 
																			७ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निरंकुशता र तानाशाहीको पक्षमा गरिने गतिविधि आन्दोलन नभएर अपराध रहेको टिप्पणी गरेका छन् ।
विराटनगरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले शनिबार शीर्ष नेताको बैठकमा आफूले आन्दोलनको स्पष्ट परिभाषा गर्नुपर्ने प्रस्ताव राखेको बताए ।
‘तीन दलको बैठकमा मैले भनेको थिएँ– आन्दोलन भन्नाले के बुझिने? विद्रोह के हो? के हो र के होइन भन्नेमा स्पष्ट परिभाषा आवश्यक छ। एउटा साझा व्याख्या आवश्यक छ,’ उनले भने ।
लोकतन्त्रको पक्षमा गरिने गतिविधिलाई मात्र आन्दोलन भन्नुपर्ने उनको प्रस्ताव छ । ‘यदि कसैले लोकतन्त्र, गणतन्त्र, र इमान्दारिताका साथ अघि बढ्ने प्रयत्न गर्दछ भने त्यो आन्दोलन हो, त्यसलाई संरक्षण गरिनुपर्छ,’ उनले भने ।
उनले अगाडि थपे, ‘तर, यदि कसैले लोकतन्त्रको विरोधमा, निरंकुशता र तानाशाहीका पक्षमा आवाज उठाउँछ भने त्यो आन्दोलन कहलिन सक्दैन। त्यो अपराध हो, समाजविरुद्धको गतिविधि हो।’
उनले कुन गतिविधि आन्दोलन हो? कुन आपराधिक वा इतिहासविरुद्धको हो? कुन जनताको आवश्यकतासँग मेल खान्छ? भन्ने विषयमा गणतन्त्रवादी दलहरूले स्पष्ट दृष्टिकोण लिनुपर्नेमा जोड दिए ।
लोकतन्त्रवादीहरूले शब्द चयनमा ध्यान दिनुपर्नेमा प्रचण्डले जोड दिए ।
‘एकल परिभाषाका आधारमा आन्दोलन, विद्रोह, क्रान्ति भन्ने शब्दहरूको प्रयोग गरिनु हुँदैन। निरंकुशता वा तानाशाहीतर्फ फर्किनका लागि गरिने प्रयासलाई आन्दोलन भन्न मिल्दैन’ उनले भने, ‘कम्तीमा पनि लोकतन्त्रवादी र गणतन्त्रवादीहरूले यस्तो शब्द प्रयोग गर्नु अनुचित हुन्छ। त्यो आन्दोलन हुनै सक्दैन ।’
उनले थपे, ‘त्यस्ता गतिविधिहरू इतिहास र जनहित विपरीत, लोकतान्त्रिक मर्म र भावनाविपरीत षड्यन्त्र मात्र हुन्छन्। त्यसलाई आपराधिक र समाजविरोधी क्रियाकलापको रूपमा परिभाषित गर्नुपर्छ।’
 
                









 
             
                             
                        
                     
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4