+
+
Shares

मुगुबाट सगरमाथा : अक्कलको सफल आरोहण

वसन्त रानाभाट वसन्त रानाभाट
२०८२ जेठ ७ गते ६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च शिखर सगरमाथामा अक्कल बोहराले पाइला टेके, यो व्यक्तिगत विजय नभई सम्पूर्ण नेपालीहरूको सफलता भएको उनको भनाइ छ ।
  • अक्कल बोहरा, पूर्व म्याराथन धावक र समाजसेवी, स्पेनमा बसोबास गर्दै नेपाली समाजमा प्रेरणादायक व्यक्तित्व हुन्।
  • उनीले आफ्नो आरोहण र सामाजिक कार्यमार्फत नेपालीपन र कर्णालीको सन्देश प्रवाह गका छन्।

७ जेठ,  बार्सिलोना । २०२५ मे २०, बिहान ८:५८ बजे।धर्तीको सर्वोच्च शिखर सगरमाथामा जब अक्कल बोहराले पाइला टेके । त्यो क्षण केवल व्यक्तिगत विजय थिएन-त्यो मुगुको थार्प गाउँदेखि संसारको सर्वोच्च चुचुरोसम्मको अविश्वसनीय यात्राको चरम विन्दु थियो ।

मुगुको छायानाथ रारा नगरपालिका-१३ स्थित थार्प गाउँमा जन्मेका अक्कलले भुईंबाट उठेर हिमाल चुम्ने सपना बोकेका थिए । त्यो सपना अब साकार भएको छ । उनले केवल हिमाल चुमेनन्, जीवनभर बोकिराखेको सपना, जन्मभूमिप्रतिको माया र कर्णालीको सन्देश पनि सगरमाथाको चुचुरोसम्म पुर्‍याए ।

४७ वर्षीय अक्कल बोहरा-पूर्व म्याराथन धावक, स्पेनमा बसोबास गर्ने समाजसेवी र अनगिन्ती नेपालीका प्रेरणास्रोत हुन् । बाल्यकालमा काठमाडौं ल्याइएपछि किताबभन्दा पहिले जुठा भाँडा माझ्नुपर्ने, कलम समाउनुअघि कुचो समाउनुपर्ने संघर्षपूर्ण जीवनबाट उठेर आज उनको जीवन एउटा प्रेरणादायी कथा बनेको छ ।

विद्यालयको आँगनभन्दा बढी भान्साको कुनामा बिताएको बाल्यकालपछि अक्कल भारततर्फ लागे । त्यहाँ उनले खेतबारीदेखि भारी बोक्ने काम गरे । पछि भारतीय सेनामा भर्ती भए । तर, राष्ट्रगान गाउने बेला ‘आफू गुमाएको’ तीव्र अनुभूति भएपछि स्वदेश फर्किए । त्यसपछि उनी सशस्त्र प्रहरी बलमा आबद्ध भए र त्यहीँबाट म्याराथन धावकका रूपमा उदाए ।

अक्कलले क्याम्प दुईबाट अनलाइनखबरसँग कुराकारी गर्दै भने, ‘यो मेरो मात्र विजय होइन, सम्पूर्ण नेपालीहरूको, विशेषगरी कर्णालीको आवाज हो ।’

उनका लागि दौड केवल खेल थिएन,त्यो जीवनको बाटो थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्याराथनमा सफलतापूर्वक भाग लिंदै आत्मबल बढाउँदै लगे-त्यही आत्मबलले उनलाई सगरमाथा चढ्न सक्षम बनायो ।पछिल्ला १८ वर्षदेखि स्पेनको कोष्टा ब्लाङ्कास्थित आल्भिर शहरमा बस्दै आएका अक्कलले ‘रारा कफी बार रेस्टुरेन्ट’ सञ्चालन गर्दै आएका छन् । भित्ताभरि नेपालको झल्को दिने सजावट, आफैंले जितेका पदकहरू र सामाजिक योगदान झल्काउने तस्वीरहरूले त्यो क्याफेलाई नेपालीपनको प्रतीक बनाएका छन्।

उनी व्यवसायमै सीमित भएनन् । समाजसेवामा पनि उत्तिकै समर्पित अक्कलले ‘अक्कल कोपिला फाउन्डेसन’ मार्फत भूकम्प, मिर्गौला पीडा, बाढी, आगलागी र विपन्न अवस्थाका लागि झन्डै दुई करोड रुपैयाँभन्दा बढी सहयोग गरेका छन् । आफ्नो गाउँमा बाटो, विद्यालय र अन्य पूर्वाधारमा समेत उनले महत्वपूर्ण भूमिका खेलेका छन् ।

सगरमाथा आरोहणको अभ्यासस्वरूप उनले मेरापिक हिमाल सफलतापूर्वक चढेका थिए । अनुभवी शेर्पा मिग्मा डोक्पाको साथमा उनले आफ्नो आरोहण सफलतापूर्वक सम्पन्न गरे । ‘कर्णालीको पानी जस्तै सफा र सुन्दर मेरो देशको माया लिएर म सगरमाथामा पुगें’, अक्कलले क्याम्प दुईबाट अनलाइनखबरसँग कुराकारी गर्दै भने, ‘यो मेरो मात्र विजय होइन, सम्पूर्ण नेपालीहरूको, विशेषगरी कर्णालीको आवाज हो ।’

लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?