+
+
Shares

महामारी नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले बढायो सक्रियता

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षाको सिजन सुरु भएसँगै महामारी नियन्त्रणका लागि तयारी बढाएको छ।
  • मन्त्री प्रदीप पौडेलले समयमै सजगता अपनाउन र महामारी नियन्त्रणका लागि आवश्यक तयारी गर्न आग्रह गरे।
  • बैठकले वडा तहसम्म प्रभावकारी महामारी नियन्त्रणका लागि समन्वयात्मक बैठक डाक्ने निर्णय गर्यो।

११ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षा सुरु भएसँगै देखिने स्वास्थ्य महामारी नियन्त्रणका लागि सक्रियता बढाएको छ ।

मन्त्रालयमा महामारीजन्य विपद्को तयारीमा सक्रिय विभिन्न विभाग तथा महाशाखा प्रमुखहरूसँग बैठक गर्दै स्वास्थमन्त्री प्रदीप पौडेलले समयमै सजगता अपनाउन र आवश्यक तयारी थाल्न आग्रह गरे ।

‘वर्षाको सिजन सुरु भइसकेको छ,’ उनले भने, ‘पानी तथा कीटजन्य महामारीबाट जोगिन आ-आफ्नो तर्फबाट आजै तयारी थाल्नुहोला ।’

मन्त्री पौडेलले विपद् आएपछि मात्र सक्रियता देखिने प्रचलन रहेको भन्दै यसपालि त्यसो हुन नहुने बताए ।

बैठकमा मन्त्री पौडेलले डेंगी फैलन नदिन अहिल्यैदेखि लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाउन आग्रह गरे ।

यसैगरी, झाडापखाला, टाइफाइड, ज्वरोलगायतका महामारी वर्षापछि दूषित पानीका कारण फैलन सक्ने भन्दै सचेतनादेखि सजगताका सबै काम थाल्न मन्त्री पौडेलले आग्रह गरे ।

मन्त्रालयले भारत लगायत देशमा कोभिड-१९ देखिएकाले सीमा नाकामा कडाइका लागि पर्याप्त व्यवस्थापन गर्न आवश्यक रहेकाले तीन वटै सरकारसँग समन्वय गर्ने गरी काम अघि बढाइरहेको उनले बताए ।

मन्त्री पौडेलले महामारी कोष प्रभावकारी बनाएर समयमै नागरिकले राहत पाउने गरी काम हुनुपर्नेमा जोड दिए ।

बैठकले महामारी नियन्त्रणका लागि चाँडै वडा तहसम्मै प्रभावकारी रूपमा पुग्ने गरी तीनै तहको समन्वयात्मक बैठक डाक्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?