+
+
Shares

उपत्यका विकास प्राधिकरणमा बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिको धर्ना

तीन वर्षमा ३० प्रतिशत मात्र काम भएको भन्दै आक्रोश

धर्ना कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ का वडाध्यक्षहरू, पूर्व प्रदेश सांसद तथा स्थानीय बासिन्दाहरू सहभागी भए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १२:०६

२२ वैशाख,काठमाडौं । कपन डुबान समस्या समाधानको माग गर्दै बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुले काठमाडौं उपत्यका विकास प्राधिकरणको अनामनगरस्थित कार्यालयमा विरोध प्रदर्शन गर्दै धर्ना दिएका छन् ।

नगर प्रमुख मिठाराम अधिकारी नेतृत्वको टोलीले कपन डुबान हुनुमा प्राधिकरण जिम्मेवार रहेको भन्दै धर्ना दिएको हो ।

नगरपालिकाका प्रवक्ता तथा १० नम्बर वडाध्यक्ष नवराज भट्टराईले उपत्यका विकास प्राधिकरण तथा काठमाडौं जिल्ला आयुक्तको कार्यालयले बुढानीलकण्ठ क्षेत्रका योजनाहरूमा ढिलासुस्ती र गैरजिम्मेवारपूर्ण रवैया देखाएकाले धर्ना दिइएको बताए । ‘विरोध कार्यक्रममा विशेष गरी कपन क्षेत्रको डुबान समस्या समाधानमा प्राधिकरणको चरम लापरबाहीप्रति आक्रोश व्यक्त गरेका हौं,’ भट्टराईले भने ।

नगरपालिकाका अनुसार कपन क्षेत्रमा डुबान समस्या हल गर्न झण्डै तीन वर्षअघि ठेक्का दिइएको आयोजनाले दुई वर्षमै सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म करिब ३० प्रतिशत मात्र काम भएको छ । ठेक्का सम्झौता गरेर प्राधिकरणले वास्तै नगर्दा काम नभएको भन्दै नगरका जनप्रतिनिधिहरु धर्नामा बस्न परेको उनले बताए ।

कपन क्षेत्रका नागरिकले डुबान, दुर्गन्ध र जनस्वास्थ्य समस्याको सास्ती व्यहोर्दै आएका छन् ।

धर्ना कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ का वडाध्यक्षहरू, पूर्व प्रदेश सांसद तथा स्थानीय बासिन्दाहरूको उपस्थिति थियो ।

नगर प्रमुख अधिकारीले नागरिकको अधिकार र जनसरोकारका विषयमा उदासीनता देखाउने कुनै पनि निकायको व्यवहार स्वीकार्य नहुने चेतावनी दिँदै, जबसम्म ठोस प्रतिबद्धता प्राप्त हुँदैन तबसम्म धर्ना जारी राखिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?