+
+
Shares

अल्फा मोटिभ प्रालिसहित ६ उद्योगलाई ४ लाख ५५ हजार जरिबाना

अनुगमन क्रममा विभागले काठमाडौं महानगरपालिका–११ स्थित अल्फा मोटिभ प्रालिलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ उद्योगलाई ४ लाख ५५ हजार रुपैयाँ जरिबाना तिराएको छ।
  • अनुगमन क्रममा विभागले काठमाडौं र ललितपुरका उद्योग तथा फर्मलाई जरिबाना तिराएको हो।
  • विभागले बजार पारदर्शी बनाउन र उपभोक्तालाई ठगिनबाट जोगाउन अनुगमन तीव्र बनाएको जनाएको छ।

५ जेठ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार ६ उद्योग तथा फर्मलाई ४ लाख ५५ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले सोमबार १५ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो ।

अनुगमन क्रममा विभागले काठमाडौं महानगरपालिका–११ स्थित अल्फा मोटिभ प्रालिलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

अल्फाले मोटिभले अटो पार्ट्समा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको जनाएको छ ।

यस्तै विभागको अनुगमन टोलीले काठमाडौं महानगरपालिका–११ कै वाटभोल्ट हाउस प्रालिलाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ । उक्त इलेक्ट्रोनिक हाउसले पनि रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि जरिबाना तिराएको हो ।

त्यस्तै काठमाडौं महानगरपालिका–१२ को अर्पण ट्रेडिङ प्रालिलाई अनुगमनमा सहयोग नगरेको भन्दै २० हजार रुपैयाँ, ललितपुर महानगरपालिका–९ को पाटन खाद्य भण्डार, काठमाडौं महानगरपालिका–४ को स्मार्ट स्टोर र काठमाडौं महानगरपालिका–११ को इन्टरनेसनल मेसिनरी एन्ड इलेक्ट्रिक सेन्टरलाई खरिद बिलबिजक नराखेको भन्दै समान १०–१० हजार रुपैयाँ जरिबाना तिराएको विभागले जानकारी दिएको छ ।

यसैगरी विभागको अनुगमन टोलीले टोखा नगरपालिका–८ को काठमाडौं युरो स्कुलमा पनि अनुगमन गरेको छ । उक्त स्कुललाई विभागले व्यवसायसँग सम्बन्धित कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

यतिबेला विभागले बजार पारदर्शी बनाउन र उपभोक्तालाई ठगिनबाट जोगाउन एमआरपी सहित लेबलले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै बजार अनुगमन तीव्र बनाएको छ ।

अनुगमनमा विभागले दैनिक एमआरपी लेबल नलगाउने र आफ्ना उत्पादनमा रिलेबलिङ गर्ने, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गर्ने उद्योगी व्यवसायीलाई २ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिबाना तिराउँदै आएको छ ।

विभागले दैनिक जरिबाना तिराउन थालेपछि उद्योगी तथा व्यवसायीले चर्को विरोध जनाउन थालेका छन् ।

यदि विभागले अहिलेकै गतिमा बजार अनुगमन गर्ने हो र व्यवसायीलाई दैनिक जरिबाना तिराउने हो भने उद्योगी–व्यवसायीले उद्योगको चाबी सरकारलाई बुझाउने चेतावनी समेत दिएका छन् ।

तर, विभागले भने आफ्नो दैनिक अनुगमन नरोकिने र अनुगमन अझै तीव्र पारिने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?