+
+
Shares
सानदार सामुदायिक स्कुल :

देशभरकै उत्कृष्ट मावि तुलसीपुर सेन्टर

शैक्षिक गुणस्तर, प्रविधिको उपयोग, अभिभावक सहभागिता, भौतिक पूर्वाधार र कुशल नेतृत्वको संयोजनबाट देशभरकै उत्कृष्ट सामुदायिक स्कूल बन्न सफल भएको छ, मावि तुलसीपुर सेन्टर ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते २२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङको तुलसीपुरमा अवस्थित ‘माध्यमिक विद्यालय तुलसीपुर सेन्टर’ (श्री मावि तुलसीपुर सेन्टर) देशभरका हजारौं विद्यालयलाई उछिन्दै प्रथम भएर सरकारबाट पुरस्कृत भयो ।
  • तुलसीपुर सेन्टर विद्यालयले उत्कृष्ट नतिजा र प्रविधिको प्रयोगमार्फत आफ्नो अलग पहिचान बनाएको छ।
  • विद्यालयको नेतृत्व र अभिभावकको सक्रिय सहभागिताले प्रगति सम्भव भएको हो।

सामुदायिक विद्यालयलाई पहिले पनि सजिलो थिएन, तर यो देश हाँक्ने धेरै मस्तिष्क तिनैले उत्तीर्ण गरेर पठाए । आधुनिक नेपालको जग सामुदायिक स्कूलमै खनिएको थियो भन्न सकिन्छ ।

तर यस बीचमा स्थिति यसरी बदलियो कि अभिभावकहरू आफ्ना बच्चालाई हत्तपत्त सरकारी विद्यालयमा पढाउन मन गर्दैनन् । यस्तो लाग्छ, सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास धर्मराएको छ । अझ सरकारी विद्यालयको कमजोर नतिजाप्रति प्रधानमन्त्रीले सार्वजनिक मञ्चबाट टिप्पणी गरिरहेको सुनिन्छ ।

यस वर्ष त सरकारले नै नीति तथा कार्यक्रममै सामुदायिक शिक्षा सुधार्न निजी विद्यालयसँग साझेदारी गर्ने घोषणा गर्‍यो । संविधान बनेको ९ वर्ष भइसक्यो तर शिक्षा ऐन नै अहिलेसम्म बनिसकेको छैन ।

यावत् प्रतिकूलताका बाबजुद देशमा केही यस्ता विद्यालय पनि छन् जसले हजारौं विद्यार्थी पढाइरहेका र उत्कृष्ट नतिजा पनि दिइरहेका छन् । यो त्यस्ता केही उदाहरणीय सरकारी विद्यालयको स्टोरी सेरिज हो, जहाँ हामी कम्तीमा सातै प्रदेशबाट केही नमूना सरकारी स्कूलको रिपोर्टिङ गर्नेछौं ।  – सम्पादक

काठमाडौं । दाङको तुलसीपुरमा अवस्थित ‘माध्यमिक विद्यालय तुलसीपुर सेन्टर’ (श्री मावि तुलसीपुर सेन्टर) देशभरका हजारौं विद्यालयलाई उछिन्दै प्रथम भएर सरकारबाट पुरस्कृत भयो । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को नतिजाका आधारमा उत्कृष्ट घोषित विद्यालयलाई २०८१ असोज २ गतेको राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नगद ३ लाख, शिल्ड, ध्वजा र प्रमाणपत्र प्रदान गरे ।

मावि तुलसीपुर सेन्टरको यो सफलता शैक्षिक गुणस्तर, प्रविधिको उपयोग, अभिभावक सहभागिता, भौतिक पूर्वाधार र कुशल नेतृत्वको संयोजन मार्फत सम्भव भएको हो । सामुदायिक विद्यालयहरूमा उदाहरणीय बन्न सफल यो विद्यालयको सफलताको पछाडि दशकौंदेखिको संघर्षको कथा छ ।

‘आदर्श बालबालिका’बाट शुरू भएको यात्रा

दाङको तुलसीपुरमा सबैभन्दा पुरानो सरकारी स्कूलको रूपमा महेन्द्र मावि थियो । यो स्कूल २०१४ सालमा स्थापना भएको थियो । तर तत्कालीन अञ्चलाधीश कार्यालयका कर्मचारीका छोराछोरीलाई पढाउने उद्देश्यले २०२७ सालमा तुलसीपुरमै ‘आदर्श बालबालिका’ नामको विद्यालय खोलियो । अरनिको मैदानको समीक्षालयबाट विद्यालय शुरू भयो ।

विद्यालयको नेतृत्व तत्कालीन अञ्चलाधीश नन्दबहादुर मल्ल आफैंले सम्हाले । त्यसपछि चन्द्रमान थकाली लगायतले नेतृत्व गरे । अरनिको मैदानको समीक्षालयबाट २०३१ सालमा जुम्रीगाउँ (हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६) मा सारियो । विद्यालयको नाम ‘तुलसीपुर सेन्टर’ राखियो ।

हाल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेल र प्रधानाध्यापक (प्रअ) भागवत पौडेलको काँधमा विद्यालय सञ्चालनको मुख्य जिम्मेवारी छ । यो अवधिमा विद्यालयको सान र सौकत चुलिंदै तुलसीपुरभरिको मात्रै होइन, देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ ।

शैक्षिक र प्राविधिक कार्यक्रम

विद्यालयमा हाल कक्षा ११ र १२ मा व्यवस्थापन, विज्ञान तथा इलेक्ट्रिकल र सूचनाप्रविधि लगायत संकायहरूमा नेपाली र अंग्रेजी माध्यमबाट पढाइ हुन्छ । साथै, स्वीस सरकारको सहयोगमा दुईवर्षे प्रि–डिप्लोमा प्राविधिक शिक्षा पनि प्रदान गर्दै आएको छ ।

‘आईटीमा देशकै उत्कृष्ट नतिजा आउँछ । त्यसको समेत आधारमा शिक्षा मन्त्रालयबाट सम्मानित भयौं’, प्रअ पौडेलले भने ।

विद्यालयले बिहान, दिउँसो र साँझ गरी तीन सत्रमा कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ, जसले विद्यार्थीहरूलाई अध्ययनसँगै रोजगारी गर्ने अवसर पनि प्रदान गरेको छ ।

विद्यार्थीहरूलाई संगीत, मार्शल आर्ट, उसु लगायतको निःशुल्क प्रशिक्षण दिइन्छ । कुलतमा नलागून् भनेर सबै कक्षाका विद्यार्थीलाई काउन्सिलिङ गरिन्छ । त्यसका लागि काउन्सिलरको छुट्टै प्रबन्ध गरिएको छ ।

१०–१० वटा क्लास बाँडेर को–अर्डिनेटर व्यवस्था गरिएको छ । प्रिन्सिपल नहुँदा पनि को–अर्डिनेटरबाट स्वचालित रूपमा विद्यालय चल्छ ।

प्रविधिको उपयोग र अभिभावक सहभागिता

विद्यालयले अभिभावकहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न मोबाइल एप मार्फत विद्यार्थीहरूको उपस्थिति, गृहकार्य, परीक्षा नतिजा लगायत जानकारी उपलब्ध गराउने व्यवस्था गरेको छ । यसले अभिभावकहरूलाई विद्यालयको गतिविधिमा प्रत्यक्ष सहभागी गराएको छ ।

हरेक विद्यार्थीलाई डायरीको व्यवस्था गरिएको छ । उनीहरूले शिक्षक तथा कर्मचारीहरूको राम्रो–नराम्रो पक्ष ‘नोट’ गर्छन् । त्यसमा यदि कसैको कम्प्लेन आएमा तत्काल समस्या समाधानको पहल गरिन्छ । शिक्षक कर्मचारीहरू गेटबाट भित्र–बाहिर गएको सबै रेकर्ड राखिन्छ ।

अरू सरकारी विद्यालयको अवस्था दयनीय हुँदा पनि मावि तुलसीपुर सेन्टरले प्रगति हासिल गर्नुमा विद्यालय नेतृत्व र अभिभावकको सकारात्मक भूमिका रहेको प्रधानाध्यापक पौडेल बताउँछन् ।

सीसीटीभीदेखि एसीसम्मका कक्षाकोठा

कुनै बेला सामान्य तारबार समेत नभएको विद्यालयमा अहिले चारैतिर पक्की पर्खालले घेरिएको छ । ६८ वटा कक्षा कोठा भएका भवन छन् । शौचालय नै २५ वटा छन् । १४ कोठे भवन निर्माणाधीन छ ।

‘संघीय मेगा स्कूलको रूपमा छनोटमा परेर २० करोड बजेट पायौं, त्यसबाट २०७७/७८ देखि भौतिक पूर्वाधारहरू निर्माण भइरहेका छन्’, प्रअ पौडेलले भने ।

१७ वटा कक्षाकोठामा एसी जडान गरिएको छ । स्मार्ट डिजिटल बोर्ड, प्रोजेक्टर, कम्प्युटर लगायतका सुविधा छन् । सबै कक्षाकोठामा खानेपानीको लाइन विस्तार गरिएको छ ।

२०७३ सालदेखि नै ८० वटा सीसीटीभी जडान गरेर विद्यालयको नियमित निगरानी गरिन्छ । ती सीसीटीभीमा तीन महिना अघिसम्मको ब्याकअप हुन्छ ।

सक्नेलाई शुल्क, नसक्नेलाई निःशुल्क

विद्यार्थीहरूलाई नेपाली माध्यममा पढ्ने कि अंग्रेजीमा भन्ने अप्सन छ । ५ कक्षासम्म पढाइ पूर्ण रुपमा निःशुल्क छ । ६ कक्षादेखि भने शुल्क लिने गरिन्छ । ‘नेपालीमा पढ्न चाहनेसँग ३०० र अंग्रेजीमा पढ्न चाहनेलाई ८०० रुपैयाँ शुल्क लिइन्छ’, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पौडेल भन्छन् ।

विद्यालयको प्राङ्गण ।

यसैगरी १० कक्षामा नेपालीमा पढ्नेसँग मासिक ५०० र अंग्रेजीमा पढ्नेसँग १२०० शुल्क लिइने उनी बताउँछन् । सरकारको नियम अनुसार सरकारी स्कूलले विद्यार्थी र अभिभावकबाट शुल्क लिन पाउँदैनन् । तर विद्यालय व्यवस्थापन समिति अध्यक्ष पौडेल भने आफूहरूले ‘शुल्क’ नभई ‘सहयोग’ लिएको जिकिर गर्छन् । यो अनिवार्य नभई स्वेच्छिक भएको उनको भनाइ छ ।

‘कसैले सहयोग गर्छौं भन्दा त लिन पाइयो नि’ पौडेल भन्छन्, ‘कसैले म सहयोग गर्न सक्दिनँ भन्यो भने उसलाई हामीले उल्टै विद्यालय पोशाक, अतिरिक्त क्रियाकलाप र पढाइमा सहयोग गर्छौं ।’

विद्यालय परिवारका छोराछोरी पनि त्यही स्कुलमा

तुलसीपुर मावि सेन्टरमा शिशुदेखि डिप्लोमासम्मका ५९ वटा कक्षा हुन्छन् । विद्यार्थीको चाप थेग्न नसकेर इन्ट्रान्स लिएर मात्र विद्यार्थी भर्ना लिने गरिन्छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष पौडेलले सरकारी कार्यालयका हाकिमदेखि विद्यालयका शिक्षक तथा कर्मचारी र सर्वसाधारणको पहिलो रोजाइ मावि तुलसीपुर सेन्टर नै पर्ने गरेको बताए ।

२०८१ सालदेखि विद्यालयका शिक्षक तथा कर्मचारीहरूले अनिवार्य रूपमा आफ्ना छोराछोरीलाई त्यही स्कूलमा पढाउनुपर्ने नियम लागू गरिएको छ । ‘दुई जना शिक्षकले यहाँ छोराछोरी पढाउन मान्नुभएन, त्यसोभए तपाईंहरू यहाँबाट जान सक्नुहुन्छ भनेर बिदा नै गरियो’, प्रअ पौडेलले भने ।

बालबालिकाहरूलाई स्याहार र पोषणयुक्त खानेकुराको व्यवस्था गर्न गाह्रो भएपछि यस वर्षदेखि ३ कक्षादेखि तलका बच्चाबच्चीलाई भने बाहिर पढाउन छुट दिइएको छ ।

पौडेल दाजुभाइको नेतृत्वमा भएको परिवर्तन

विद्यालय व्यवस्थापन समिति अध्यक्ष लेखतराम पौडेल (दायाँ) र प्रधानाध्यापक भागवत पौडेल

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेल र प्रधानाध्यापक भागवत पौडेलको नेतृत्वमा विद्यालयले उल्लेखनीय परिवर्तनको यात्रा शुरू गरेको हो । उनीहरू नाताले दाजु–भाइ हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेल वैकल्पिक ऊर्जा प्रवर्द्धन कार्यालयको जागिर छोडेर तुलसीपुरस्थित घर फर्किएर विद्यालयको नेतृत्व सम्हालेका थिए । आफूले कखरा चिनेको विद्यालयमा उनले आफ्ना छोराछोरी पनि पढाउन शुरू गरे ।

त्यसपछि विद्यालयका सबै शिक्षक तथा कर्मचारीहरूलाई आफ्ना छोराछोरी पनि यही विद्यालयमै पढाउनुपर्ने नियम लागू गराए । त्यसपछि उक्लिन शुरू गरेको प्रगतिको ग्राफ अहिलेसम्म पनि धनात्मक नै छ ।

यसैगरी प्रधानाध्यापक पौडेल मावि द्वितीय तहको गणित शिक्षक हुन् । शुरूमा युनिसेफमा जागिर खाएका उनी त्यसपछि ग्रामीण विकास बैंकको कर्मचारी हुँदै शिक्षक सेवामा आएका थिए ।

उनी २०६६ सालमा प्रधानाध्यापक भएर आउँदा माविसम्म जम्मा २३० विद्यार्थी र ७ जना शिक्षक थिए । शिक्षक दरबन्दी प्राविको मात्र थियो । भौतिक पूर्वाधार कमजोर थियो । सामान्य तारबार समेत थिएन । खानेपानीको व्यवस्था थिएन । विद्यालयको खातामा एक रुपैयाँ पनि बचत थिएन ।

‘म प्रअ भएर आउँदा प्राविसम्मको मात्र दरबन्दी थियो । निजी स्रोतबाट १३ जना कर्मचारी थिए’ प्रधानाध्यापक पौडेल प्रगति सुनाउँछन्, ‘अहिले माविको मान्यता पाएर ४४ जनाको सरकारी दरबन्दी छ । १०१ जना स्टाफ छन् । विद्यार्थी संख्या २ हजार ७०० छ । करिब २ करोड रुपैयाँ बैंक ब्यालेन्स छ । उपमहानगरपालिकालाई वार्षिक २० लाख लिने गरी विद्यालयको जग्गा भाडामा दिएका छौं ।’ नातावाद–कृपावाद र जागिरे मानसिकता त्यागे मात्रै पनि विद्यालयको प्रगति शुरू हुने उनको अनुभव छ ।

‘स्किल्ड शिक्षकको व्यवस्था पहिलो शर्त हो, दबाब/प्रभावले गलत मान्छे कुनै हालतमा प्रवेश गराउनुहुँदैन’ प्रअ पौडेल विद्यालयले प्रगति हासिल गर्नुको कारण सुनाउँछन्, ‘प्रिन्सिपल वा त्यहाँको नेतृत्वमा जो हुन्छ, उसको स्पष्ट योजना हुनुपर्छ र सरकारी मानसिकता त्याग्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?