
News Summary
Generated by OK AI. Editorially reviewed.- किसान संगठनहरूले भूमि बैंक खारेज गर्न माग गर्दै सशक्त आन्दोलनको चेतावनी दिए।
- कार्यक्रममा किसानहरूले भूमि बैंक विदेशी र दलाल पूँजीपतिहरूको षडयन्त्र भएको आरोप लगाए।
- अखिल नेपाल किसान महासंघले सरकारको भूमि र उद्योग निजीकरणको कडा विरोध गर्ने घोषणा गरे।
४ जेठ, काठमाडौं । ६ कम्युनिस्ट पार्टी निकट किसान संगठनहरु आबद्ध संयुक्त किसान सघर्ष समितिले भूमि बैंक खारेज गर्न माग गरेको छ । खारेज नगरे सशक्त आन्दोलनको गर्ने चेतावनी पनि दिएको छ ।
आइतबार काठमाडौंको संवाद डबलीमा कार्यक्रम गरी किसान संगठनहरुले भूमि बैंकको अवधारणालाई ग्रामिण क्षेत्रका किसानहरुको जमिन खोसेर विदेशी बहुराष्ट्रिय कम्पनी र स्वदेशी दलाल पुँजीपतिहरुलाई सुम्पने षडयन्त्र भएको जिकिर गरे ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष तथा संविधानसभा सदस्य चित्रबहादुर श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले भूमि बैंक र उद्योगहरुको निजीकरण गरे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिए । भूमि नेपालीहरूको बाँच्ने आधार मात्र नभई संस्कृति र गौरवको पनि विषय भएको भन्दै उनले भूमि बैंकविरुद्ध सबै मिलेर संघर्ष गर्नुपर्ने बताए ।
अखिल नेपाल किसान महासंघ (अन्फा) का इन्चार्ज बलराम बास्कोटाले कांग्रेस–एमाले गठबन्धनको वर्तमान सरकार किसान विरोधी भएको आरोप लगाए ।
अखिल नेपाल किसा महासंघ (अप्फा) अध्यक्ष भैरवराज रेग्मीले किसानको गुम्न लागेको अधिकार रक्षाका लागि संसद्देखि सडकसम्म आन्दोलन चर्काउनु पर्ने धारणा राखे ।
क्रान्तिकारी किसान महासंघ नेपालका अध्यक्ष सीताराम तामाङले वर्तमान सरकारले देशका सबै स्रोत र साधन विदेशीलाई सम्पन लागेको आरोप लगाउँदै किसान संघर्ष जरुरी भएको बताए ।
अखिल नेपाल किसान युनियनका इन्चार्ज लोकनारायण सुवेदीले किसानहरू देशका जीवनदायिनी शक्ति भएको भन्दै उनीहरूको हकहित र अधिकारको रक्षा गर्नु सबैको दायित्व भएको बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य रणेन्द्र बराइली, मिना तामाङ, अखिल नेपाल किसान महासंघका संयोजक बलदेव चौधरी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का महासचिव नहेन्द्र खड्का लगायतले पनि भूमि बैंक नवउदारवादी नीति अन्तरगतको कार्यक्रम भएको भन्दै यसले किसानहरुको जमिन खोसेर दलाल पूँजीपतिहरूलाई सुम्पने जिकिर गरे ।
प्रतिक्रिया 4