
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ११ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरे।
- बजेटले निजी क्षेत्र र नव उद्यमीलाई प्रोत्साहन गर्न खोजेको उद्योगीहरूले बताए।
- विराटनगरको विकासका लागि केही आवश्यक विषयहरू बजेटमा समेटिएको छैन भन्ने उद्योगीहरूले दुःख व्यक्त गरे।
१५ जेठ, विराटनगर । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको बजेटले विराटनगरलाई समेट्न सकेन । तर बजेटका कतिपय प्रावधानले विराटनगरको निजी क्षेत्र उत्साहित बनेको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ११ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेका थिए ।
उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले विराटनगरलाई सम्बोधन नगरे पनि बजेट सकारात्मक रहेको बताए । बजेटका धेरै प्रावधानले निजी क्षेत्र र नव उद्यमीलाई समेटेको उनले बताए ।
धानको उत्पादनलाई बढाउने सरकारको लक्ष्य सकारात्मक रहेको बताउँदै उनले विदेशमा लगानी गर्न पाउने र आम्दानीको ५० प्रतिशत स्वदेशमा ल्याउनुपर्ने प्रावधान सकारात्मक रहेको बताए ।
‘सुनचाँदीका गहनामा वन्डेड हाउसको सुविधा दिने साथै निर्यात गरेको गहनाको ५० प्रतिशत विदेशी मुद्राको सुनचाँदी आयात गर्न पाउने प्रावधान सकारात्मक छ,’ उनले भने, ‘विराटनगरले विगत कयौं वर्षदेखि माग गर्दै आएको प्रदर्शनी कक्ष, विशेष आर्थिक क्षेत्र, क्षेत्रीय विमानस्थलका विषयमा चाहिँ बजेट मौन रह्यो यो क्षेत्रको विकासका लागि बजेटमा कुनै पनि कुरा नआएकोमा दुःख लागेको छ ।’
सरकारले विदेशमा लगानीको बाटो खोल्नु सकारात्मक रहेको उद्योगी महेश जाजूले बताए । जाजू विदेशमा उद्योग खोल्ने तयारीमा छन् । ‘सरकारले विदेशमा लगानी गर्ने बाटो खोलिदिएको छ, यो हामीले पहिलेदेखि उठाउँदै आएको माग थियो,’ उनले भने, ‘बजेटका धेरै विषय सकारात्मक छन् ।’
बजेटले आयात निर्यात गर्ने साना उद्योगीलाई प्रोत्साहित गरेको संविधानसभा सदस्य तथा उद्योगी पवनकुमार सारडाले बताए । ‘एक्जिम कोडमा ३ लाख रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधान हटाएको छ,’ उनले भने, ‘खाद्यान्य आयतमा अग्रिम लाभकर बुझाउने प्रावधान हट्नु सकारात्मक हो ।’
संघीय सरकारको बजेट नयाँ सम्भावना सृजना गरेको मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष विकासकुमार बेगवानीले बताए । सुनचाँदीको गहना निर्यातको प्रावधान राखेर नयाँ अवसर सृजना गरेको बताए ।
सहकारी पीडितको हकमा बजेटले प्रावधान गरेको बताउँदै उनले खाद्यान्य आयातमा लागिरहेको एभान्स ट्याक्स अन्त्य हुनु राम्रो विषय रहेको बताए ।
संघकै अर्का उपाध्यक्ष अनिल सरडाले बजेटले निजी क्षेत्रलाई धेरै अवसर सृजना गरेको बताए । ‘बजेट महत्वकांक्षी छ, बजेटमा समावेश भएका विषय समेटियो भने धेरै राम्रो हुन्छ,’ उनले भने, ‘निर्यात गर्दा विदेशमा २५ प्रतिशतसम्म लगानी गर्न पाउने प्रावधानले नयाँ सम्भावनाको ढोका खोलेको छ ।’
कृषि क्षेत्रमा सरकारले राम्रो सम्बोधन गर्न खोजेको उनले बताए ।
उद्योगी प्रकाश मुन्दडाले बजेटले निजी क्षेत्रका लागि सकारात्मक अवसर सृजना गरेको बताए । आइटी क्षेत्रलाई राज्यले सम्बोधन गरेको बताउँदै उनले निर्यातको क्षेत्रमा सकारात्मक व्यवस्था गरेको बताए ।
प्रतिक्रिया 4