
काठमाडौँ । बत्तीसपुतली चोकबाट केही मिनेटको दूरीमा आंशिक रूपमा ढुङ्गाले छाएको तीन तले सेतो घर अवस्थित छ। घरको बायाँतर्फ प्रवेश गर्नुभयो भने तपाईँले केही ढुङ्गे धाराहरू देख्नुहुनेछ जसले तपाईँलाई मुक्तिनाथमा रहेका धाराहरूको झल्को दिन सक्छ।
धाराहरूको ठिक अगाडि रहेको भित्तामा ‘हाउस अफ थकाली’ कुँदिएको देख्न सकिन्छ जसले आगन्तुकहरूलाई यस मौलिक थकाली रेस्टुरेन्टमा स्वागत गर्दछ ।
आधिकारिक रूपमा जुलाई २०२४ मा खोलिएको यो नयाँ रेस्टुरेन्ट शहर भरि मौलाइरहेको थकाली भोजनालयहरूको बढ्दो लहरमा सामेल छ । र अन्य भोजनालयहरू जस्तै यसले पनि अरूभन्दा फरक रहने उद्देश्य राख्छ, चाहे त्यो खाना, माहोल अथवा सेवामार्फत नै किन नहोस् ।
माथिल्लो तल्लामा रहेको मुस्ताङको टुकुचे गाउँको ठूलो तस्बिरले थकालीको मौलिकतालाई झल्काउँछ । किनभने उक्त गाउँ थकालीहरूको थातथलो हो ।
स्वाद र स्वच्छतामा जोड
अक्सर रेष्टुरेन्टले खानाको गुणवत्ता र स्वादलाई कायम राख्नु चुनौतीपूर्ण हुन्छ । हाउस अफ थकालीले भने यी दुवैमा कुनै सम्झौता गरेका छैनन् । मौलिक स्वाद पस्कनका लागि रैथाने अन्न, दाल, मरमसला प्रयोग गर्दै आएको छ ।
त्यहाँ दुई वटा भान्सा छ, एउटामा मौलिक थकाली खान्की पाक्ने । अर्कोमा सामान्य खाना पाक्ने । सञ्चालक आयुष शेरचन भन्छन्, ‘छुट्टै भान्सा बनाउनाले हामीलाई खानाको गुणस्तरमा ध्यान दिन सजिलो हुन्छ।’
उनीहरूले आफ्नो रेस्टुरेन्टमा स्वाद पारखी राखेका छन् । मुवा भनेर चिनिने उनीसँग थकाली खानाको स्वाद बारे राम्रो ज्ञान छ। मुवाले चाखेर हुन्छ भनिसकेपछि मात्र परिकारहरू पस्किने गरिन्छ ।
त्यसैगरी हाउस अफ थकालीकी अर्की सञ्चालिका, प्रतीक्षा शेरचनले भान्छा विभाग सम्हाल्दै आइरहेकी छिन् । उनले पनि गुणस्तर र एकरूपता सुनिश्चित गर्नका लागि प्रत्येक परिकार आफैँ चाखेर जाँच गर्छिन् ।
‘खानामा एकरूपता कायम राख्न गाह्रो छ। हामीले खाना पकाउने उत्तम तरिकाहरू अपनाए पनि कच्चा पदार्थहरूको भिन्नताले स्वादलाई असर गर्न सक्छ’ प्रतीक्षा भन्छिन्।
‘कहिलेकाहीँ, खुर्सानी धेरै पिरो हुन्छ, र कहिलेकाहीँ हुँदैन, यसले प्रत्यक्ष रूपमा स्वादलाई असर गर्छ। त्यसैले हामी सुरुमा मसला तयार गर्छौँ र यदि राम्रो बनेन भने फेरि बनाउँछौँ।’
उनी थप्छिन्, ‘रेस्टुरेन्टका रेसिपीहरू उनीहरूको आफ्नै पारिवारिक भान्छामा प्रयोग हुने रेसिपीहरू जस्तै छन्। र रेस्टुरेन्टले सबै स्वच्छता मापदण्डहरू पनि पूरा गरेको छ।’
भरपर्दो ठाउँबाट तरकारीहरू आपूर्ति गरी कच्चा सामग्रीहरूको गुणस्तर कायम राख्न उनीहरू निजी फार्महरूसँग सहकार्य गर्ने प्रक्रियामा छन्।
हाउस अफ थकाली खोल्नु पछाडिको कथा
काठमाडौँमा जन्मे हुर्केका र बत्तीसपुतलीमा कलेज पनि चलाउँदै आएका आयुष शेरचनले रेस्टुरेन्ट क्षेत्रमा पछिल्लो समय उल्लेखनीय परिवर्तनहरू देखेका थिए ।
यस क्षेत्रलाई राम्ररी बुझेका उनले नजिकै स्थानीय ठाउँमा गुणस्तरीय थकाली रेस्टुरेन्टको आवश्यकता महसुस गरे। मुस्ताङको टुकुचे उनको पुर्ख्यौली थलो थियो र त्यस क्षेत्र थकाली खानाको उद्गमस्थलको रूपमा प्रख्यात पनि रहेकाले उनलाई यो उद्यम सुरु गर्न थप प्रेरणा मिल्यो।
यस रेस्टुरेन्टको साथ शेरचनले थकाली खानाको स्तर उकास्ने लक्ष्य राखेका छन्। ‘रातारात पैसा कमाउने प्रयास गर्नुको सट्टा हाम्रो लक्ष्य हाम्रा ग्राहकहरूको मन जित्नु र दीर्घकालीन रूपमा दिगो केही निर्माण गर्नु थियो’ उनी भन्छन्।
प्रशस्त परिकार र परिवारमैत्री ठाउँ
बेग्लाबेग्लै भान्सा कोठा र स्वाद पारखीको अनौठो अवधारणासँगै हाउस अफ थकालीमा बच्चाहरूका लागि बेग्लै कोठा पनि छुट्टाइएको छ, जहाँ आमाबाबु खाना खाँदै गर्दा बच्चाहरू भने आरामले खेल्न सक्छन्।
थकाली खानाको अतिरिक्त, रेस्टुरेन्टमा चिनियाँ, कन्टिनेन्टल, इन्डियन र अन्य परिकारहरू पनि पाइन्छ ।
अन्त्यमा प्रतीक्षालाई केही खानैपर्ने परिकारहरू बारे सोध्दा, उनले पहाडी बाख्राको सुकुटी (च्याङ्ग्रा), मटन मस्म, दाल र मटन खाना सेट सुझाइन् ।
‘सुरुमा, हामीले मटन मस्म राखेका थिएनौँ तर पछि धेरै ग्राहकहरूले यसलाई थप्न सुझाव दिए र अहिलेसम्म हामीले राम्रो प्रतिक्रिया पाइरहेका छौँ,’ प्रतीक्षा भन्छिन्, ‘हामीलाई थप परिकारहरू थप्न पनि सुझावहरू आइरहेका छन् र हामी यसमा काम गरिरहेका छौँ ।’
प्रतिक्रिया 4