
२२ वैशाख, काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक रहेको बताएका छन् । राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसका अवसरमा सोमबार बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।
उनले भने, ‘लोकतन्त्रको लाभ नागरिकसम्म पुर्याउन उनीहरूको सशक्तीकरण आवश्यक हुन्छ, जबसम्म सरकार र सार्वजनिक निकायको सूचनामा नागरिकको पहुँच सुनिश्चित हुँदैन, तबसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव हुन्न’
उनले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आएको बताए । ‘राज्यको लगानीमा जनताको निगरानी भएन भने मुलुकमा कुशासन मौलाउँछ, विधिको शासन अवरुद्ध हुन्छ र सरकार तथा सार्वजनिक निकायमा स्वेच्छाचारिता बढ्छ, लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन विश्वव्यापी रुपमा सूचनाको हकको आन्दोलनले व्यापकता पाउँदै आएको छ।’ उनले भने ।
राष्ट्रपति पौडेलले नागरिकको करबाट उठेको सार्वजनिक कोषबाट गरिने खर्च र सरकारको कामकारवाही नागरिकप्रति जवाफदेही हुनै पर्दछ भन्ने सिद्धान्तको जगमा सूचनामा नागरिकको पहुँचको अधिकारलाई आधुनिक लोकतान्त्रिक राज्यहरूले संरक्षण गरेको बताए । उनले भने, ‘जबसम्म सरकार र सार्वजनिक निकायको सूचनामा नागरिकको पहुँच सुनिश्चित हुँदैन, तबसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव हुँदैन।’
पारदर्शिता र जवाफदेहिता सहभागितामूलक लोकतन्त्रको आधारभूत आवश्यकता भएको उनको भनाइ थियो । उनले सार्वजनिक सूचनामा नागरिकको पहुँचले वेथिति र अनियमितता नियन्त्रण, स्वेच्छाचारिता र दण्डहिनताको अन्त्य, भ्रष्टाचारको रोकथाम र नियन्त्रण, सुशासनको प्रत्याभूति, विधिको शासनको सुनिश्चितता एवं मानव अधिकारको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘त्यही भएर भन्ने गरिन्छ सूचना नै लोकतन्त्रको प्राण वायु हो’, राष्ट्रपति पौडेलले भने ।
सूचनाको हकले सरकार र सार्वजनिक निकायको काम, कारवाहीप्रति नागरिकको परीक्षण र मूल्यांकन गराउने भन्दै उनले यसबाट नै सरकारप्रतिको विश्वास अभिवृद्धि हुनेमा जोड दिए। ‘यसकारण पनि सार्वजनिक निकायका काम, कारवाहीको परीक्षण र निगरानी गर्न सूचनाको हकको प्रभावकारी कार्यान्वयन अत्यावश्यक छ, सुसूचित समाजले मात्रै लोकतन्त्रलाई क्रियाशील गराउँछ भन्ने हामी सबैले मनन गरौं’, राष्ट्रपति पौडेलले भने ।
प्रतिक्रिया 4