
News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी प्रदेशकी सांसद गीता गुरुङले बेलायतबाट राजीनामा पठाएकी छन् ।
- गुरुङले आफ्नो राजीनामा पत्रमा जनताले तिरेको करबाट प्राप्त पारिश्रमिक लिन उपयुक्त नभएको उल्लेख गरेकी छन्।
- उनका श्रीमान् कैलाश गुरुङले अघिल्लो महिना जनता समाजवादी नेपालमा प्रवेश गरेका थिए।
३० वैशाख, काठमाडौं । जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङले बेलायतबाट राजीनामा पठाएको खुलेको छ । बेलायत रहेकी गुरुङले सभामुख तुलाराम घर्तिमगरलाई मंगलबार पत्र लेखेर राजीनामा पठाएकी हुन् ।
रुपन्देहीकी गुरुङलाई जनमतले समानुपातिक सांसद बनाएको थियो । सांसद पदबाट राजीनामा दिएकी गुरुङका श्रीमान् कैलाश गुरुङ अघिल्लो महिना उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालमा प्रवेश गरेका थिए । यादव भैरहवा गएर जनमतका नेता कार्यकर्तालाई जसपा नेपालमा स्वागत गरेका थिए । उनका श्रीमान् कैलाश जनमत पार्टीको कार्यकारणी सदस्य एवं आदिवासी महासंघको अध्यक्ष समेत थिए ।
जनमतका लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश गुप्ताले राजीनामा पठाएको सुनेको तर औपचारिक रुपमा जानकारी प्राप्त नभएको बताए । सभामुखसँग बुधबार भेटेर थप प्रक्रियाबारे छलफल हुने गुप्ताले जानकारी गराए ।
गुरुङसँग राजीनामा दिएको विषयमा सोधपुछ गर्न खोजिए पनि सम्भव हुन नसकेको गुप्ताले बताए । उनका अनुसार, गुरुङको संसदीय भूमिकाप्रति जनमतका पार्टी नेताहरू असन्तुष्ट थिए ।
बेलायतमा बस्ने हुँदा पार्टी र संसदप्रति जिम्मेवारी बहन गर्न नसकेको बुझाइ जनमतमा छ । गुप्ताले अनलाइनखबरसँग भने, ‘उहाँ संसद्मा २०/३० प्रतिशत पनि आउनु भएको छैन । दुःख गरेर पार्टी बनाउनेलाई सांसद पदको महत्व थाहा हुन्छ ।’
प्रदेशसभा सदस्य गुरुङले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नभएको राजीनामा पत्रमा लेखिकी छन् ।
‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘…जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’
जनमतका लुम्बिनी प्रदेश सभामा तीन सांसद छन् ।
प्रतिक्रिया 4