
१६ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्य खोजी र प्रचारका लागि युवापुस्ता जोड्न सुरु गरेको छ ।
मुलुकको पर्यटन प्रवर्द्धनका लागि नयाँ गन्तव्यको वैभव र विशेषता उजागर गर्न युवा पुस्तालाई जोड्ने उद्देश्यले पर्यटन बोर्डले मंगलबार काठमाडौंमा ‘कनेक्टिङ कन्टेन्ट क्रिएटर विथ प्याकेज क्युरेटर’ कार्यक्रम आयोजना गरेको हो ।
बोर्डले पर्यटकीय उपज उत्पादनकर्ता र पर्यटन व्यवसायीलाई एउटै थलोमा राखेर नयाँ गन्तव्य प्रवर्द्धनका लागि प्रोत्साहित गरिएको जनाएको छ ।
कार्यक्रममा सुदूरपश्चिमको अपि हिमालदेखि सुदूरपूर्वको मुन्धुम ट्रेलसम्म पर्यटन गन्तव्यको भिडियो प्रस्तुत गरिएको थियो । जसमा सात प्रदेशका प्रचार र प्रवर्द्धन हुन नसकेका गन्तव्यका भिडियो सामग्री प्रस्तुत गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले विद्यमान् पर्यटन प्रवर्द्धन र प्रचारका नयाँ पुस्ता जोडेर प्रविधिको भरपुर उपयोग गर्नुपर्ने बताए ।
‘इतिहास भएको पर्यटन क्षेत्रको प्रचार गर्दा पुरानै र सीमित गन्तव्यको मात्रै प्रचार भइरहेको छ । पछिल्लो दशकमा विश्वमा पर्यटनको ट्रेन्ड परिवर्तन भइरहेकाले हामीले पनि नयाँ गन्तव्य खोजी र प्रचारको नयाँ शैली अवलम्बन गर्नुपर्ने भएको छ,’ उनले भने ।
अहिले देशभरिबाट विभिन्न समूह र व्यक्तिगत तवरबाट युवापुस्ताले घुमफिर गर्ने र नयाँ गन्तव्य खोजी गरिरहेको सन्दर्भ उल्लेख गर्दै सीईओ जोशीले थपे, ‘सात प्रदेशमा कन्टेन्ट क्रिएटरहरूका रूपमा लागिरहेका पुस्ताले खोजी गरेका दुरदराजका वैभवता र विशेषता प्रचार र प्रवर्द्धन गरिरहेका छन्, उनीहरूलाई पर्यटकीय उपज उत्पादकसँग जोड्न यो कार्यक्रम आयोजना गरिएको हो ।’
सीईओ जोशीले आगामी दिनमा पर्यटन प्रवर्द्धनमा नयाँ रणनीतिसाथ अघि बढ्नुपर्ने र घुमफिर गरिरहेको युवापुस्ता सँगसँगै काम गर्न पर्यटन बोर्ड खुला रहेको समेत बताए ।
कार्यक्रममा लेखक तथा पत्रकार कनकमणि दीक्षितले कार्यक्रममा सहभागी पर्यटन उपज उत्पादक र कन्टेन्ट क्रिएटरहरूलाई गुणस्तरीय पर्यटन विकासमा लाग्न प्रेरित गरेका छन् ।
‘पर्यटन प्रवर्द्धनका लागि हाम्रो परम्परागत शैली परिवर्तन गरेर जानुपर्ने थियो,’ उनले भने, ‘बोर्डको यो जमर्को सकारात्मक संकेत हो । अब हामीले हामीसँग हिमाल छ, सगरमाथा छ भनेर मात्र नपुग्ने भएकाले सांस्कृतिक र अन्य प्राकृतिक वैभवताबारे पनि प्रचार गर्न आवश्यक छ । यसका लागि देशभरिका युवापुस्ताले व्यक्तिगत रूपमा काम गरिरहेको भए पनि पर्याप्त हुन सकेको छैन । यसलाई व्यवस्थित रूपमा सरोकारवाला निकायले मिलेर अघि बढ्नुपर्छ ।’
कार्यक्रममा कोशी प्रदेशबाट मनोज आचार्य, मधेस र बागमती मनिष रुचाल, गण्डकी हेमन्त भण्डारी, लुम्बिनी पल्लव पण्डित, कर्णाली सिर्जना ओली (सिर्जना सिज्जु) र सुदूरपश्चिमबाट हेमन्त राईले सम्बन्धित प्रदेशका नयाँ पर्यटन गन्तव्यको खोजी, सम्भावना र प्रचारको अवस्था सहित भिडियो सामग्री प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया 4