+
+
Shares

दिक्तेलमा अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !   

रासस रासस
२०८२ जेठ १९ गते ६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङको दिक्तेल बजारमा अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च रहेको छ।
  • कृषकहरूले बेमौसमी खेती गरेर राम्रो मूल्यमा बिक्री गरेका हुन् ।
  • जिल्लामा सबै प्रकारका तरकारी तथा फलफूलको मूल्य उच्च भएको र बजारमा सस्तो तरकारी आयात भइरहेको छ।

१९ जेठ, खोटाङ । अकबरे खुर्सानीको मूल्य यहाँ हालसम्मकै उच्च भएको छ । सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो एक हजारमा बिक्री भइरहेको छ ।

दिक्तेलका व्यापारीले गाउँका कृषकबाट प्रतिकिलो ७०० देखि ८०० सम्ममा खरिद गरी ग्राहकलाई एक हजारमा बिक्री गर्ने गरेका छन् । मूल्य महङ्गो भएपनि स्वादिलो र औषधीय गुण भएकाले उपभोक्ताले अकबरे खरिद गरिरहेका छन् ।

अकबरे खुर्सानीको बेमौसमी खेती गरेर हाल हप्तामा १४/१५ किलो बिक्री गरिरहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका इन्द्रबहादुर श्रेष्ठले बताए । ‘मैले यस वर्ष करिब एक हजार २०० बोट अकबरे खुर्सानीको बिरुवा रापेको छु । अहिले हप्तामा १४/१५ किलो उत्पादन दिन थालेको छ’, उनले भने, ‘जिल्लामा अकबरे खुर्सानीको माग राम्रो छ । आगामी दिनमा बेमौसमी अकबरे खुर्सानी खेतीलाई थप विस्तार गर्ने योजनामा छु ।’

दिक्तेल बजारमा खाल्ले, बुइपा, बाम्राङ, लफ्याङ, सोल्मा, नेर्पा र दोर्पाका कृषकले उत्पादन गरेका खुर्सानीका साथै तरकारी खपत हुने गरेको छ । व्यावसायिक तरकारी खेती गर्ने सीमित कृषकले राम्रो आम्दानीसमेत गर्दै आएका छन् ।

जिल्लामा अकबरे खुर्सानीसँगै सबै प्रकारका तरकारी तथा फलफूलको मूल्य हालसम्मकै उच्च बनेको भएको छ । कृषकका लागि भनेर सरकारले उपलब्ध गराउँदै आएको अनुदान नेताका नजिकका व्यक्तिले लिने र खेती नगरी फरफारक गर्नाले जिल्लामा तरकारी तथा फलफूलको मूल्य उच्च भएको उपभोक्ताको गुनासो छ ।

दिक्तेलमा हाल गोलभेडा प्रतिकिलो १५०, कन्य च्याउ प्रतिकिलो ३००, प्याज प्रकिकिलो ९०, आलु प्रतिकिलो ६०, बन्दागोभी प्रतिकिलो ४० तथा काउली प्रतिकिलो १५० रहेको छ । सरकारी अनुदानमा वास्तविक कृषकको पहुँच नपुगेसम्म तरकारीको मूल्य अझै आकाशिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका अगुवा कृषक गङ्गाबहादुर विश्वकर्मा बताउँछन् ।

जिल्लामा उत्पादित फलफूल तथा तरकारीको मूल्य वृद्धि भएपछि तराईका विभिन्न जिल्लाबाट ल्याइएका तरकारी र फलफूलले बजार भरिएको छ । तराईबाट सस्तो मूल्यमा खरिद गरेर ल्याइएको तरकारी तथा फलफूल बिना विषादी परीक्षण खुलेआम बिक्री भइरहँदा सम्बन्धित निकाय मौन छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?