 
																			१७ जेठ, काठमाडौं । राजसंस्था पुनस्र्थापना र हिन्दू राज्यसहितका माग राखेर सडक आन्दोलनमा होमिएका राजावादीहरू आफ्ना पक्षमा समर्थन बढेको भन्दै उत्साहित देखिएका छन् ।
संयुक्त जनआन्दोलन समितिका संयोजक समेत रहेका नवराज सुवेदीले आन्दोलनमा सहभागीताको संख्या दैनिक बढ्दै गएको र यसले आफूहरूलाई उत्साहित बनाएको बताएका छन् ।
शनिबार साँझ एक भिडिओ सन्देश जारी गर्दै संयोजक सुवेदीले सरकारले विभिन्न क्षेत्रमा जारी गरेको निषेधाज्ञा आफूहरूलाई लागि ‘वरदान’ भएको समेत बताएका छन् ।
गत १५ बाट सुरु भएको राजावादीहरूको आन्दोलन निर्धारित कार्यक्रम अनुसार आज दरबारमार्ग क्षेत्रमा हुनुपर्थ्यो । तर, शुक्रबार साँझ सो क्षेत्रमा सरकारले निषेधाज्ञा जारी गरेपछि शनिबार दिउँसो राजावादीहरूको प्रदर्शन बालुवाटारसम्म पुगेको थियो ।
प्रधानमन्त्री, सभामुखलगायतको सरकारी निवास भएको सो क्षेत्रमा राजावादी आन्दोलनमा सहभागीहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्दै नाराबाजी गरेका थिए ।
उक्त क्रममा सडक, बाटो छेउ र घरका छत छतबाट ताली बजाएर, नारामा साथ दिएर काठमाडौंवासीले प्रयासमा होस्टेमा हैंसे दिएको सुवेदीले बताएका छन् ।
‘शान्तिपूर्ण प्रदर्शनलाई सीमामा बाँध्न सरकारले निषेधाज्ञा जारी गर्नु भ्रष्ट शासकका लागि अभिषाप र हाम्रो लागि वरदान बन्यो,’ सुवेदीले भनेका छन्, ‘आन्दोलनमा सहभागी संख्या र ऊर्जा वृद्धिमात्रै भएन, सडक, बाटो छेउ र घरका छत छतबाट ताली बजाएर, नारामा साथ दिएर काठमाडौंवासीले हाम्रो प्रयासमा होस्टेमा हैंसे दिएका कारण हामी अझै उत्साहित भएका छौं ।’
साथै, उनले आफूहरूको लक्ष्य प्राप्त नभएसम्म आन्दोलन जारी रहने पनि बताएका छन् । सुवेदीका अनुसार आइतबार दिउँसो २ बजे नारायणचौरबाट चौथो दिनको आन्दोलन सुरु हुनेछ ।
‘जेठ १८ गते आइतबार दिनको २ बजे नारायणचौरमा भेला भइ पुनः आन्दोलन प्रारम्भ हुनेछ,’ सुवेदीले भनेका छन् ।
राप्रपा, राप्रपा नेपालसहितका राजतन्त्र पक्षधर दलहरूको समर्थनमा भइरहेको यो आन्दोलनका लागि काठमाडौंमा आएकाहरूलाई कम्तीमा एक हप्ता बस्न आग्रह गरिएको छ ।
राप्रपा अध्यक्ष लिङ्देनले समर्थकहरूलाई लक्ष्य प्राप्त नहुने बेलासम्म निरन्तर लाग्न आग्रह गरेका हुन् ।
 
                









 
                     
                                 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4