 
																			२६ चैत, पोखरा । पोखरा–४ मालेपाटन बस्ने ६० वर्षीय रघु पौडेलले अहिलेजस्तो प्रदूषणले डम्मै डाकिएको यसअघि कहिल्यै देखेका थिएनन् । यसअघि पनि प्रदूषित हावाले पोखरा शहर प्रभावित बनेको थियो । तर, पौडेल पर्वत भएकाले त्यतिबेलाको प्रदूषण महसुस गर्न परेन ।
यसपटक भने पोखरामा उनले पहिलो पटक भने प्रदूषित हावाले निसास्सिएको महसुस गरे । सधैं मर्निङ वाकमा निस्कने पौडेललाई सोमबार र मंगलबार भने आँखा पोल्ने बनाइदियो ।
केही दिनदेखि लागिरहेको रुघाखोकी झनै बढ्यो र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि अस्पताल पुगे । चिकित्सकले निको नभइ बाहिर ननिस्कन भनेको छ भने सुधार भएपछि पनि मास्क लगाएरमात्र निस्कन भनेको छ ।
पोखरामा अहिले ह्वात्तै बढेको वायू प्रदूषणले पौडेलजस्तै अन्यलाई पनि प्रभावित बनाएको छ । प्रदूषित हावा र तुँवालोले नजिकैका डाँडाहरूसमेत देखिएका छैनन् भने शहर नै डम्मै ढाकिएको छ ।
पोखरा–१५ का ५५ वर्षीय जुद्धबहादुर गुरुङ भन्छन्, ‘वल्लो घरबाट पल्लो घर नदेखिने भइसक्यो । पृथ्वीराजमार्ग निर्माणाधीन भएकाले उस्तै धुलो उडिरहेको छ । ठाउँठाउँमा डढेलो लागेको छ । बाहिरै नस्किन नसक्ने गरी पोखरा बिग्रिएको देखियो ।’
प्रदूषित हावाले शहर ढाकिँदै यहाँबाट देखिने हिमशृंखला पनि छेकिएका छन् भने यहाँका तालहरू पनि एक छेउबाट अर्को छेउ देखिने अवस्था छैन । प्रदूषणले पोखरा घुम्न आउने पर्यटक पनि खिन्न बनेको ट्रकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल पोखराका अध्यक्ष कृष्ण आचार्यले बताए ।
‘पोखरमा पर्यटक नै रमाएका छैनन् । बाहिर निस्किएर पनि धुलोधुँवाले पोखरा ढाकिँदा दृश्यावलोकनसमेत गर्न नपाउँदा खिन्न देखिन्छन्,’ आचार्यले भने, ‘वातावरण नै यस्तो बन्यो कि यहाँको मजा नै लिन सकिएन भन्छन् । ट्रेकिङमा निस्कन, सिटी टूर गर्न पनि उत्साही छैनन् ।’
पोखरा आसपासका लभ्ली हिल, काहुँडाँडा, रानीवन, निर्मलपोखरी लगायतका डाँडाहरुसमेत तुँवालोले छेकेको छ ।

पोखराको आकास पनि प्रदूषणले ढाकिँदा आँखा पोल्ने, टाउको दुख्ने श्वासप्रश्वास, रुघाखोकी र छालाका विरामी बढिरहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिए ।
‘प्रदूषणले छालाका बिरामी बढेका छन् । फोक्सो र रुघाखोकी, ज्वरोका बिरामी अस्पतालमा बढिरहेका छन्,’ डा. खत्रीले भने, ‘अहिलेको वातावरणमा बाहिर निस्कनै हानिकारक देखिएको छ । त्यसबाट बच्न कोभिडकालमा जस्तै मास्क लगाएर हिँड्न सचेत गराउनुपर्ने देखिएको छ ।’
अहिले पोखरा महानगर र कास्की जिल्लाका विभिन्न स्थानहरूमा डढेलो तथा धुनी बालेको कारणले वायु प्रदूषण बढिरहेको मेयर धनराज आचार्य बताउँछन् ।
‘चैत्र महिनामा मात्रै ५४ वटा आगलागीका घटना भएको छ । जसले जनजीवनमा प्रतिकूल असर पारिरहेको छ । यस्तो परिस्थितिमा हामी सबै सचेत बनौं, जथाभावी आगो लगाउने कार्यलाई निरुत्साहित गरौं, र आगो नियन्त्रण गर्न आ–आफ्नो स्थानबाट पहल गरौं,’ मेयर धनराज आचार्य भन्छन्, ‘महानगरपालिकाले तीनवटा दमकल २४ सै घण्टा स्ट्यान्डबाइ राखेको छ । यदि तपाईंलाई कतै डढेलो लागेको जानकारी भएमा तुरुन्तै १०१ मा वा नजिकैको प्रहरी कार्यालयमा खबर गर्नुहोस् ।’
साथै, डढेलो नियन्त्रणका लागि तालिम लिएका स्वयंसेवकहरूलाई पनि सक्रिय सहभागिताका लागि उनले अनुरोध गरेका छन् ।

वायु प्रदूषण न्यूनीकरणमा वातावरण मन्त्रालय, सरोकारवाला निकाय, स्थानीय सरकार, यातायात व्यवसायी लगायत सामाजिक संघसंस्थाहरूलाई गम्भीर बन्न नागरिक समाजका अगुवा रामबहादुर पौडेलले आग्रह गरे ।
‘वायू प्रदुषणको उच्च जोखिमलाई मध्यनजर गर्दै फोहरमैलाको उचित व्यवस्थापन, धुवाँ ओकल्ने सवारीसाधनलाई मर्मतसम्भार नगरेसम्म रोक्का, टोलटोलमा गरिने डढेलो र खोरियामा आगो जलाउने गतिविधिमाथि प्रतिबन्ध लगाउने तथा वनजंगलमा सलाई र लाइटर लैजान कडाइ गर्ने हो भने तत्कालका लागि वायु प्रदुषण न्यूनीकरणमा केही राहत मिल्ने थियोे,’ पौडेलको सुझाव छ ।
ठप्प पोखरा विमानस्थल भने खुल्यो
वायू प्रदूषणले ढाकिँदा आइतबारदेखि ठप्प पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भने खुल्न थालेको छ । आइतबार, सोमबार र मंगलबार बिहानसमेत उडान हुन नसकेको विमानस्थल अब भने खुलेर उडान सुरु हुन थालेको हो ।
आकाश नखुलेकै कारण आजै चीनको छेन्दुबाट पोखरा आउने भनिएको उडानसमेत रद्द भएको थियो । मंगलबार रद्द भएको उडान बुधबार हुने पोखराका मेयर धनराज आचार्यले जानकारी दिए ।
खराब मौसमका कारण पोखरा आउने र जाने कुनै पनि उडान हुन नसकेकोमा आकाश खुलेसँगै उडानको तयारी भएको पोखरा विमानस्थलकी सूचना अधिकारी यशोदा रेग्मीले जानकारी दिइन् ।
‘प्रदूषणले भिजिबिलिटी नपुग्दा उडान ठप्प थियो । अब भने आकाश खुल्न थालेको छ र काठमाडौं–पोखरा उडान हुन थालेका छन्,’ सूचना अधिकारी रेग्मीले भनिन् ।
पोखरामा ह्वात्तै प्रदूषण बनेपछि जनजीवनसमेत प्रभावित बनेको थियो । विमान उडान–अवतरणका लागि कम्तीमा २७ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने रेग्मीको भनाइ छ ।
अहिले आइक्वूएयरका अनुसार पोखराको वायु गुणस्तर सूचकांक १५५ देखिएको छ भने काठमाडौंको २ सयसम्म छ । मौसम परिवर्तन हुँदै तापक्रमसमेत बढिरहेको छ भने अर्कोतर्फ प्रदूषण पनि बढ्दा जनजीवनलाई प्रभावित पारेको डा.बुद्धिबहादुर थापाको भनाइ छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4