+
+
Shares

एप्पलको फिल्म छायांकनलाई ३०० जनाको क्रूसहित हलिउड स्टारहरू काठमाडौंमा

आवेदनको ७८ दिनपछि छायांकन अनुमति

‘पर्सी सुटिङ छ, आजजस्तो अनुमति दिँदा छायांकन प्रक्रिया प्रभावित हुनसक्छ । किनभने, अन्य निकायबाट पनि अनुमति लिनुपर्ने हुन्छ । झन्झटिलो सरकारी प्रक्रियाले विदेशी फिल्मलाई नेपालमा छायांकन गर्दा समस्या आउँछ भन्ने सन्देश गएको छ’ स्रोतले अनलाइनखबरसँग भन्यो ।

विष्णु शर्मा विष्णु शर्मा
२०८२ वैशाख १७ गते १८:२९
विलियम डफोई र टम हिडल्स्टन स्टारर यो फिल्मले पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको कथा भन्छ ।

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले विश्वब्यापी वितरण गर्न लागेको हलिउड फिल्म ‘टासी’को छायांकन शुक्रबारदेखि नेपालका विभिन्न थलोमा सुरु हुँदैछ । यतिबेला ३०० भन्दा धेरै विदेशी क्रूसहित फिल्म टोली काठमाडौंमा छ ।

विलियम डफोई र टम हिडल्स्टन स्टारर यो फिल्मले पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको कथा भन्छ । यो फिल्मको निर्माण चाहिँ अस्कर विजेता फिल्म ‘द किङ्स स्पिच’को निर्माता कम्पनी सी-स फिल्म्सले गर्दैछ ।

शेर्पा र न्युजिल्याण्डका एड्मण्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । आरोहणको नेतृत्व तेन्जिङले गरेका थिए । यो फिल्ममा हिडल्स्टनले हिलारी र डफोईले अंग्रेज आरोहण दलका नेता कर्णेल जोन हन्टको भूमिका निर्वाह गर्नेछन् ।

काठमाडौं आएको फिल्मको क्रूमा अधिकांश भारतीय प्राविधिक संलग्न छन् । ‘शाम्बाला’ फेम्ड नेपाली अभिनेत्री थिन्ले ल्हामोसहितका केही नेपाली कलाकारले समेत अभिनय गर्दैछन् । स्रोतका अनुसार, ३०० भन्दा धेरै क्रू र ३० भन्दा धेरै सुटिङको गाडी लिएर फिल्म युनिट केही साता पहिले नेपालमा आएको हो ।

यो फिल्मको नेपाल व्यवस्थापन भारतका प्रवेश साहनीको आइटप कम्पनीले हेरिरहेको छ । यो कम्पनीकै व्यवस्थापनमा फिल्मलाई चाहिने उपकरण, सामग्रीदेखि प्राविधिकहरू भारतबाट ल्याइएको स्रोतको भनाई छ । फिल्मको विश्वब्यापी बजेट २५० मिलियन अमेरिकी डलर बताइएपनि फिल्मले नेपालमा मात्र १० देखि १५ करोड नेरुसम्म खर्च गर्नसक्ने निकट स्रोत बताउँछ ।

यो फिल्मलाई काठमाडौं, जोमसोम, बन्दीपुर, सिन्धुपाल्चोक र सोलु खुम्जुङमा छायांकनको तयारी छ । १ महिनासम्म नेपालमा छायांकन चल्नेछ ।

‘शेर्पा’ र ‘माउण्टेन’जस्ता चर्चित डकुमेन्ट्री निर्देशन गरेकी जेनिफर पिडमले यो फिल्मको निर्देशन गर्नेछिन् ।

त्यसयता टोली सुटिङको तयारीमा ब्यस्त छ । अभिनेता टम हिडल्स्टन हलिउडको मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू)मा लोकी पात्रले विश्वचर्चित छन् । एभेन्जर्स, थोर, वार हर्स, द डीप ब्लु सीजस्ता विश्वचर्चित फिल्ममा अभिनय गरेका र गोल्डेन ग्लोब अवार्ड विजेता हिडल्टस्टन पनि केही दिनदेखि नै काठमाडौंमा छन् ।

‘शेर्पा’ र ‘माउण्टेन’जस्ता चर्चित डकुमेन्ट्री निर्देशन गरेकी जेनिफर पिडमले यो फिल्मको निर्देशन गर्नेछिन् । निर्देशक पिडमको सम्बन्ध तेन्जिङको परिवार र शेर्पा समुदायसँग राम्रो रहेको बताइएको छ । निर्माताले ‘तेन्जिङ’को नाममा यसअघि फिल्मको कास्टिङ गरेका थिए । यसअघि बाराक ओबामको हाइ ग्राउन्ड प्रोडक्सन र डिज्नेले फिल्म बनाउने कुरा थियो । तर, गतवर्ष मात्रै एप्पलले विश्वब्यापी अधिकार किनेको हो ।

कम्पनी सी-स र एप्पलले यसअघि पाँचौं सिजनसम्म चलेको सिरिज ‘स्लो हर्सेज’मा सहकार्य गरेका थिए ।

तेन्जिङका छोरा नोर्बु यो फिल्मका कार्यकारी निर्माताको रुपमा हुनेछन् । निर्माताको तर्फबाट गतवर्षको कान्स मार्केटमा यूटीए इन्डिपेन्डेन्ट फिल्म ग्रुप र क्रस सिटी फिल्म्सले डिल गरेका हुन् । एप्पलले कान्स मार्केटबाट फिल्म किनेको हो ।

यसअघि मार्वलको सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’को छायांकन पनि नेपालमा भएको थियो । त्यसयता हलिउडको सर्वाधिक ठूलो स्टुडियोको फिल्मको छायांकन नेपालमा हुन लागेको हो ।

७८ दिनमा सरकारले दियो छायांकन अनुमति

संचार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार मात्रै यो फिल्मलाई छायांकन अनुमति दिएको छ । २०८१ सालको माघ २९ मा छायांकनको लागि आवेदन दिएपनि त्यसको ७८ दिनमा मात्र मात्र मन्त्रालयले अनुमति दिएको हो ।

‘पर्सी सुटिङ छ, आजजस्तो अनुमति दिँदा छायांकन प्रक्रिया प्रभावित हुनसक्छ । किनभने, अन्य निकायबाट पनि अनुमति लिनुपर्ने हुन्छ । झन्झटिलो सरकारी प्रक्रियाले विदेशी फिल्मलाई नेपालमा छायांकन गर्दा समस्या आउँछ भन्ने सन्देश गएको छ’ स्रोतले अनलाइनखबरसँग भन्यो ।

संचार मन्त्रालय स्रोतले पनि छायांकन अनुमति दिइएको र शुक्रबारदेखि छायांकनमा जान जानकारी दिएको छ ।

लेखक
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?