News Summary
Generated by OK AI. Editorially reviewed.- मध्यपुर युथ एसोसिएसन र च्यासल युथ क्लबले शहीद स्मारक बी डिभिजन लिगमा जित हासिल गरेका छन्।
- मध्यपुरले नयाँबस्ती युथ क्लबलाई र च्यासलले झापा फुटबल क्लबलाई हरायो।
- हेड टु हेडको आधारमा च्यासल चौथो र मध्यपुर पाँचौं स्थानमा रह्यो।
७ जेठ, काठमाडौं । मध्यपुर युथ एसोसिएसन र च्यासल युथ क्लबले जितसहित शहीद स्मारक बी डिभिजन लिग सकाएका छन् । लिग अन्तर्गत बुधबार भएको खेलमा मध्यपुरले रेलिगेसनमा परिसकेको नयाँबस्ती युथ क्लबलाई ४-० को फराकिलो अन्तरले हरायो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मध्यपुरका लागि विज्ञान खड्काले दुई तथा राहुल खड्का र साहिल केसीले समान एक गोल गरे ।
विज्ञानले ३८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । दुई मिनेटपछि विज्ञानले नै व्यक्तिगत दोस्रो गोल गरे । यस्तै राहुलले ६६औं र साहिलले ७९औं मिनेटमा गोल थपे ।
यसैगरी एन्फा कम्प्लेक्समै भएको दोस्रो खेलमा च्यासलले झापा फुटबल क्लबलाई २-० ले हरायो । च्यासलका लागि दुवै गोल आशिष थारुले गरे । आशिषले ३८औं मिनेटमा गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । उनले ७५औं मिनेटमा दोस्रो गोल गरे ।
आजको दुई खेलको नतिजापछि विजयी टिम च्यासल र मध्यपुरसहित पराजित झापाको समान १८ अंक भएको छ । तीनै टिमले समान ५ खेल जित्दा ३ मा बराबरी खेलेका थिए भने ५ खेलमा पराजित भएका थिए ।
गोलअन्तरमा झापा अघि रहेपनि बी डिभिजन लिगको नियमावली अनुसार बराबर अंक भए हेड टु हेडको आधारमा स्थान निर्धारण गर्ने प्रावधान छ । त्यसैले च्यासल अघि रहँदै चौथो स्थानमा उक्लेको छ भने मध्यपुर पाँचौ स्थानमा उल्केको छ । पराजित झापा फुटबल क्लब छैटौं स्थानमा झरेको छ ।
यस्तै मध्यपुरसँग पराजित नयाँबस्तीले भने ५ अंकसहित पूछारमा रहेर लिग अन्त्य गरेको छ । नयाँबस्तीले यस सिजन जम्मा १ खेल जित्दा २ बराबरी खेलेको थियो भने सर्वाधिक ९ खेलमा पराजित भएको थियो ।
प्रतिक्रिया 4