
काठमाडौं । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने समयसीमा थप हुने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले लचिलो नीति अख्तियार गर्दै अमेरिकी कम्पनीलाई टिकटक बिक्री नगरिए पनि टिकटकमाथि प्रतिबन्ध लगाउनका लागि दिइएको यसअघिको समयसीमालाई लम्ब्याइने संकेत गरेका छन् ।
यसअघि ट्रम्प प्रशासनले अमेरिकास्थित टिकटकलाई त्यहाँको अमेरिकी कम्पनीलाई बिक्री गर्न आगामी १९ जुनसम्मको समयसीमा तोकेको थियो । अन्यथा टिकटकमाथि प्रतिबन्ध लगाइने बताएको थियो । तर उक्त समयसीमाभित्र पनि टिकटक बिक्री नभएमा थप ७५ दिने थपिने सम्भावना बढेको छ ।
एनबीसी टेलिभिजनको मिट द प्रेस कार्यक्रममा बोल्दै ट्रम्पले भने– म चाहन्छु कि (टिकटक खरीद बिक्रीको) यो जम्झौता होस् । मेरो हृदयमा टिकटकका प्रति नरम कोण छ किनकि मैले युवा मतदाताहरुको ३६ प्वाइन्ट जितेँ र त्यसका लागि मैले टिकटक प्लाटफर्ममै केन्द्रित गरेको थिएँ ।
यस्तो छ टिकटक प्रतिबन्धको इतिवृत्त
वास्तवमा सन् २०२३ मा अमेरिकी कंग्रेसले विदेशी शत्रुबाट नियन्त्रित एप्लिकेसन ऐन पारित गरेको थियो । उक्त कानून अन्तरगत टिकटकलाई राष्ट्रिय सुरक्षा तथा प्रयोगकर्ताहरुको गोपनीयताका लागि खतरा बताइएको थियो । तत् पश्चात् गत १९ जनवरी २०२५ का दिन अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो ।
यद्यपि ट्रम्पले नयाँ राष्ट्रपतिको रुपमा सत्ता सम्हाल्नु अघि नै ७५ दिनका लागि त्यस्तो प्रतिबन्ध फुकुवा गरेर टिकटकलाई बिक्रीका लागि थप समय दिएका थिए । उक्त समयसीमा अप्रिलमा पुनः बढाइएको थियो ।
अब ट्रम्पले तेश्रो पटक टिकटकलाई राहत दिने मनसायमा देखिएका छन् । उनले टिकटक एपलाई अमेरिकाको कुनै कम्पनीलाई बिक्री गर्ने कुरा गरेका थिए ताकि टिकटकको अमेरिकी कार्यसञ्चालन पूर्णरुपमा अमेरिकी लगानीकर्ताको हातमा जाओस् । तर चीनले यस्तो खरीदबिक्रीमाथि आपत्ति जनाएको छ र चिनियाँ कम्पनी बाइटडान्सलाई अमेरिकामा टिकटक बिक्री गर्ने कुरामा अस्थायी रुपमा रोक लगाएको छ ।
–एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4