
News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपा नेपालले १८ जेठमा काठमाडौंमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको दमन र गिरफ्तारको निन्दा गरेको छ।
- संगठनले अध्यक्ष कमल थापालाई र अन्य नेताहरूलाई तत्काल रिहाइको माग गरेको छ र संविधानको अधिकार प्रयोग गर्न भनेको छ।
- प्रहरीले प्रदर्शनमा भाग लिएका नेताहरूलाई गिरफ्तार गरेपछि राप्रपा नेपालले अप्रजातान्त्रिक र निरंकुश शैलीको कार्यको भर्त्सना गरेको हो।
१८ जेठ, काठमाडौं । राजसंस्था पुनर्स्थापना जनआन्दोलन समितिले गरेको शान्तिपूर्ण जनप्रदर्शनमा आइतबार राज्यले बर्बर दमन तथा गिरफ्तार गरेको भन्दै राप्रपा नेपालले निन्दा गरेको छ ।
पार्टी अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेपछि आइतबार अपराह्न बसेको केन्द्रीय पदाधिकारी तथा कार्य सम्पादन समितिका सदस्यहरूको आकस्मिक बैठकले घटनाको भर्त्सना गरेको हो ।
बैठकपछि विज्ञप्ति जारी गर्दै महामन्त्री राजाराम बर्तौलाले भनेका छन्, ‘राप्रपा नेपालका अध्यक्ष कमल थापालाई राजसंस्था पुनर्स्थापना जनआन्दोलन समितिद्वारा आयोजित मिति २०८२ जेठ १८ गतेका दिनको शान्तिपूर्ण जनप्रदर्शनमा राज्यद्वारा बर्बरतापूर्वक दमन र बल प्रयोगका साथ गिरफ्तार गरी नियन्त्रणमा लिएको कार्यको राप्रपा नेपाल घोर निन्दा र भत्सर्ना गर्दछ । यो अप्रजातान्त्रिक, निरकुंश, सर्वसत्तावादी र हिंस्रक शैलीको जति नै निन्दा गरे पनि कम नै हुन्छ ।’
नेपालको संविधानको धारा १६ ले प्रत्येक व्यक्तिको ससम्मान बाँच्न पाउने हक, धारा १७ (२) ले विचार र अभिव्यक्ति स्वतन्त्रता संघ संगठन खोल्ने चलाउने स्वतन्त्रता प्रदान गरेको भन्दै विज्ञप्तिमा संविधानले दिएको अधिकार प्रयोग गरी गरिएका क्रियाकलाप रोक्नु निन्दनीय रहेको उल्लेख छ ।
राप्रपा नेपालले राजनीतिक आस्थाका आधारमा गिरफ्तार गरिएका अध्यक्ष थापासँगै शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिनाको तत्काल विना शर्त रिहाइको माग गरेको छ ।
राप्रपा नेपालले थापालाई भेट्न प्रहरी परिसर पुगेका राप्रपाका सांसद दीपकबहादुर सिंहलाई पक्राउ गरिएकोमा पनि भर्त्सना गर्दै तत्काल रिहाइको माग गरेको छ ।
प्रतिक्रिया 4