 
																			२५ चैत, काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीका लागि काठमाडौंमा जारी आन्दोलनको समय छोट्याएको छ ।
काठमाडौंमा बढ्दै गएको प्रदूषणको अवस्थालाई मध्यनजर गर्दै चैत ३० गतेसम्मका लागि तय भएको आन्दोलनका कार्यक्रम २८ गते नै सक्नेगरी समापन गरिएको हो ।
पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सोमबार वक्तव्य जारी गर्दै काठमाडौंमा अत्यधिक प्रदूषण बढेका कारण जनताको स्वास्थ्यमा नकारात्मक असर पर्ने सम्भावनाका कारण २ दिन कार्यक्रम छोट्याइएको उल्लेख गरेका छन् ।
‘बढ्दो प्रदूषणकाबीछ सप्ताहव्यापी आन्दोलनलाई सञ्चालन गर्दा कैयौँ स्वास्थ्यसँग सम्बन्धित जटिलता उत्पन्न हुने खतरा देखिएको कुरा मध्यनजर गर्दै आजै बसेको बैठकले आन्दोलनको अवधि २ दिन घटाई ५ दिन मात्र कायम राख्ने निर्णय गरेका छौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।
जनमोर्चाले संघीयताविरुद्ध काठमाडौंमा सुरु गरेको साताव्यापी आन्दोलन अन्तर्गत सोमबार जुलुश प्रदर्शन तथा सभा गरेको छ।
जनमोर्चाले बसुन्धराबाट र कपनस्थित पार्टीको केन्द्रीय कार्यालय रहेको क्षेत्रबाट जुलुश निकालेको थियो । संघीयताविरुद्ध नाराबाजी गर्दै जनमोर्चाको जुलुश चाबहिल चोकमा सभामा परिणत भएको थियो ।
जुलुशमा सहभागीहरूले ‘संघीयता खारेज गर, संघीयता धोका हो षडयन्त्रको पोका हो, विकास गर्ने मन भए एउटै सरकार काफी छ, हिमाल पहाड तराई कोही छैन पराई, बढ्दो महंगी नियन्त्रण गर, भ्रष्टाचारको अन्त्य गरौँ, राष्ट्रियताको रक्षा गरौँ, प्रतिगमन खबरदार’ लगायतका नारा लगाएका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4