News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी आर्थिक वर्षको बजेट भाषणमा क्रिकेटको पूर्वाधारमा बढी बजेट विनियोजन भएको देखिएको छ।
- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भलिबल र फुटबलको लागि पनि बजेट छुट्याएको बताए।
- बजेटमा क्रिकेटका लागि ८२ करोड र अन्य खेलका लागि अझै बजेटको विवरण आउन बाँकी रहेको छ।
१६ जेठ, काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को लागि बिहीबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्दा क्रिकेट खेलको पूर्वाधारमा धेरै बजेट विनियोजन भयो । तर राष्ट्रिय खेल भलिबल र चर्चित खेल फुटबलको लागि भने बजेटमा खासै नाम आएन ।
क्रिकेटमा टीयू मैदानसहित अन्य चार मैदानका लागि तोकिएरै बजेट घोषणा हुँदा बजेट भाषणमा भलिबल र फुटबलको नाम उच्चारण समेत भएन । तर युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेल भलिबल र फुटबलसहित अन्य खेल पूर्वाधारका लागि पनि बजेट छुट्याइएको बताए ।
उनले बजेट भाषणमा क्रिकेटका लागि मात्र रकम तोकिएर आएपनि भलिबल लगायत खेलका लागि पनि विशेष व्यवस्था गरिएको बताए । ‘भलिबल र फुटबलको लागि पनि बजेटमा विशेष व्यवस्था छ । क्रिकेटको ठूला रंगशालाहरु मर्मतदेखि स्तरोन्नती भएकोले रकम तोकिएर आयो । तर फुटबल र भलिबलको पूर्वाधारको लागि जग्गा प्राप्ती प्रक्रियामा छ । त्यसैले बजेटमा उल्लेख नभएको हुन सक्छ,’ मन्त्री चौधरीले अनलाइनखबरसँग भने, ‘तर ती खेलका लागि पनि विशेष व्यवस्था छ । बजेटको डिटेल आएपछि थाहा हुन्छ ।’
उनले फुटबल र भलिबल दुवैका लागि उपत्यका भित्र नै जग्गा हेरिरहेको बताए । ‘यी दुई खेलमा जग्गा उपलब्ध नभएर हाइलाइट नभाको हो । फुटबल र भलिबलका लागि जग्गा उपलब्ध भएपछि हाइलाइट हुन्छ’ उनले भने ।
भलिबल नेपालको राष्ट्रिय खेल हुँदा पनि बजेट भाषणमा कुनै स्थान पनि नपाउँदा यस खेलमा चासो राख्नेहरु चिन्तित थिए । यस्तै फुटबल विश्वकै सबैभन्दा चर्चित खेल हो र अखिल नेपाल फुटबल संघ (एन्फा) को आफ्नै वार्षिक बजेट सवा अर्ब भन्दा माथि हुने गरेको छ ।
बजेटमा फुटबल बारे कुनै कुरा उल्लेख नहुँदा फुटबलकर्मीहरुलाई समेत चिन्ता बढाएको थियो । खेलकुद बजेटमा के के विषय समावेश भएको छ भन्ने पूर्व विवरण सार्वजनिक हुनै बाँकी छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले क्रिकेट बाहेकको खेलमा पनि बजेट विनियोजन भएकोले ढुक्क हुन आग्रह गरे । ‘राष्ट्रिय खेल भलिबलको लागि यस पटक विशेष छ । फुटबलको लागि पनि लिगहरुका लागि बजेट छुट्याएर पठाएको छु। ’
मन्त्री चौधरीले फुटबलको नयाँ अन्तर्राष्ट्रिय स्टेडियम निर्माणका लागि प्रस्ताव गरिएको बताए । ‘भक्तपुरमा फुटबलको नयाँ रंगशाला बनाउने प्रस्थाव भएको छ । डिपिआर लगायत प्रक्रिया अघि अघि बढिराछ ।’ मन्त्री चौधरीले भने ।
यस्तै राष्ट्रिय खेल भलिबलको लागि पनि पूर्वाधारदेखि अन्य विषयमा बजेट छुट्याएको बताए । ‘भलिबलका लागि पनि ३-४ करोड प्रस्ताव गरेर पठाएको छु । ५ देखि १० हजार दर्शक क्षमता भएको कभर्डहल बनाउने योजना छ । जग्गा खोजिरहेको छ ।’
यस्तो छ खेलकुद बजेटको ब्रेकडाउन
आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि अर्थमन्त्री विष्णु पौडेलले ६ अर्ब ७ करोड ७४ बजेट विनियोजन गरेका छन् । अघिल्लो आर्थिक वर्षको भन्दा यो २ अर्ब ५८ करोडले बढी हो ।
यो युवा र खेलकुद दुवैको लागि छुट्याइएको बजेट हो । जसबाट खेलकुदमा ८५ प्रतिशत र युवामा १५ बजेट बजेट खर्च हुनेछ । त्यसमा पनि संघ (केन्द्र), प्रदेश र स्थानिय तह गरी तीन तहमा बजेट विनियोजन हुनेछ ।
संघमा ५ अर्ब ७१ करोड ७४ लाख बजेट विनियोजन गरिएको छ भने प्रदेशमा ९ करोड र स्थानिय तहलाई २७ करोड बजेट विनियोजन गरिएको छ ।
संघमा पनि चालु खर्चका लागि २ अर्ब ११ करोड १० लाख बजेट छुट्याइएको छ । यस्तै पुँजिगततर्फ ३ अर्ब ६० करोड ६४ लाख बजेट विनियोजन भएको छ ।
युवा र खेलकुदमा यस वर्ष ०.३१ प्रतिशत बजेट छुट्याएको छ । जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
अब चालु र पुँजिगत बजेट कसरी खर्च हुन्छ त? चालु अन्तर्गत कर्मचारीको तलब देखि प्रतियोगिताको खर्च, खेल संघ र क्लबहरुलाई दिने बजेट पर्छ ।
यस्तै पुँजीगत खर्चमा पूर्वाधार निर्माण देखि पूर्वाधार मर्मत सम्भार, डिपिआर बनाउने लगायतको खर्च समावेश हुन्छ । यसरी हेर्दा यसपछि पूर्वाधारका लागि धेरै बजेट छुट्याइएको छ ।
क्रिकेटको पूर्वाधारमा केन्द्रित
यस पटक धेरै बजेट पूर्वाधारमा विनियोजन हुँदा त्यसमा पनि क्रिकेट खेल धेरै लाभान्वित भएको छ । टीयू मैदान स्तरोन्तीका लागि ४० करोड र मुलपानी क्रिकेट रंगशाला, फाप्ला क्रिकेट रंगशाला, सिद्धार्थ क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानको स्तरोन्नतिका लागि कुल ४२ करोड बजेट विनियोजन गरिएको छ ।
पाँच क्रिकेट मैदान/रंगशालका लागि मात्रै ८२ करोड क्रिकेटमै विनियोजन भएको छ । अन्य साना पूर्वाधारहरु समेत जोड्दा क्रिकेटकै लागि करिब एक अर्ब भन्दा बढी बजेट विनियोजन भएको देखिन्छ । बजेट भाषणमा उल्लेख नभएपनि पोखरामा रहेको क्रिकेट मैदान र पुटबल रंगशालाको लागि पनि बजेट छुट्याइएको खेलकुद मन्त्री चौधरीले बताएका छन् ।
यसबाहेक बजेट भाषणमा उल्लेख भएको झापाको दमकमा सबै खेल आयोजना गर्न सकिने अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गरिने र सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाइ अल्टिड्युड स्पोर्ट्स स्टेडियम निर्माण गरिने बुँदाको बजेट पनि पूर्वाधारमै पर्नेछ ।
भलिबल र फुटबलका लागि पनि पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको युवा तथा खेलकुद मन्त्रीले बताएपनि कति छुट्याइएको छ भन्ने आउन बाँकी छ । क्रिकेटको तुलनामा अन्य खेलका लागि कम बजेट रहेको स्वभाविक रुपमा बुझ्न सकिन्छ ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेल भलिबलको लागि पनि राम्रो बजेट प्रस्ताव गरिएको बताएपनि कति छुट्याइएको भन्ने बजेट भाषणमा उलल्ख छैन । तर उनले भलिबलका लागि पनि उत्साहित पार्ने खालको बजेट रहेको बताए । ‘राष्ट्रिय खेललाई यस पटक विशेष व्यवस्था छ ।’ मन्त्री चौधरीले भने ।
बजेट भाषणमा क्रिकेटको पूर्वाधार मात्र उल्लेख गर्दा भलिबल र फुटबल मात्र होइन एथ्लेटिक्स देखि जुडो सम्मका खेलले पुर्वाधारको विषयमा चासो व्यक्त गरेका छन् ।
अहिले मार्स आर्टमा कराते र तेक्वान्दोको आफ्नो छुट्टै हलमा प्रतियोगिता र प्रशिक्षण गर्न सक्ने अवस्था छ । तर राष्ट्रिय खेल भलिबल देखि अन्य धेरै खेलको प्रशिक्षण र प्रतियोगिता आयोजनाका लागि आफ्नो छुट्टै हलको व्यवस्थापन छैन ।
त्यसैले अन्य धेरै खेलसँग सम्बधितहरुले भने बजेटमा आफ्नो खेलबारे उल्लेख गुनासो राखेका छन् ।
प्रतिक्रिया 4