
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
- सुमन पुरीले सर्वसम्मतिका प्रयास असफल भएपछि मतदानमार्फत नेतृत्व चयन हुने बताए।
- उहाँले भने, 'हामी अहिले आन्तरिक प्रतिस्पर्धा गर्ने हो, कुनै बाह्य पार्टीसँग प्रतिस्पर्धा गर्ने होइन।'
राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया अगाडि बढ्न सकेको छैन । सर्वसम्मतिको प्रयास गर्ने भनेर नेकपा एमालेकै नेताहरूले महाधिवेशन प्रक्रिया अगाडि बढ्न दिएका छैनन् । अध्यक्ष पदका आकांक्षी सुमन पुरी अब निर्वाचन प्रक्रिया नरोकिने बताउँछन् । सर्वसम्मतिको प्रयत्न असफल भएकाले मतदानको माध्यमबाट नेतृत्व चयन हुने उनी बताउँछन् । महाधिवेशन र नेतृत्व चयन प्रक्रियाबारे उनै सुमन पुरीसँग अनलाइनखबरकर्मी अमृत सुवेदीले कुराकानी गरेका छन्ः
तपाईंहरूकै सार्वजनिक कार्यसूची अनुसार मनोनयन दर्ता भइसक्नुपर्ने थियो। तर ढिलो भइरहेको छ। सर्वसम्मतको नाममा चुनाव धकेल्ने काम भइरहेको भन्ने गुनासो छ । तपाईंको भनाइ के हो ?
सर्वसम्मति लोकतन्त्रमा राम्रै कुरा हो । तर सर्वसम्मत नभइसकेपछि तत्कालीन अध्यक्ष र मेरो उम्मेदवारी रहनेगरी प्रचार शैलीमा आएका छौं। यसमा केही पनि छैन। यो सकारात्मक कुरा हो ।मिडियामा आए जस्तो दुई पक्षको वादविवाद छैन। सरकारात्मक बाटोबाट सकारात्मक ऊर्जा लिएर निर्वाचन प्रक्रियामा अगाडि बढिरहेका छौं । अन्तिम मतदाता नामावलीको प्रकाशन भएको छ । त्यसमा दावी विरोध रहला । त्यसलगत्तै नोममिनेशन सुरू हुन्छ । हामी यसरी प्रक्रियामा जान्छै ।
तर नेताहरूले सर्वसम्मत गराउने भनेर वर्तमान अध्यक्षज्यूलाई नै अगाडि सार्ने कुरा बाहिर आइरहेको छ नि ?
कुनै सरकारी लाइन र यो फलानो लाइन भन्ने कुरा मा निर्वाचन पक्रियामा भाग लिन नपाउनु भन्ने कही छैन ।
संगठनमा टीका लगाइदिने प्रवृत्ति देखिन्छ नि र ?
यस्तो छैन, अहिले। सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्षज्यूले खुल्ला सत्र या भनौं सम्बोधनकै क्रममा सकेसम्म सर्वसम्मति गर्नुस्। सर्वसम्मति नभए स्वच्छ प्रतिस्पर्धा गर्नुस् भनेर निर्देशन नै दिएर जानु भएको छ । उहाँले मार्ग निर्देशन गरेकोप्रति हामी सदैव आशावादी छौ। उहाँले सम्बोधनमै भनिसक्नु भएकाले मिडियामा आएजस्तो यो फलानाको र त्यो फलानाको भनेर कुनै केही भन्नु भएको छैन ।
तर बाहिर त अध्यक्ष ज्यूले क्षितिजलाई नै बनाउन चाहनु हुन्छ भन्ने कुरा आएको छ । तपाईं पछाडि हट्ने स्थिति के छ ?
पछाडि हट्ने स्थिति छैन । सर्वसम्मतिको धेरै मोडेलहरूमा कुरा भयो । तर हामी बीच सर्वसम्मतिको प्रयास असफल भयो । अध्यक्षजीले आफू उम्मेदवार रहेको जानकारी गराएपछि हलभित्र ‘क्षितिज थेबे’ भन्दै नारा सुरु भएपछि हाम्रोबाट पनि नाराबाजी भयो । तर त्यसपछि त्यस्तो खाले कुनैपनि गतिविधि गरेका छैनौं । तर निर्वाचनको प्रक्रियामा जाने अन्तिम चरणमा छौं । केहीबेरमा नोमिनेसन प्रक्रिया सुरु हुन्छ, निर्वाचन प्रणालीमा जान्छौं ।
नेताहरू होटलमा, यता प्रतिनिधि अलमलमा देखिए नि ?
मेसिन (विद्युतीय मतपेटिका) आइसकेको छ, डाटाहरू अपडेट गर्ने काम भइरहेको छ । मेसिनमा केही समय लाग्छ । तर मतदान सुरु भइसकेपछि हामी ४० वटा बुथबाट मतदान गर्छौ ।
अहिलेकै स्थिति रहँदैन ?
राष्ट्रिय युवा संघ जनजिविका र जनसरोकारका विषयमा आवाज बुलन्द पार्ने संगठन हो । हामी न्यायका पक्षमा आवाज बुलन्द पार्ने संगठन हो । यहाँ कसैलाई अन्याय हुन्छ जस्तो लाग्दैन । हामी स्वयं न्यायको पक्षमा वकालत गर्ने संगठनको नेता–कार्यकर्ता बनिरहँदा हामीलाई अन्याय पर्छ जस्तो लाग्दैन । एकसे एक साथीहरू योग्य हुनुहुन्छ । अहिले ३४६ सदस्यीय केन्द्रीय कमिटी छ, आयोगका साथीहरू हुनुहुन्छ, जिल्लाबाट अपग्रेड भएर आउने साथीहरू हुनुहुन्छ ।
ती साथीहरूलाई कसरी राख्ने त ? नेतृत्व त गतिशील छ, संगठन गतिशील छ । गतिशील संगठनमा जाम गर्नु हुन्न । निर्वाचन प्रक्रियामा जान्छ, सम्माननीय प्रधानमन्त्रीको सम्बोधन छर्लङ्ग छ त । उहाँले कसैलाई केही भनेको अवस्था छैन, खुल्ला रुपमा स्वस्च्छ प्रतिस्पर्धामा तपाइहरू जान सक्नुहुन्छ, तर सकेसम्म सर्वसम्मति गर्नुस् भन्नुभयो । सर्वसम्मतिको प्रयास हुँदैछ कि असफल भयो ? केही भनिएको छैन । मेरो कुरा गर्दा केही पनि सर्वसम्मति भएको छैन ।
तपाईंको नाममा सर्वसम्मति भए ठीकै, नभए पछि हट्दिनँ भन्ने हो ?
त्यसो पनि भन्दिनँ । सबैको मत मिल्छ भने सर्वसम्मति राम्रो विधि हो । त्यो विधिलाई नकार्न मिल्दैन । तर मेरै नाममा हुनुपर्छ, म नभई हुन्न भन्ने होइन । निर्वाचन प्रक्रियामा जाऔं भन्ने मेरो कुरा हो । मेरै नाममा गर्नुस् भनेर लिङगेरिङ गरेको होइन नि ।
प्रतिनिधिलाई आफ्नो नेता छान्ने अवसर दिनुपर्छ भन्ने हो ?
लोकतन्त्रको सुन्दर अभ्यास दोस्रो विकल्प नै हो । पहिलो सर्वसम्मति नै हो । तर हामी अहिले आन्तरिक प्रतिस्पर्धा गर्ने हो, कुनै बाह्य पार्टीसँग प्रतिस्पर्धा गर्ने होइन । हार्दिकताका साथ डोल्पाका साथीले ताप्लेजुङका साथीलाई भोट दिन पाउने कति सुन्दर कुरा हो । यसबाट हार्दिकता बढ्छ । एकअर्कामा सामिप्यता बढ्छ । यो महोत्सव हो, त्यसरी सोच्नुपर्छ ।
प्रतिनिधिहरूलाई यहाँ खाने बस्ने आजसम्म मात्रै आयोजकले व्यवस्था गर्ने भन्ने हो ?
आयोजकले खाद्यन्नको व्यवस्था गरेको छ, त्यो पनि हजार रुपैयाँ प्रतिनिधि शुल्क लिएका छौं । आवास व्यवस्थापन प्रतिनिधिहरू आफैंले गर्नुभएको हो । त्यसैले यो संगठनलाई दर्बिलो बनाउनुपर्नेछ, गतिलो बनाउनुपर्नेछ । त्यसैले एक दिन समय थपिँदैमा ठूलो कुरो हुँदैन । तर भोलि बिहानसम्म मतदान सम्पन्न भइसकेपछि मतगणनामा त साथीहरू जान सक्नुहुन्छ । भोलि १२ बजेसम्म सबै सकियो भने उहाँहरू जान पनि सक्नु हुने भयो । मेसिन प्रयोग गर्ने भएकाले खासै लम्बिने कुरा पनि हुन्न । खासै बोझिलो हुँदैन ।
प्यानलै चुनावमा जाने हो ?
खुला प्रतिस्पर्धा हुन्छ । प्यानल बनाएर जाँदैनौं । लिस्ट बाँड्दैनौं । स्वतन्त्र रूपमा साथीहरूले दावी प्रस्तुत गर्नुहुन्छ ।
प्रतिक्रिया 4