२० बैशाख, काठमाडौं । हाउण्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) विजयी सुरुवात गरेको छ ।
शनिवार कीर्तिपुर कभर्डहलमा भएको लिगको दोस्रो खेलमा हाउण्ड्स एकेडेमीले रोएल्सलाई ८७-७८ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
हाउण्ड्सले पहिलो क्वाटर २१-१४ ले आफ्नो पक्षमा पार्दै राम्रो सुरुवात गरेको थियो । दोस्रो क्वाटर रोएल्सले पुनरागमन गर्दै २६-२२ ले आफ्नो पक्षमा पार्दै हाउण्ड्सलाई टक्कर दिएको थियो ।
तर त्यसपछि तेस्रो क्वाटर २४-१९ र चौथो क्वाटर २०-१९ ले आफ्नो पक्षमा पार्दै हाउण्ड्सले जित हात पार्यो । विजयी टिमका विजय बुर्जा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।
शनिवार भएको उद्घाटन खेलमा घरेलु टोली कीर्तिपुरले सामाखुशी युथ क्लबलाई ८४-५९ ले पराजित गरेको थियो ।
लिगमा आइतबार टाइम्स इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेजबीच एक मात्र खेल हुनेछ ।
नेपाल बास्केटबल संघ नेबाको आयोजना तथा हिमालयन जाभाको मुख्य प्रायोजनमा सुरु भएको बास्केटबल लिगमा ६ टोलीको सहभागिता छ ।
डबल राउण्ड रोविन प्रणालीमा सञ्चालन हुने लिगका खेलहरु विकेण्डमा खेलाइनेछ । लिगका खेलहरु हरेक शनिवार र आइतबार तथा मंगलबार र बुधबार हुनेछन् ।
प्रतिक्रिया 4