
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सिमेन्टको अन्तःशुल्क ५ प्रतिशतमा वृद्धि गरेको छ।
- अन्तःशुल्कले प्रतिबोरा मूल्य १५ रुपैयाँले बढ्ने उद्योगीले बताएका छन्।
१६ जेठ, काठमाडौं । सरकारले सिमेन्टको अन्तःशुल्क बढाएको छ । यसअघि प्रतिटन २ सय २० रुपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा अब ५ प्रतिशतका दरले अन्तःशुल्क लाग्ने भएको हो ।
एक टन सिमेन्ट बराबर २० बोरा हुन्छ । यसअघिको अन्तःशुल्कको दरअनुसार प्रतिबोरा ११ रुपैयाँ अन्तःशुल्क तिर्नुपर्थ्यो ।
त्यसअनुसार अन्तःशुल्क दर प्रतिशतमा हिसाब गर्दा २ देखि साढे २ प्रतिशत हुने गर्थ्यो । ५ प्रतिशत अन्तःशुल्क लाग्दा २१ रुपैयाँदेखि २५ रुपैयाँसम्म प्रतिबोरा पर्ने उद्योगी बताउँछन् ।
अन्तःशुल्क लागेर त्यो मूल्यमा मूल्य अभिवृद्धि कर (भ्याट) समेत लाग्ने हुँदा यो परिवर्तनपछि औसतमा सिमेन्टको मूल्य प्रतिबोरा १५ रुपैयाँले बढ्ने सम्भावना रहेको उद्योगी बताउँछन् ।
‘पहिला सबै प्रकारका सिमेन्टमा समान अन्तःशुल्क लाग्ने गरेकोमा अब यो गुणस्तर, प्रकार र उद्योग विशेषका आधारमा फरक पर्ने छ । तर, औसतमा १५ रुपैयाँले भाउ बढ्छ होला,’ एक उद्योगीले भने ।
अहिले नेपालमा वार्षिक १ करोड ६० लाख बोरा सिमेन्ट खपत हुने गरेको अनुमान छ । यस हिसाबले सिमेन्टमा बढाइएको अन्तःशुल्कपछि सरकारले २ अर्ब ४० करोड रुपैयाँ थप राजस्व उठाउन सक्ने ती उद्योगीको भनाइ छ ।
यसका साथै सरकारले एमएस वायरको भन्सार पनि ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याएको छ ।
प्रतिक्रिया 4