतिजा दिन सकेन । संसदबाट सर्वसम्मतिले चुच्चे नक्सा जारी अनि त्यसअघि नाकाबन्दीकालमा लिएको अडानका कारण ओली भारतीय संस्थापन वृत्तमा अप्रिय पात्र मानिएका थिए । कांग्रेससँग मिलेर सरकार बनाइसक्दा पनि ओलीले भारतलाई आफ्नो विश्वासमा लिन सकेको देखिँदैनथ्यो ।
त्यसैले ओलीले मोदीलाई नेपाल आउन दिएको निम्तोमा मोदी सकारात्मक त भएथे, कुनै निर्णय दिएका थिएनन् । अनि मोदीले त ओलीलाई दिल्ली बोलाउँदै बोलाएनन् । आजसम्म पनि ओलीले भारतको निम्तो पाइसकेका छैनन् जबकि उनी यसअघि बेइजिङ गएर फर्किसके ।
अनि नेपालमा हुन थालेका राजावादी र हिन्दूवादी प्रदर्शनमा भारतीय हात हुन सक्ने भनी ओलीले ४ चैतको एमाले बैठकमा गरेको टिप्पणीलाई भारतीय मिडियाले प्रशस्तै उछालेका थिए । यस्तैमा बिम्स्टेक बैठकको छेको पारेर सोमबार अपराह्न उनीहरूबीच साइडलाइन तय भएको थियो । ओली बैंकक उड्ने बेलासम्म पनि मोदीसँग भेटको कुनै टुंगो लागेको थिएन ।
तर यसपल्टको मोदी–भेटलाई लिएर प्रधानमन्त्री ओली उत्साहित देखिएको बैंककस्थित उच्च स्रोतले बतायो ।

‘मोदीलाई भेटिसकेपछि प्रधानमन्त्रीज्यू नेपाली दूतावास जानुभयो, उहाँमा प्रफुल्ल भाव देख्न पायौं,’ ती उच्च अधिकारीले भने, ‘भेटले आइसब्रेक पायो कि भन्ने महसुस हुन्छ । बाँकी भरेभोलिसम्म बुझ्न पाइएला ।’
भेटपछि ओली र मोदी दुवैले जारी गरेको वक्तव्य, अनि भारतीय विदेश मन्त्रालयको नोट पढ्दा त्यो सकारात्मक भाव बुझ्न सकिन्छ ।
भारतीय प्रधानमन्त्री मोदीले एक्समा लेख्दै ओलीसँगको भेटलाइ फलदायी र मैत्री सम्बन्धका पक्षहरूमा छलफल गर्न सफल भनेका छन् ।
‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ,’ मोदीले लेखेका छन्, ‘हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्यौं । हामीले यस वर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं ।’
भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा गरेका छन् । मोदीले काठमाडौं आउन सक्दो कोसिस गर्ने भन्दै निम्ताका लागि ओलीलाई धन्यवाद दिएका छन् ।
सगरमाथा संवादका विशिष्ट अतिथिका रुपमा निमन्त्रणा गरिएको हुनाले मोदीले त्यसलाई सकार्ने सम्भावना रहेको नेपाली पक्षले बताएको छ ।
साइडलाइन भेटको मूख्य उद्देश्य नेपाल र भारतबीच आपसी विश्वास र सद्भाव नै जागृत गराउनु थियो, यद्यपि भारतीय पक्षले उर्जा, कनेक्टिभिटी र पूर्वाधारमा आफ्नो यसअघिदेखिकै प्राथमिकतालाई दोहोर्याएको देखिन्छ । प्रधानमन्त्री ओलीले त्यसलाई शब्दमा प्रष्ट उल्लेख नगरे पनि दुईदेशीय सम्बन्धका विभिन्न आयामबारे जोड दिएका छन् ।

‘मेरा प्रिय मित्र, भारतका प्रधानमन्त्री मोदीजी सँग आज बैंककमा आत्मीय र सौहार्दपूर्ण संवाद भयो। हाम्रो संवाद अत्यन्त सार्थक रह्यो,’ ओलीले फेसबुकमा लेखेका छन्, ‘हामीले नेपाल भारत सम्बन्धका विभिन्न पक्षमा छलफल र्गयौं । विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुनेछ ।’
भारतका लागि पूर्वराजदूत प्राध्यापक लोकराज बरालले विगतमा दुई देशबीच कतिपय विषयमा मनोमालिन्य देखिएको पृष्ठभूमिमा भएको अर्थपूर्ण र सकारात्मक संवाद भनी अर्थ्याएका छन् । उनले कुन कुन विषयमा के निष्कर्ष निस्कियो भनेर भ्रमणको विश्लेषण गर्नु उचित नहुने भन्दै अहिलेलाई दुई सरकार प्रमुख बीच विश्वास जागृत हुनु नै उपलब्धी भनी टिप्पणी गरे ।
‘बैंककमा दुई प्रधानमन्त्रीको संवादपछि नेपाल र भारतबीचको सम्बन्ध एक कदम अगाडि गयो भन्न सकिन्छ, उर्जा, कनेक्टिभिटी लगायत एजेन्डामा पक्कै कुरा भएको छ,’ बरालले भने, ‘तर भेट हुनु र आपसी विश्वास जगाउन दुवै पक्षबाट मेहनत गरेको देखिनु नै सकारात्मक विषय हो ।’

भारतीय सेनाका पूर्वजनरल अशोक मेहता बैंककमा भएको ओली–मोदी भेटलाई प्रतीक्षा गरिएको सुखद छलफल भनी अर्थ्याउँछन् । पछिल्लोपल्ट बंगलादेश र नेपाल दुवै भारतसँग चिसो सम्बन्धमा रहेका बेला बैंककको माहोलले त्यसलाई थप चिस्याउन भूमिका खेल्छ कि सुधारमा लैजान्छ भन्ने जिज्ञासाबीच मोदीले तत्परता देखाएको उनले बताए ।
‘सुरुमा त ओली र युनुसको भेट मोदीसँग हुन सक्छ कि सक्दैन भन्ने नै दुविधा थियो, किनभने नेपालमा राजावादी माहोलमा भारतले भूमिका पो गरिरहेको छ कि भन्ने ओलीकै आशंका समेत थियो भनेर भारतीय मिडियामा आयो,’ मेहताले भने, ‘तर यो सबै कुरा बिर्सेर उहाँहरूको भेट भयो । भारतका लागि नेपाल की प्रायोरिटी पार्टनर (प्राथमिक साझेदार) मुलुक नै हो । त्यसलाई मोदीले यादमा राख्नुभयो ।’
सगरमाथा संवादका लागि ओलीले दिएको निम्तामा सकारात्मक सुनिएका मोदी काठमाडौं आउन सक्ने ठान्छन् मेहता । तर उनीहरूबीच सम्बन्धमा निर्णायक सुधारको परीक्षण भने सगरमाथा संवादमा नभई ओलीको दिल्ली भ्रमणमा हुने उनको ठम्याइ छ ।
‘सगरमाथा संवादमा मोदी काठमाडौं जानुहुन्छ कि जानुहुन्न भन्ने कुरा उति ठूलो होइन, बरु ओली दिल्ली आउनुहुन्छ कि हुन्न भन्ने कुरा ठूलो हो,’ पूर्वजनरल मेहता भन्छन्, ‘सबै कुरा अहिले सकारात्मक छ भन्ने विश्वास गरौं । तर लिटमस टेस्ट चाहिँ दिल्लीमा हुन्छ, काठमाडौंमा होइन । हेरौं न, समय अझै निकै बाँकी छ ।’
 
                









 
             
                             
                        
                     
                             
                     
                                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4