
News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विश्व स्वास्थ्य सम्मेलनमा विश्वव्यापी सहकार्य र स्रोत जोड्न आवश्यकतामा जोड दिए।
- उनले नेपालले मातृशिशु मृत्युदर न्यूनीकरण, पोलियो उन्मुलन र स्वास्थ्य सेवा विस्तारमा सफलता हासिल गरेको जानकारी दिए।
- मन्त्री पौडेलले जलवायु परिवर्तन र वृद्ध जनसंख्या जस्ता चुनौतीहरू सामना गर्न विश्व समुदायसँग सहकार्य गर्न आग्रह गरे।
७ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैमा स्वास्थ्य पहुँचका लागि स्रोत र प्राथमिकता जोड्दै विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।
स्विट्जरल्याण्डको जेनेभामा जारी ७८औं विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गर्दै उनले विद्यमान स्वास्थ्य चुनौतीले सामाना गर्ने नवीन समाधानको खोजी गरिरहेको भन्दै यसमा विश्व स्वास्थ्य संगठनको भूमिका अझ महत्वपूर्ण देखिएको उल्लेख गरे ।
मन्त्री पौडेलले महामारी नियन्त्रण पूर्वतयारीका लागि समतामूलक स्वास्थ्य सेवा र दह्रिलो विश्वव्यापी सहकार्य आवश्यक भन्दै महामारी नियन्त्रणका लागि संगठनले गरेको सम्झौताको स्वागत गरे ।
मन्त्री पौडेलले यसका लागि सदस्यहरुबीच बलियो सहकार्यका लागि आह्वान समेत गरे ।
मन्त्री प्रदीप पौडेलले नेपालले मातृ शिशु मृत्युदर न्यूनीकरणमा तथा पोलियो उन्मुलनमा प्राप्त गरेको सफलताबारे विश्व समुदायलाई जानकारी गराएका छन् ।
नेपालले खोपको पहुँच विस्तारमा समेत प्रगति गरेको उल्लेख गर्दै पोलियो उन्मुलनसँगै सबै तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको उल्लेख गरेका छन् । ‘महिला सामाजिक स्वास्थ्य स्वयंसेविका तथा विद्यालय स्वास्थ्य कार्यक्रममार्फत सकारात्मक नतिजा प्राप्त गरेका छौं,’ मन्त्री पौडेलले भने ।
सूर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा नेपालले पहल थालेको भन्दै मन्त्री पौडेलले यसले सकारात्मक नतिजा दिने विश्वास गरे ।
नेपालले स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको चर्चा गर्दै उनले निरोधात्मक स्वास्थ्य सेवा, महामारी पूर्वतयारी तथा डिजिटल स्वास्थ्यमा समेत जोड दिएको मन्त्री पौडेलले उल्लेख गरे ।
नेपालसामु बढिरहेको वृद्ध जनसंख्या, न्यून जन्मदर, आन्तरिक बसाईसराई तथा नसर्ने रोग र मानसिक रोगजस्ता स्वास्थ्य चुनौती खडा भएकाले यसको सामनाका लागि विश्व समुदायसँग सहकार्यका लागि आग्रह गरे ।
मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण समेत नेपाली स्वास्थ्य क्षेत्र प्रभावित भएको प्रसँग उठाए । उनले पौडेलले जलवायु स्वास्थ्य विषयमा नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने समेत घोषणा गरे ।
जेनेभामा रहेका मन्त्री पौडेलले विभिन्न देशका उच्चस्तरीय स्वास्थ्य अधिकारीहरुसँग नेपालको स्वास्थ्य सेवा सुधारबारे सहकार्यको प्रस्ताव गर्दै वार्ता गरिरहेका छन् ।
प्रतिक्रिया 4