१८ वैशाख, काठमाडौं । अर्जेन्टाइन स्टार लियोनल मेसीको कप्तानीमा रहेको अमेरिकन क्लब इन्टर मायमी कोनकाकाफ च्याम्पियन्स कपको सेमिफाइनलको दुवै लेगमा पराजित हुँदै बाहिरिएको छ ।
दोस्रो लेगको खेलमा इन्टर मायामी क्यानडाको क्लब भ्यानकुभर ह्वाइटक्याप्स एफसीसँग ३-१ ले पराजित भएपछि समग्रमा ५-१ को नतिजामा पछि परेको हो । सेमिफाइनल पहिलो लेगमा पनि भ्यानकुभर ह्वाइटक्याप्स २-० ले विजयी भएको थियो ।
इन्टर मायामीले सुरुवाती अग्रता लिएपनि त्यसलाई कायम राख्न नसक्दा हार व्यहोर्न पुग्यो । फ्लोरिडास्थित चेस स्टेडियममा भएको खेलमा जोर्डी अल्बाले नवौं मिनेटमै गोल गर्दै इन्टर मायमीलाई अग्रता दिलाएका थिए । तर त्यसलाई जोगाउन सकेन भने भ्यानकुभर ह्वाइटक्याप्सले खेलमा पुनरागमन गर्यो ।
भ्यानकुभर ह्वाइटक्याप्सब्राइन ह्वाइटले ५१औं मिनेटमा बराबरी गोल फर्काए । यस्तै पेड्रो भिटेले ५३औं र सेबास्टियन बर्हाल्टरले ७१औं मिनेटमा गोल गरे ।
भ्यानकुभर ह्वाइटक्याप्सले अब उपाधिका लागि दुई मेक्सिकन क्लब क्रुज अजुल र टाइगर्स युएएनएलबीचको विजेतासँग खेल्नेछ । यी दुईको पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो ।
कोनकाकाफ च्याम्पियन्स कपमा नर्थ अमेरिका, सेन्ट्रल अमेरिका र क्यारेबियन राष्ट्रका क्लबहरुले प्रतिस्पर्धा गर्ने गर्छन् । अहिलेसम्म मेक्सिकोको क्लब अमेरिकाले सर्वाधिक ७ पटक यो उपाधि जितेको छ ।
यस्तै साविक विजेता समेत रहेको मेक्सिकोकै क्लब पोचुकाले ६ पटक उपाधि जितेको छ ।
प्रतिक्रिया 4