+
+
Shares
संस्मरण :

शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज स्थापना : गोटी पो भएछु कि !

अत्यधिक तनाव भएर साविकी ध्यानमा बस्ने कोशिश गरें। मन विचलित भइनै रह्यो। बाहिर निस्किएर किराना पसलबाट रम किनें। कालो भटमासको दिउलसित एक क्वार्टर रम सेवनपछि बल्ल अनितालाई बेलीविस्तार लगाउन सकेको थिएँ।

डा. जगदीशचन्द्र बराल डा. जगदीशचन्द्र बराल
२०८२ वैशाख २० गते २१:१५

जेठ, २०३८ अन्तिम साता। प्रि-मनसुन शुरू भइसकेको थियो। वातावरण धुम्म थियो। यस वर्ष मनसुनमा साबिकभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा जनमानस अलिक चिन्तित थियो। म राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (रा.नि. विभाग) मा हाजिर भइसकेको थिएँ।

देहरादुनबाट फर्किएका १४ जनामध्ये धेरै जना वन विभाग र कोही चाहिं भू-संरक्षण विभागमा हाजिर भइरहँदा म भने दुवै बथानबाट अलग्गिएको थिएँ। दु:खेसो भने थिएन, किनकि यो मेरो आफ्नै निर्णय थियो।

मलाई धेरै मित्रहरूको छनोटमा परेको वन विभागको कार्यशैलीमा विश्वास थिएन। काठ कटानी, बिक्री, वन गस्ती, अभियुक्त पक्राउ र थुनछेक जस्ता परम्परागत शैलीका काममै जिल्ला जिल्लामा खटिने डीएफओहरू व्यस्त हुने म अनुमान लगाउँथें। त्यसबाट वन संरक्षण हुन नसक्ने मेरो अन्तर्मनले संकेत गर्थ्यो। लाग्थ्यो, आफूबाट वन संरक्षण हुन सकेन भने पढाइको तुक नै के रह्यो र ?

अर्कोतिर, आफूलाई कर्म योगी झैं लाग्ने बुवाको अर्ति पनि सम्झना आउँथ्यो। बुवा सधैं सरकारको सिन्दुरप्रति बफादार रहन मलाई खबरदारी गरिरहनुहुन्थ्यो। त्यसैले आफूलाई खटाइएको जिल्ला वन कार्यालय कैलालीको एटेच अफिसर पद अस्वीकार गर्दै स्वेच्छाले म यस रा.नि. विभागमा हाजिर हुन आइपुगेको थिएँ।

बानेश्वरस्थित बीआईसीसी छेउमै हालै मात्र भाडामा बसेको रा.नि. विभागको एक सानो घर। त्यसैको माथिल्लो तलामा म किताबहरूसँग खेल्दै थिएँ। वन र वन्यजन्तुसँग सम्बन्धित छरपस्ट किताब व्यवस्थित गर्न मलाई अह्राइएको थियो।

महानिर्देशक विश्वनाथ उप्रेतीको बोलावटको सूचना पाएँ। उहाँको कार्यकक्षभित्र पसेर गफिँदा-गफिँदै महानिर्देशकको मूड अलिक गम्भीर भएको मैले लख काटें। भन्नुभयो, “बरालजी, एउटा चुनौतीपूर्ण काम गर्नुपर्ने भयो। सकिएला?” थोरै हच्किएँ। भर्खर-भर्खर बहाली गरेको कर्मचारी। स्थायी समेत भएको छैन। ठाडै इन्कार गर्ने कुरा भएन।

महानिर्देशकबाट कुरा स्पष्ट भयो, शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जको अफिस स्थापना गर्नुपर्ने रहेछ, दुर्गम हिमालपारिको जिल्ला डोल्पामा। १२ हजार फिटको दुर्गम उचाइ र क्षेत्रफलको हिसाबले देशकै सबैभन्दा भीमकाय (३,५५५ वर्गकिमी) राष्ट्रिय निकुञ्ज ! काम चुनौतीपूर्ण त थियो, तर असम्भव भने लागेन।

भनें, “अवश्य सर, किन नसक्नु?” यद्यपि उहाँले तत्काल जोडिहाल्नुभयो, “असारभरिमै यो काम फत्ते गर्नुपर्छ नि! यसै वर्षको गजेटमा चारकिल्ला सहितको राष्ट्रिय निकुञ्ज स्थापनाको सूचना निकाल्नै पर्ने बाध्यात्मक स्थिति छ।” छेवैमा झुण्डिएको भित्तेपात्रोतर्फ नजर दौडाएँ। काम फत्ते गर्न मुस्किलले एक महिना मात्र बाँकी रहेछ।

मैले भनें, “हजुर, दुई महिना जतिको समय पाउँ न।” उहाँले अलिक चिन्तित मुद्रामा मतिर दृष्टिगोचर गर्दै आफ्ना बाध्यतातर्फ इंगित गर्नुभयो। यसै आर्थिक वर्षभित्र कार्यालय स्थापना गर्न बजेट तथा कार्यक्रम स्वीकृत भइसकेको छ रे! अन्यथा भएमा विभाग उपर कारबाही नै हुन्छ रे! उहाँको बाध्यता बारेमा त मेरो द्विविधा रहेन, तर प्रस्तावलाई ठाडै स्वीकार गर्न हिम्मत पनि गर्न सकिनँ। मैले एक दिनको समय मागें।

किताब व्यवस्थापनको काम थाती राखी म तत्काल हतार-हतार डेरातर्फ लम्किएँ। बाटोभरि द्विविधामा थिएँ। महानिर्देशकज्यूले दिएको नयाँ अभिभारा नसम्हालौं, त्यो मेरो नालायकीपन हुनेछ। स्वीकारौं, भर्खर नवविवाहिता श्रीमती अनितालाई छोडेर यो बर्खाबीच म कहाँ हिमालपारि बहकिउँ।

मनले भने मोटामोटी निर्णय लिइसकेको थियो, ‘अफिसले दिएको यो नयाँ दायित्वबाट म भाग्न मिल्दैन। दशैं नजिकिंदै छ। दशैंमा घर आउन महानिर्देशकबाट अनुमति पाइनै सकेको छु। बुवा, आमा र अनितासँग त तीन महिनाभित्र भेट भइहाल्नेछ। यसैले म डोल्पा जानै पर्छ।’

म तयारीमा जुटिसकेको थिएँ। सबैभन्दा पहिले नयाँसडक नजिक तत्कालीन आरएनएसी टिकट काउन्टर पुगें। बर्खा याम शुरु भएको भन्दै नेपालगंज-जुफाल उडान बन्द भइसकेको रहेछ। त्यो ढोका बन्द भएसँगै वैकल्पिक उपाय खोज्न म बाध्य भएँ।

हाम्रा अग्रज कर्ण शाक्यद्वारा अंग्रेजीमा लिखित ‘डोल्पो’ हात पर्‍यो। एकचोटि सरसर्ती पल्टाएँ। तर विशेष ध्यान भने त्यहाँ पुग्ने माध्यम र मार्गमै रह्यो। बर्खा याममा भ्रमण गर्दै बाग्लुङ र ढोरपाटनको बाटो सुझाइएको थियो। माध्यम र पहुँच मार्गको एकसरो आकलनपछि म विभागको लेखा शाखा पुगें।

त्यस आर्थिक वर्षको लागि कुल बजेट रु.९० हजार विनियोजन भएको रहेछ। सोचें: “त्यस दुर्गम भेकको र त्यो पनि देशकै सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्जको स्थापनाको काममा बजेट चाहिं केवल ९० हजार ! तर त्यहाँ मेरा ती तर्कको काम थिएन। उपलब्ध बजेटको सही र मितव्ययी उपयोग गर्नुको विकल्प थिएन। विभागबाट मैले भ्रमण खर्च लगायत मसलन्द आदिका लागि केही पेस्की लिइसकेको थिएँ। कति भन्ने चाहिं ठ्याक्कै याद भएन।

०००

एक्लै त्यस दुर्गम स्थानतर्फ प्रस्थान गर्नुपर्ने कुराले मलाई चिन्तित त बनाउने नै भयो। संयोगले अर्का एक खरिदार स्तरका कर्मचारी त्यहाँ खटिई जान इच्छुक रहेको जानकारीमा आयो। उनको नाम उमापति सापकोटा थियो। उनी यसअघि चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत रहेछन्। उनी मेरो सम्पर्कमा आए। विभागले पनि त्यस कुरामा सहमति जनायो। उनलाई साथ लिएर राष्ट्रिय निकुञ्ज स्थापना गर्ने आशयको पत्र बन्यो। उनको सल्लाहमा यताबाट खरिद गरी लैजानुपर्ने मसलन्द सूची तयार भयो। लेटर प्याड, कार्यालय छाप, मसी, मसिदानी, इन्डेक्स फायल, डटपेन, पेन होल्डर, फुलिस्केप कागज, पंचिङ मेसिन, खाम, फायल, नेपाली कागज, स्टिचिंग पिन, स्टिचिंग मेसिन, अल्पिन आदि-आदि।

वार्डेनको लिस्टतर्फ छोरी निशुको आँखा पर्‍यो। तर त्यहाँ मेरो नाम पहिलो वार्डेनको रूपमा दर्ज थिएन। आश्चर्यका साथ उनले मलाई तत्काल फोन गरिन्। म अचम्मित भएँ।

उमापतिजी र म छिट्टै असन गल्ली वरपर सामान अर्डर र खरिदमा लाग्यौं। प्रायः सबै पसलले हामीलाई अफिसको सामान हो वा व्यक्तिको भनी सोध्थे। अफिसको सामान भएमा यथार्थ भन्दा बढीको बिल बनाइदिने उनीहरूको अन्तर्य हुने रहेछ। उमापतिजी थोरै भए पनि बिल बढाउने पक्षमा मसँग साउती गर्न खोज्थे। म चाहिं पसल–पसल चहारेर सबैभन्दा सस्तोमा सामान खरिद गर्न खोज्थें।

सामानमध्ये सबैभन्दा धेरै पत्राचारको लागि आवश्यक लेटर प्याड नै अर्डर गर्‍यौं। यो निर्णयमा मैले आफ्नो कमन सेन्स प्रयोगमा ल्याएको थिएँ। म तर्क गर्थें- अरू मसलन्द सामान त सस्तो-महँगो त्यतैउधि पनि किन्न पाइएला। त्यो दुर्गममा लेटर प्याड छपाउने सुविधा त्यहाँ कहाँ उपलब्ध हुन्छ र ?

मेरो मोलमलाइ र सामान अनुसारको यथार्थ बिलको चासोले उमापतिजीको चित्त नबुझिरहेको म राम्रै छनक पाउँथें। तर उनी चुप लाग्न बाध्य थिए त्यहाँ। उनी सोच्दा पनि होलान्, “नयाँ जोगीले धेरै खरानी घस्छ।” उनलाई थाहा छ, म विभागको नवप्रवेशी हुँ।

एक हप्ता बित्दा नबित्दै हामी डोल्पाका लागि बाटो लागिसकेका थियौं।

०००

हामीसँग अन्य दुई जना पनि पछि लागे। एक थिए, उमापतिजीले जागिरको आश्वासन दिएका चुडा नामका व्यक्ति र अर्का थिए, मेरो आफन्तले जागिर लगाइदिन अनुरोध गरेका खोमराज नामका। त्यस दुर्गम स्थलमा स्थानीयले नै मौका पाउनुपर्छ भन्ने सोच नआएको होइन। तर सामाजिक आब्लिगेसनको कुरा एकातिर थियो भने दुर्गममा यात्रा गर्दा हामीलाई साथी हुने कुराले पनि सघाएकै थियो। यसरी मैले सहमति जनाएको थिएँ।

हामी भृकुटीमण्डप सिटी हल पछाडिको पुरानो बसपार्कमा आफ्ना सरसामानका साथ जम्मा भएका थियौं। अफिसबाट उपलब्ध दुई किचेन पाल र बाँकी सामान छतमा लोड गरिएका थिए। बस गुड्यो। लोकल बस त हो, अनेकन् ठाउँमा यात्री झार्दै र चढाउँदै त्यसले हामीलाई अपराह्न चार बजे आसपास पोखरा पुर्‍यायो। पोखराबाट भाग्यले स्याङ्जा, वालिङतर्फ जाने बस भेट्टाइयो। समयले अत्याइरहेका हामी चार जना हतारहतार सामान छतमा लोड गरी गन्तव्य आँक्दै अघि बढ्यौं।

साँझ आठ बजे आसपास नौडाँडा उत्रियौं। खोमराजजीले भात खाने होटल खोज्दै गर्दा म र उमापतिजी भने गन्तव्यको बाटो सोधपुछ गर्न र भरिया खोज्न लाग्यौं। रात्रिको खाना खाँदै गर्दा हाम्रो ध्यान खानामा कम थियो, भरिया खोज्न र अघिको बाटो पर्गेल्नमै बढी।

६ जना भरिया हामीसँग जान तयार भए, प्रतिदिन रु.५० ज्यालामा। थोरै राहत र धेरै सन्देहका साथ हामी बिछ्यौनातर्फ लाग्यौं। छेवैको आँधीखोलाको अविरल सुसाइ र भोलिको बाटोको मनमा तानावाना गुन्दै रात कट्यो।

मलाई थाहा छ, यात्राको क्रममा मेरो त्यो खोलासँग पहिलो जम्काभेट हुँदैछ। त्यसलाई कैयौं ठाउँबाट वारपार गर्दै पहिले त कार्किनेटाको उकालो तय हुनेछ। अनि थुप्रै गाउँ, खेत, बारी, वन र गोरेटो छिचोल्दै कुस्मा बजार, बाग्लुङ बजार हुँदै बुर्तिबाङ, ढोरपाटन हुँदै अन्ततोगत्वा दुनै र त्यसपछि गन्तव्य शे-फोक्सुन्डो छेवैको प्रस्तावित राष्ट्रिय निकुञ्ज परिसर पुग्ने सपना बोक्दै हामी अघि बढ्यौं।

अब हाम्रो लर्को १० जनाको छ। ६ जना भारबाहक अघि लागे भने हामी पछिपछि। तीमध्ये ४ जनालाई त हिजो साँझ किनिएको दाल–चामल नै बोक्ने जिम्मा दिइएको छ।

पहिलो दिन कुस्मा र दोस्रो दिन बागलुङ बजारसम्मको यात्रा निकै मनमोहक थियो। प्रि-मनसुनले निम्त्याएको वर्षासँगै डाँडाकाँडाहरू हरियाली देखिन्थे। बारी कान्लाका हरिया मकै, भटमास, बोडी बालीले शोभा दिइरहेका हुन्थे। खेतभरि किसानहरू कतै आली लाउन व्यस्त थिए भने कतै रोपाईंको चटारो देखिन्थ्यो।

बागलुङ बजारबाट अघि बढेपछि भने चुनौतीको चाङ थपिंदै गयो। बागलुङ बजारबाट बाटो लाग्नुअघि नै आकाश अझै बढी धुम्मिएको थियो। हामीले बुर्तिवाङलाई अर्को बासको लक्ष्य बनाएका थियौं। प्रस्थान गर्नासाथ सुरु भएको सिमसिमे पानी बन्द हुने छाँट देखिएन। हामी चार जना छाताको सहारामा अघि बढ्यौं भने भारियाहरू आ–आफ्नो भारीलाई प्लास्टिकले ढाकी जीउलाई समेत ओबानु राख्न दायाँ अनि बायाँ हात चलायमान राख्न उद्यत थिए।

गाउँ छिचोली पहाडतर्फ उकालो लाग्दा पानीको वेग त कम भयो, तर सिमसिमे रोकिएन। टम्म हुस्सोभित्र हामी रुमलिंदै अघि बढिरहेका थियौं। असहजताको बावजुद झन्डै दुई घन्टासम्म त बाटो छिचलियो। त्यस उप्रान्त समस्या चुलियो। हिउँदमा हिँड्ने गोरेटो हुँदो हो, लगातारको वर्षाले झार र झाडीले टमक्क ढाकिदिएका थिए। बाटोको नामोनिसान देखिएन। हामी गन्तव्य हराएको यात्री जस्तो किंमर्तव्यविमूढ हुँदै अघि बढ्न बाध्य थियौं।

अविराम दुई घन्टा उकालो लागेपछि संयोगले एक महिला भेटिइन्। पानी अलिक कम भएको मौका छोपी उनी घाँस काट्न र बाख्रा डुलाउन निस्केकी थिइन्। महिलासँग सोधपुछ गर्‍यौं। थाहा पाइयो, हामी त उल्टो बाटो पो हिंड्दै थियौं।

हुस्सु पातलियो। वरपरका डाँडा र सानो बस्ती देखिन थाले। अनि चाल पाइयो, बुर्तिवाङ जान तलतिर लाग्नुपर्नेमा हामी उकालो चढ्दै थियौं। चार घण्टाभन्दा बढीको बाटो बेफ्वाँकमा तय गरेका रहेछौं। ओरालो यात्रा सुरु भयो। बासको लागि बुर्तिवाङ पुग्दा हामी थकित र निथ्रुक्क भइसकेका थियौं।

बुर्तिवाङ बास बसी भोलिपल्ट हाम्रो लर्को लक्ष्यलाई पछ्याउँदै उत्तरतिर दैनिक सोझिन थाल्यो। जति अघि बढ्यो उति घरबस्ती पातलिंदै गए। हाम्रा अधिकांश बासहरू मान्छेको घर छिंडीमा होइन ओडार वा रूखमुन्तिर हुन थालेका थिए। हामी जति अघि बढ्यौं, उति खुट्टा सुनिन थालेका थिए। आफ्नो शरीर आफैंलाई बोझ भए झैं थियो। हाम्रा भारबाहकहरूमध्ये कसैको स्थिति अलिक भिन्न रहेको छनक पाइन्थ्यो। उनीहरूमध्ये धेरैले त रासन नै बोकेका थिए, जो दिनप्रतिदिनको हाम्रो खुराकसँगै हलुकिंदै गए। तर, विडम्बना- हाम्रो बाटाको खान्की घट्दै गयो। खतराको घन्टी बज्न थालेको अनुभूति हुन थाल्यो।

नाक ठोक्किने उकालो चढेर ओर्लिने क्रममा एउटा झुप्रो देखियो। हामीले दिएको आवाजसँगै अधबैंसे महिला देखा परिन्। लवाइको हिसाबले गतिलो नदेखिए पनि जीउडाल हेर्दा भने कुपोषणबाट टाढै रहेको अनुमान लगाउन सकिन्थ्यो।

मकैको पीठो अथवा अन्य केही किन्न पाइन्छ कि भनी उमापतिजीले मुख खोले। सकारात्मक जवाफ आएन। हामी बाटो लाग्दै गर्दा उनले ‘पर्खनुस्’ को इशारा गरिन्। भित्र पसी झन्डै चार माना सिमीको पिठो लिएर निस्किइन्। हाम्रो मुखमा चमक आयो। उनले पैसा लिन अप्ठेरो मान्दै थिइन्। तर, सित्तैंको उपहार लिन हामी बेमञ्जुर देखिएपछि अन्ततः नाइँ भन्न सकिनन्। उनलाई साथै भगवानलाई धन्यवाद दिंदै हामी अघि बढ्यौं।

०००

काठमाडौंबाट हिंडेको आज १६ दिन भइसकेको छ। अब दुई दिनमा त सदरमुकाम दुनै पुगिन्छ रे! हामीले शनैशनै कान्जिरोबा हिमाल पार गरिसकेका छौं। कुन भन्ज्याङबाट पार गरियो, पत्तै पाएनौं। सहज परिवेश हुँदो हो त बाटामा अवलोकन हुने र स्थान अनुसार परिवर्तन हुँदै जाने भौगोलिक, पारिस्थितिक प्रणाली र सुन्दर प्रकृति उपर मैले दृष्टि दिन्थें होला। केही कुरा नोटबुकमा टिपिंदो हो र कुनैको चाहिं नमूना नै संकलन हुँदो हो। आखिर म आफूलाई एक प्रकृतिप्रेमी फरेस्टर भन्न रुचाउँछु। यद्यपि त्यो चरम थकाइ, जीर्ण शरीर, खाद्यान्न संकट र विविध असहज परिवेशबीच त्यतातिर खास ध्यानै जान सकेन। यसमा म सधैंभरि चुकेको अनुभूति गर्छु।

चार माना सिमीको पिठोले १० जनाको जत्थालाई कति पो थेगोस् ! सबै जनाको ज्यान शिथिल छ, खुट्टा सुन्निएका छन्। यही बीचमा कसैले सूचना प्रवाह गर्‍यो, हाम्रो अबको बास छानामुनि हुने सम्भावना छ।

कुनै स्वीस नागरिकको सहयोगमा बाटा छेउ जस्ता छाना लागेको एक छहारी बनेको छ रे! रात छाना मुनि बिताउन पाइने भो भन्ने ठानी हाम्रा गलित पाइला समेतले केही गति लिन थाले। साँझपख त्यस पाटीमा पुगियो पनि। तर दुर्भाग्य! ‘फ्रस्ट बाइट’ द्वारा पीडित एक व्यक्ति इन्तुनचिन्तु भै त्यसै पाटीमा लम्पसार परेको दृश्य हाम्रो सामु आयो। अत्यन्तै अप्ठेरो परिस्थितिमा त मानवता पनि हराउने रहेछ क्यारे! अनदेखा झैं अघि बढ्यौं।

घाँसे मैदानमा हामीले किचन पाल टाँग्यौं। बचेखुचेको सिमीको पिठो डिनर भयो। बरफिलो रातमा जीउ सुरक्षित गर्न असम्भव नै थियो। टाउको जोगाउन दुई स-साना पाललाई केन्द्रबिन्दु मानी १० वटै टाउका भित्र लुकायौं। जीउ जति सबै बाहिर वृत्ताकारमा लम्पसार थिए। निदाउने त कुरै भएन। ठिउठिउमा पूरा रात कट्यो। बिहान ४ बज्दा नबज्दा उमापतिजी गनगन गर्न थाले। भने, ‘निदाउन नसक्ने भएपछि लफ्रक्क जमीनमा पल्टेर मात्र के गर्नु ?’ उनको कुरामा भरियाहरु समेत राजी भए। हाम्रो उकालो यात्रा सुरु भयो।

१० बजे आसपास सहरतारा भन्ने गाउँमा पुगियो। त्यहाँबाट भेरीको तीरैतीर दक्षिण दुनैतिर सोझियौं। साँझमा दुनै पुगी त्यहाँका तत्कालीन एलडीओ स्व. नरेन्द्र पौडेलकहाँ पेटभरि खाइएको सरकारी कोटाको उसिना चामलको भात र च्यांग्राको मासुले हामीलाई संजिवनीकै काम गरेको सम्झना छ।

३ दिन दुनैमा आराम गर्दा समेत १८ दिनको त्यो थकाइ मरेकै छैन। राष्ट्रिय निकुन्ज स्थापना गर्न हामीलाई शे-फोक्सुन्ड़ो ताल छेउ पुग्नु छ। पुनः बाटो तताउनुको विकल्प छैन। भरियाहरुलाई हिसाब फरफारक गरी हामी चार भाइ अघि बढ्यौं।

स्थानीय प्रधानपञ्च कृष्णबहादुर लामा दुनै झरेका रहेछन्, जो हाम्रो बाटोभरिका अर्का साथी भएका थिए। उनका अतिरिक्त तीन जागिरका अपेक्षितहरु समेत हाम्रो पछि लागेका थिए। उनीहरु स्याङ्जा भेकका रहेछन् र डोल्पाकै कुनै गाउँमा शिक्षक रहेछन्। खोलिन लागेको राष्ट्रिय निकुन्जमा नयाँ कर्मचारी आवश्यक हुने आकलन गर्दै उनीहरु हाम्रो पछि लागेको प्रष्टै देखिन्थ्यो।

दुई दिनको उकालो चढाइपछि बल्ल गन्तव्यमा पुगियो। राष्ट्रिय निकुञ्ज स्थापनाबाट स्थानीयहरु विस्थापित हुनुपर्ने हो कि भन्ने प्रधानपञ्चलाई ठूलो चिन्ता रहेछ। उनको चिन्ता केही वर्षअघि रारा राष्ट्रिय निकुञ्ज स्थापनाको क्रममा त्यहाँका बासिन्दाहरु तराईतिर विस्थापित हुन पुगेको यथार्थबाट प्रष्टै हुन्थ्यो। बाटोभरि उनले आफ्नो चिन्ता दोहोर्‍याई नै रहे। म भने जानेसम्मको तर्क प्रयोग गरी स्थानीय समुदाय राष्ट्रिय निकुञ्जकै अभिन्न अंग बनाइने सोच हुँदा चिन्ता नलिन आश्वस्त पार्थें। राष्ट्रिय निकुञ्जको नाम अपभ्रंश भएकोमा पनि उनको गुनासो थियो। खोलाहरुको संगमले ताल बनेको हुँदा त्यसको सही नाम स्थानीय भाषामा फोक्सुम्दो हुनुपर्ने थियो रे! सुझाव अनुसार नाम परिवर्तन गर्नुपर्ने आवश्यकता भने पहिचानसम्म हुन पुग्यो।

बाटोभरि बन्दुकका आवाज लगातार निस्किरहेका थिए। ती बन्दुक कस्तूरी लगायतका मृगलाई लक्षित गरिएको सुन्दा मन भरंग भयो।

मन भित्र तानाबाना बुन्दै अघि बढें। पहिलो दिनको यात्राले हामीलाई नजिकैको रह गाउँ पुर्‍याएको थियो। त्यस क्षत्री गाउँको निरपेक्ष गरीबी देख्दा म निकै भावुक भएको थिएँ। तिनीहरुको कुपोषित शरीर, लवाई खवाई र रहनसहन हेर्दा लाग्थ्यो, राज्यको कुनै उपस्थिति नै छैन त्यहाँ। बालबालिकाहरु सुकिला लुगा लगाएका हामीहरुलाई देख्दा भागाभाग गरिरहेका हुन्थे।

०००

हामी उकालो चढ्दै कार्यालय प्रयोजनका लागि बनेको एकतले घरमा पुग्यौं। छेउमै फोक्सुण्डो ताल आफ्नो अलौकिक प्राकृतिक सौन्दर्यको सुगन्ध छर्दै विस्तारित छ। आकाशको रंग अनुसार आफ्नो रंग बदल्छ रे! सूर्योदयमा सुनौलो देखिने यो ताल कहिले हरियो, कहिले हल्का नीलो त कहिले गाढा नीलो देखिन्छ रे! यस मनोरम तालका १०-१२ कुना छन् रे! हाम्रो छेउबाट भने तालका तीन कुना मात्र देख्न सकिन्छ।

ढुंगा र माटोको त्यो घर बनाउने जिम्मा हाम्रा सिनियर विजय कट्टेलले पाउनुभएको रहेछ। त्यही समयमा उहाँको अगुवाइमा राष्ट्रिय निकुञ्जको सीमांकन समेत हुन पुगेको रेकर्डबाट देखिएको थियो।

जस्ताको जेनतेनको छानो ओढेको त्यो घरमा झ्याल ढोका कतै देखिएन। प्लास्टर र भुइँ समेत बन्न बाँकी नै थिए। सरसामान छोडी, छेउको ताल र त्यसको दक्षिण-पश्चिम कुनामा अवस्थित रिग्मो गाउँमा सरसर्ती नजर लाउन आतुर भएँ म।

तत्काल दुई जवान गेम स्काउट भर्ना गर्नुपर्ने हुँदा तिनको सम्भाव्यता समेत तत्काल खोज्नु थियो मलाई। हाम्रो सानो टोली गाउँ पस्यो। तर के गर्नु उनीहरू र हामीबीच सञ्चारको ठूलै खाडल थियो। हामीले स्थानीय भोटे भाषा बुझ्ने कुरा भएन, उनीहरूले पनि हाम्रो भाषा बुझ्दैनथे।

अठार/बीस घरको पूरा गाउँ छिचोल्दा केवल एक जवान गेम स्काउटका लागि उपयुक्त हुने हामीले आकलन गर्‍यौं। उनको नाम दावा थियो। फकाएकै शैलीमा हामीले उनलाई दरखास्त दिन आह्वान गर्‍यौं। पहिले त कुरा बुझाउन नै महाभारत भयो। जब उनले हाम्रो सन्देश बुझे, उनी आफ्नै पाराले निरन्तर इन्कार गरिरहे। भोटे लवजमा भन्दैथिए, ‘जागिरले ता के पो हुनछा मालाई ?’ ‘बारु मा त चौंरी नै चाराउने हो साब।’

पर्सिपल्ट पुन: दावा हामी सामु देखा परे। जागिरका लागि उमापतिजीले लेखी ठिक्क पारेको निवेदनमा ल्याप्चे लगाई सहमति दर्ज गरे। पछि प्रधानपञ्चले फकाएछन् क्यारे। तल पुग्मो गाउँबाट समेत अर्का एक जवान जागिरका लागि तयार भए र नियुक्ति समेत लिए।

अब हामी राष्ट्रिय निकुञ्जको औपचारिक स्थापनाका लागि तयार भैसकेका थियौं। थोरै तामझामका साथ अफिस उद्घाटन गर्ने विचार थियो। प्रमुख जिल्ला अधिकारी लगायत अन्य कार्यालय प्रमुखलाई निम्ता गरियो। यद्यपि, कोही उपस्थित भएनन्। दुई दिनको उकालो बाटो तय गर्दै सहभागिता जनाउन धेरैलाई सहज भएन होला। अर्को कुरा, त्यो दुर्गम स्थानमा धेरै कर्मचारी आउन मान्दैनन्, आए पनि टिक्दैनन्।

तामझामका साथ उद्घाटन गर्न हामीसँग बजेट नै कहाँ थियो र ? यसैबीच, हामीले नजिकैको पुग्मो गाउँका प्रधानपञ्चलाई उद्घाटनका लागि बोलायौं। उनले पानसमा बत्ती बाल्दै अफिस उद्घाटन गरे। बाटामा आइपरेका अनगिन्ती समस्या र चुनौतीलाई बिर्सिएर देशकै सबभन्दा ठूलो राष्ट्रिय निकुञ्जको औपचारिक स्थापना गरी त्यहाँको पहिलो वार्डेन भएकोमा गौरव महसुस भइरहेको थियो।

अफिस उद्घाटनपछि, अब राष्ट्रिय निकुञ्जको सेरोफेरो भ्रमण गर्ने सोच बन्यो। शुभारम्भ फोक्सुण्डो तालबाटै गर्ने विचार गरें। तालका अनेकन् कुनामध्ये हालसम्म मैले तीन कुनामा मात्र पुग्न सकेको छु। बाँकी रहेका सबै कुनामा पुग्ने अठोट बनाएँ। त्यसपछिको मेरो योजना त्यो राष्ट्रिय निकुञ्जले नाम सापटी समेत लिन पुगेको प्रसिद्ध शे-गोम्बा र छार्का भोट भ्रमण गर्नु थियो। यद्यपि, परिस्थितिले मलाई अड्चनमा पार्न थाल्यो।

खापाविहीन झ्याल र ढोकाहरुमा ओढाइएको प्लास्टिकले त्यो १२ हजार फिटको चरम हिमाली स्याँठलाई बाहिर्‍याउन सकेन। अनि ठाउँ-ठाउँमा खाली देखिने जस्ता छानाले न्यानोभन्दा बरफिलो हावा प्रवाह गर्दै थिए। मेरो शरीरले ती वातावरणलाई सहन नसक्ने भयो। बेतोड दु:खेको कपाल काठमाडौंबाट ओसारिएको सिटामोलले दबाउन सकेन।

‘खानपिनले पेल्नुपर्छ’ भनी दावा लगायतका स्थानीयले सुझाए अनुसार प्रयास नगरिएको होइन। दुनैबाट ल्याइएको सरकारी कोटाको गन्धयुक्त उसिना चामलको भातलाई च्याङ्ग्राको सुकुटी र लोकल कुखुराको अण्डासँग मिलान गर्ने प्रयास समेत भएकै हो। उवाको रक्सी पनि चलाउन खोजिएको थियो। तर विस्तारै ती खाद्य वस्तुहरू देख्दै बमन हुने अवस्थामा म पुगें। निद्रा पनि हरायो।

लेक लागेको भन्दै स्थानीयले हामीलाई तल्लो भेगमा झर्न सुझाए। शे-गोम्बा र छार्का भोटको भ्रमण गर्ने मेरो सपनामा तुषारापात हुने छाँट देखियो। छिट्टै उत्तरतर्फ होइन, बरु दक्षिणतर्फ झर्नुपर्ने बाध्यता पर्‍यो। शे-गोम्बा मात्र होइन, राष्ट्रिय निकुञ्जको समग्र भ्रमणको सपना थाती राख्दै दक्षिणतर्फ झर्ने निर्णय गरें।

हामी राष्ट्रिय निकुञ्जको दक्षिण सिमानामा रहेको रह गाउँमा (उचाइ १० हजार फिट) अस्थायी मुकाम कायम गरी काम गर्न थालिसकेका थियौं। यस भेगमा प्रशस्त हिउँ परे पनि बाटो भने बन्द भइनहाल्ने स्थानीयको दाबी सुनेर थोरै ढुक्क हुन थालें।

०००

दशैं नजिकिंदै थियो। हामी दशैं मान्न घर फर्किने तयारीमा लाग्यौं। यद्यपि, भारी हिमपात सुरु भयो। सात दिनको हिमवर्षाले मनलाई विचलित मात्र बनाएन, नवविवाहित श्रीमतीसँग पहिलो दशैंमा समेत भेट नहुने हो कि भन्ने पिरले सतायो। अनि देशकै सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज स्थापनाको वृत्तान्त सबैलाई सुनाउन आतुर मन आत्तिन थाल्यो।

हामीलाई नियालिरहेका एक स्थानीयले एक साँझ खुसीको भविष्यवाणी गरे। ‘आकाश डढ्यो रे, भोलिबाट भने हिउँ ‘बिदो’ हुन्छ रे !’ हो, त्यस्तै भयो। हिउँ पर्ने क्रम रोकियो, तर हिउँ पग्लिएर यात्रा सुरु गर्न अर्को पाँच दिन कुर्नुपर्‍यो।

जब दुनैबाट रुकुमको चौरजहारी सोझियौं, त्यसपछि भने मन अलिक ढुक्क भएको थियो। सरकारी कोटाको सीट हात पारेर आरएनएसीको चौरजहारी-काठमाडौं उडानबाट काठमाडौं उत्रिने सम्भावना बढ्यो। सिडिओ कार्यालयबाट सरकारी कोटाको हवाईजहाज सीट उपलब्ध गराई म र बाँकी स्टाफ त्यसतर्फ लाग्यौं।

गोडा दक्षिणतर्फ लागे पनि मनमस्तिष्क भने अझै उत्तरतर्फ अड्किएका थिए। दशैं सकिनासाथ डोल्पा फर्किएर भर्खर जन्मिएको राष्ट्रिय निकुञ्जको काम कसरी अघि बढाउने भन्ने सोचले मनमा डेरा जमाएको थियो।

हिंड्दाहिंड्दै अचानक गोडा फर्कियो। परेन फसाद ! खोच्याउँदै तीन दिनको यात्राबाट कसरी चौरजहारी झरियो र त्यो दुर्लभ उडानबाट काठमाडौं छिरियो भन्ने विषयमा एउटा छुट्टै संस्मरण बन्न सक्छ। अहोभाग्य, एक हप्ताको चौरजहारीको पर्खाइपछि प्लेन सकुशल ल्यान्ड गर्‍यो।

अन्ततः हाम्रो जोडीको अनुपम पुनर्मिलन भएरै छोड्यो। एक हप्तासम्म अनिताले ‘डोल्पाली हरक’ नछाडेको भन्दै मलाई दैनिक दुई पटक नुहाउन लगाउँथिन्। मेरा सम्पूर्ण लुगाफाटाका ती ‘हरक’ महिना दिनसम्मै थिए। दशैंमा जनकपुर पुग्दा मेरो डोल्पा यात्राको बेलीबिस्तार सुनाउँदा अनिता निकै स्तब्ध थिइन् भने आमा जिब्रो काढ्दै हुनुहुन्थ्यो। उता बुवा भने चुनौती स्वीकार गर्दै नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज स्थापना गरेकोमा बधाई र स्याबासी एकसाथ दिइरहनुभएको थियो।

दशैं सकी काठमाडौं फर्किएर हतार-हतार महानिर्देशक विश्वनाथ उप्रेतीको कार्यकक्षमा पुगें। म उहाँलाई सबै बेलीबिस्तार सुनाउन आतुर थिएँ। तर म स्तब्ध भएँ, जब मैले उहाँको मुखबाट सुनें, त्यहाँ मेरो ठाउँमा त कुनै निमा शेर्पा नामका व्यक्तिलाई खटाइसकियो।

अत्यधिक तोडमा त बोली पनि नफुट्दो रहेछ ! नि:शब्द म उहाँको कार्यकक्षबाट बाहिरिएँ, अनि किंकर्तव्यविमूढ हुँदै डेरातर्फ हानिएँ। घन्टौंसम्म अनितासँग मुख खोल्न समेत सकिनँ। टोलाइ मात्र रहें।

अत्यधिक तनाव भएर साविकी ध्यानमा बस्ने कोसिस गरें। मन विचलित भइनै रह्यो। बाहिर निस्किएर किराना पसलबाट रम किनें। कालो भटमासको दिउलसित एक क्वार्टर रम सेवनपछि बल्ल अनितालाई बेलीविस्तार लगाउन सकेको थिएँ।

भोलिपल्ट थोरै संयम अपनाउँदै उप्रेतीको कार्यकक्षमा प्रवेश गरें। तर पनि उहाँसँग बोल्दा अलिकति संयमता गुमाएँ। तातो बहस चल्यो। भावावेशमा मैले भनें, ‘म त हजुरहरूको चेसको गोटी नै पो भएछु त।’ मैले आक्रोश व्यक्त गर्दा उहाँ भने केवल एकै वाक्य मात्र दोहोर्‍याउँदै हुनुहुन्थ्यो, ‘सिनियरले जान्छु भनेपछि म के गरौं ?’

मैले बुझिसकेको थिएँ- वर्षायाम बाहेक अरू समय हुँदो हो त त्यस अप्ठेरो ठाउँमा पुग्न हवाईजहाजको सुविधा प्राप्त हुनेथियो। शायद निमा शेर्पा वा अरु कुनै व्यक्ति त्यहाँ खटिन मन्जुर हुन्थे वा हुँदैनथे थाहा छैन तर मलाई भने सोधिनेसम्म पनि थियो कि थिएन। देहरादुनका साथी सर्कलबाट छुट्टिई एकलकाँटे झैं राष्ट्रिय निकुञ्ज विभाग रोजेकोमा म आफैंलाई लोप्पा ख्वाइरहेको थिएँ।

जेहोस्, अब मैले जागिरको विकल्प नखोजी सुख छैन। काकताली नै भन्नुपर्छ, माथापच्ची गर्दै राष्ट्रिय योजना आयोगमा दरबन्दी रहने गरी लोकसेवा आयोगले विज्ञापन गरेको छ। मलाई थाहा छ, त्यसमा मैले अवश्य निवेदन हाल्नेछु।

०००

मैले मेरो शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज स्थापनाको संघर्षगाथा सुनेपछि मेरी कान्छी छोरी निशुलाई त्यो स्थानको भ्रमण गर्ने कौतूहल जाग्यो। करिब ३ वर्षअघि मात्र आफ्ना साथीको टोली लिएर उनी त्यहाँ पुगिन्। निकुञ्जको पहिलो वार्डेनकी छोरी आफ्नो टिमसँग आइपुग्दा खासगरी तालको छविको रिग्मो गाउँमा एक किसिमको हर्षोल्लास छाएको थियो।

मैले नियुक्ति दिएका गेम स्काउट दावा रिटायर्ड भइसकेका थिए। तर पनि आत्मीयता देखाउँदै स्वागतार्थ उनी गाउँलेहरूको एक जत्था लिएर जुफाल एअरपोर्टसम्मै पुगेछन्।

एअरपोर्टदेखि रिग्मो गाउँ र शे-फोक्सुण्डो तालसम्म पुग्दा ती टोलीका सम्पूर्ण सदस्यहरू खादा र मालाले छोपिएका थिए। ठूलो सत्कार पाउँदा मेरी छोरीहरुको राष्ट्रिय निकुञ्ज कार्यालय अवलोकन गर्ने जिज्ञासा जाग्यो।

कार्यालय भित्र वार्डेनको लिस्टतर्फ निशुको आँखा पर्‍यो। तर त्यहाँ मेरो नाम पहिलो वार्डेनको रूपमा दर्ज थिएन। आश्चर्यका साथ उनले मलाई तत्काल फोन गरिन्। म अचम्मित भएँ। त्रुटि औंल्याउँदै मैले अहिलेसम्म तीन जनाको ध्यानाकर्षण गराइसकेको छु, पहिलो तत्कालीन महानिर्देशक विश्वनाथ उप्रेती, दोस्रो पूर्व महानिर्देशक डा. महेश्वर ढकाल र तेस्रो हालका कार्यकारी निर्देशक डा. सिन्धु ढुंगाना।

यद्यपि, अद्यावधिक त्यो भूल सुधार भएको मेरो जानकारीमा छैन। पहिलो वार्डेनमा दर्ज हुने कसैको लहडले म तिनताक राष्ट्रिय निकुञ्ज विभागको गोटी त भएको होइन ? भन्ने ममा स्वाभाविक शंका उत्पन्न भएको छ। हेरौं भविष्यमा त्यो त्रुटि सुधार हुन्छ कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?