+
+
Shares

चितवन निकुञ्जमा १० महिनामा मरे २७ गैँडा 

अघिल्लो वर्ष तस्करहरूले मारेको र प्राकृतिक कारणबाट सहित २३ गैँडा मरेकोमा चालु आवमा वैशाखसम्म नै २७ गैँडा मरिसकेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १७:४१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्ने संख्या बढेको देखिएको छ।
  • गत १० महिनामा २७ गैँडा मरेका छन्, जसमा २६ प्राकृतिक कारणले र १ करेन्ट लागेर।

११ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले विश्वकै दुलर्भ एकसिङे गैँडा मर्ने क्रम बढ्न थालेको देखिएको छ ।

चालु आर्थिक वर्षको १० महिनामा २७ गैँडा निकुञ्जमा मरेका छन् । गत आर्थिक वर्ष २३ वटा गैँडा मरेकोमा चालु आवको १० महिनामा नै २६ गैँडा प्राकृतिक कारणले, १ गैँडा करेन्ट लागेर मरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।

अघिल्लो वर्ष तस्करहरूले मारेको र प्राकृतिक कारणबाट सहित २३ गैँडा मरेकोमा चालु आवमा वैशाखसम्म नै २७ गैँडा मरिसकेका छन् ।

निकुञ्जले विगत डेढ वर्षदेखि गैँडा चोरी सिकारी शून्य वर्ष मनाउँदै आइरहेको बेला प्राकृतिक कारणले गैँडा मर्ने संख्या भने बढेको छ ।

गत ८ साउनमा करेन्ट लागेर एउटा गैँडा मरेको थियो । त्यस्तै गरी ७ भदौमा दुई महिनाको भाले गैँडा प्राकृतिक कारणले मरेको निकुञ्जले दाबी गरेको छ ।

निकुञ्जले दिएको विवरण अनुसार साउन, भदौ र असोजमा २/२ वटा, कात्तिकमा ४, मंसिरमा २, पुसमा १, माघमा ३, फागुन र चैतमा ४/४, वैशाखमा ३ वटा गैँडा मरेका छन् । मर्नेमा २ महिनादेखि ३५ वर्षस्ममका ११ वटा पोथी, ९ वटा भाले र ७ वटाको लिङ्ग पहिचान भएको छैन ।

निकुञ्जका अधिकारीहरूले चोरी सिकारीले गैँडा नमारेपछि प्राकृतिक कारणले गैँडा मर्ने संख्या बढ्ने दाबी गर्दै आएका छन् । बाघको आक्रमण, आपसमा जुधेर धेरै जसो गैँडा मर्ने गरेका छन् ।

जेठ महिना लागेसँगै पूर्वी चितवनको कालिका नगरपालिका–१, चतुर्मुखी सामुदायिक वन क्षेत्रमा जुधेर घाइते एक गैँडा निकुञ्ज बाहिर मृत भेटिएको छ । सो गैँडा ९ जेठमा मृत फेला परेको हो ।

२ जेठमा एकआपसमा जुधेर घाइते भएको गैँडा भागेको थियो । जुधेर घाइते भई मरेको ७ वर्षको गैँडाको खाग र खुर सुरक्षित छ ।

सन् २०२१ मा गरिएको गैँडा गणनामा देशभर ७५२ गैँडा रहेकोमा चितवनमा मात्रै ६९४ गैँडा रहेका छन् । त्यसअघि सन् २०१५ मा गरिएको गणनामा ६४५ गैँडा रहेको तथ्यांक आएको थियो । सन् २०२१ को गैँडा गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ बाट बढेर ३८, शुक्लाफाँटमा ८ बाट बढेर १८ पुगेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जमा रहेका ६९४ गैँडामध्ये गणना यताका आर्थिक वर्ष २०७७/७८ मा ३३, आव २०७८/७९ मा ३७, आव २०७९/८० मा २२, आव २०८०/८१ मा २१ र चालु आव २०८१/८२ को वैशाखसम्म २७ वटा गैँडा विभिन्न कारणले मरेका छन् । समग्रमा पछिल्लो पाँच आर्थिक वर्षमा १४० गैँडा मरेका छन् ।

सन् १९६० को दशकमा गैँडाको संख्या घटेर करिब एक सयको हाराहारीमा पुगेको थियो । नेपालमा सन् १९५० को दशकमा ८ सय वटा गैँडा थिए । सन् २०२५ मा नै गैँडा गणना गर्नुपर्ने भए पनि बजेट अभावमा भएको थिएन । २०८१ (सन् २०२५) भित्रै हुनुपर्नेमा गणना हुन नसकेर अब सन् २०२६ मा मात्रै गैँडा गणना हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले आगामी आवभित्र गैँडा गणना गर्नका लागि सरकारसँग डेढ करोड रकम माग गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?