
२२ वैशाख, काठमाडौं । सकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद सूर्य थापाले अर्को सत्तारुढ दल कांग्रेसका असन्तुष्ट नेताहरूलाई आफ्नो कुरा आफ्नै पार्टी सभापतिसमक्ष राख्न सुझाएका छन् ।
गठबन्धन बनाउन भूमिका कसको थियो वा थिएन भन्ने भन्दा बनिसकेको सरकारलाई सफल बनाउने दायित्व सत्तारुढ दलको भएको उनको भनाइ छ ।
सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले भने, ‘सत्ता साझेदार दलहरूभित्र नेतृत्व तहमा कहिलेकाहीँ लोकप्रियतावादको दुस्प्रभावले पनि काम गरिरहेको देखिन्छ ।’
लोकप्रियतावाद कसरी प्रकट हुन्छ भन्ने दृष्टान्त नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक फेरिनु रहेको उनले बताए ।
ऊर्जामन्त्रीले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको र ऊर्जामन्त्री कांग्रेसकै तर्फबाट मन्त्री रहेको उनले बताए ।
‘ऊर्जामन्त्रीले नेपाली कांग्रेसको प्रतिनिधित्व गर्नुहुन्छ कि गर्नुहुन्न ?’ एमाले सांसद थापाको प्रश्न छ ।
गठबन्धन सरकारको अभ्यास र कार्य तारिका कस्तो हुन्छ भन्ने हेक्का राख्न पनि कांग्रेसका असन्तुष्ट नेताहरूलाई सांसद थापाको आग्रह छ ।
‘ऊर्जामन्त्रीको प्रस्तावमा उहाँ (कुलमान घिसिङ) हट्नुभयो । अनि गाली प्रधानमन्त्रीलाई ? दोष प्रधानमन्त्रीलाई ?’ एमाले सांसद थापाको प्रश्न छ ।
यी विषय प्रधानमन्त्रीमाथि दोष थोपरेर उम्किने विषय नरहेको ख्याल गर्न उनको आग्रह छ ।
कांग्रेसका असन्तुष्ट नेताहरूलाई एमाले सांसद थापाको सुझाव छ, ‘बरु यस्ता विषयमा आदरणीय सभापति ज्यूसँग पार्टीका तर्फबाट के समन्वय भएको हो भनेर मित्रहरूले तथ्य बुझेर जानकारी हासिल गर्नुपर्ने होइन र !’
सरकार बनाउन भूमिका थियो वा थिएन भन्ने आधारमा आफ्ना अभिव्यक्ति गठबन्धन दलका नेताहरूले दिन नहुने उनको आग्रह छ ।
उनी अगाडि भन्छन्, ‘कसैको यो गठबन्धन बनाउन योगदान हुन पनि सक्छ । थाहा, जानकारी नभइकन पनि बनेको हुन सक्ला । तर, यसलाई सफल बनाउने र निर्धारित अवधिपछि सरकारको नेतृत्व हस्तान्तरण गरेर अहिले भन्दा राम्रो काम गर्ने समय पनि आउँछ होइन र ?’
सरकार ७ बुँदे समझदारीमा बनेको उनले बताए । ७ बुँदेमा एमाले र कांग्रेसका बीचमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति छ । यसको मर्म अनुसार गठबन्धन अगाडि बढ्न आवश्यक रहेको उनले बताए ।
‘अस्थिरता मुर्दाबाद, स्थिरता जिन्दावाद, सत्ता साझेदारीलाई बलियो बनाऔं’ एमाले सांसद थापाले भनेका छन् ।
प्रतिक्रिया 4