२६ चैत, काठमाडौं। अमादोउ डिओपले अन्तिम समयमा गरेको एक मात्र गोलमा काठमाडौं रेजर्सले दश खेलाडीमा समेटिएको बुटवल लुम्बिनीलाई १-० ले पराजित गर्दै नेपाल सुपर लिग (एनएसएल) २०२५ मा पहिलो जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार भएको खेलमा काठमाडौंका लागि डिओपले ८९औं मिनेटमा निर्णयाक गोल गरे ।
यसअघि दुई बराबरी र एक खेलमा पराजित भएको पहिलो संस्करणको च्याम्पियन काठमाडौं पहिलो जितपछि तेस्रो स्थानमा उक्लेको छ । काठमाडौंको चार खेलबाट ५ अंक भएको छ ।
७१औं मिनेटमा बुटवलका डिफेण्डर सुमन श्रेष्ठले रातो कार्ड पाएपछि दश खेलाडीमा झरेको थियो ।
काठमाडौंले खेलमा गोल गर्ने आधा दर्जन बढी अवसर बनाएपनि बुटवलका गोलकिपर दीप कार्कीले सानदार प्रदर्शन गर्न अग्रता लिन अन्तिम समयसम्म कुर्नुपरेको थियो ।
जारी लिगमा तेस्रो हार व्यहोरेको बुटवल लुम्बिनीको भने शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ । चार खेलबाट १ अंकसहित बुटवल अन्तिममा छ ।
प्रतिक्रिया 4