 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुतिका लागि विपक्षीहरूले संसद् अवरोध नगर्ने भएका छन्।
- प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूलाई बजेट ल्याउन सहयोग मागेका छन् भने प्रचण्डले सकारात्मक संकेत दिएका छन्।
- तर, विपक्षीहरूले बजेट बाहेकका एजेण्डामा भने बैठक चल्न नदिने अडान लिएका छन्।
१४ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत हुँदा विपक्षीहरूले संसद् अवरोध नगर्ने भएका छन् ।
भोलि, १५ जेठमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर विपक्षीहरूले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएका छन् ।
आज पनि बैठक चल्न सकेको छैन । तर, विपक्षीहरूले बजेट प्रस्तुत हुँदा संसद् बैठक अवरोध नगर्ने भएका छन् । बजेट ल्याउने प्रक्रियामा सहयोग माग्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज बिहान फोन गरेका थिए ।
स्रोतका अनुसार प्रचण्डले बजेट आउन दिने संकेत दिएका छन् । ‘भरेभोलि थप कुराकानी होला, तर, प्रधानमन्त्रीलाई बजेट ल्याउने कुरामा हामी सकारात्मक रहेको जानकारी दिनुभएको छ,’ प्रचण्ड निकट ती स्रोतले भन्यो ।
यद्यपि संसद्का अरू नियमित काम भने अगाडि बढ्न नदिने प्रचण्डले अडान लिएका छन् । ‘गृहमन्त्री जोडिएको प्रकरणमा छानबिन हुनुपर्छ, त्यसअघि राजीनामा आउनुपर्छ,’ प्रचण्डले प्रधानमन्त्रीसँग भने, ‘यसपछि मात्र संसदका नियमित काम अगाडि बढ्छ ।’
दोस्रो ठूलो विपक्षी रास्वपाले पनि बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने निर्णय लिएको छ । संसद् भवन बाहिर प्रतिक्रिया दिँदै कार्यबाहक प्रवक्ता मनिष झाले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने बताए । ‘संवैधानिक प्रक्रिया अनुसार ल्याइने बजेट रोक्दैनौं’, उनले भने ।
उनले गृहमन्त्रीलाई संसदमा बोल्न नदिने भन्ने पार्टीको अडान नरहेको पनि बताए । ‘गृहमन्त्री अघि बोल्न हामीले पाउनुपर्छ भन्ने हाम्रो माग हो । बोल्नै नदिने भनेका छैनौं,’ उनले भने ।
माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि बजेट प्रस्तुत हुँदा संसद् अवरोध नगर्ने तयारी गरेको छ । ‘बजेट आउन दिन्छौं, तर अरू कुरामा हाम्रो अडान कायम रहन्छ,’ राप्रपाका उच्च स्रोतले भन्यो ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4