News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बिहीबार हङकङ विरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ।
- खेल हङकङ सो कोनपोस्थित हङकङ नेसनल स्टेडियममा साँझ सुरु हुनेछ।
- नेपालले हङकङसँग ३७ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दैछ र तयारीमा छ।
२१ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बिहीबार हङकङ विरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी एसियन कप छनोट अन्तर्गत लाओससँगको खेलअघि नेपालले हङकङ विरुद्ध खेल्न लागेको हो ।
खेल हङकङ सो कोनपोस्थित हङकङ नेसनल स्टेडियममा बिहीबार साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ । अष्ट्रेलियन प्रशिक्षक म्याट रोस मुख्य प्रशिक्षक बनेर आएपछि नेपालले दोस्रो मैत्रीपूर्ण खेल र समग्रमा तेस्रो खेल खेल्न लागेको हो । उनको प्रशिक्षणमा नेपालले यसअघि खेलेका दुई खेलमा मिश्रित नतिजा निकालेको छ ।
सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलमा ऐतिहासिक जित हात पारेको नेपाल एसियन कप छनोटमा भने मलेसियासँग पराजित भएको थियो । रोस नेपालको प्रशिक्षक बनेपछि नेपालले छोटो समयकै तयारीमा यसअघि दुई खेल खेल्नुपरेको थियो ।
तर यसपटक नेपालले नेपालले लामो समयको तयारी गर्दै दुई खेल खेल्न हङकङ पुगिसकेको छ । हङकङसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली उतैबाट एसियन कप छनोट खेल्न लाओस जानेछ ।
यसअघि दुई खेल खेल्दाको कमजोरी सुधार गर्दै हङकङ र लाओस विरुद्ध जितकै लागि खेल्ने प्रशिक्षक रोस र कप्तान किरण चेम्जोङले बताएका छन् ।
पछिल्लो समयमा हङकङले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित रहेकोले त्यसलाई ब्रेक गर्ने लक्ष्य रहेको प्रशिक्षक रोसले बताएका छन् । ‘हङकङ राम्रो टिम हो । हङकङले पछिल्ला महिनाहरूमा राम्रो नतिजा निकालेको छ । हामी उनीहरूको अपराजित यात्रा ब्रेक गर्न चाहन्छौं’ उनले भने ।
गत अक्टोबरमा लिचेस्टाइन विरुद्धको मैत्रीपूर्ण खेलमा १-० ले पराजित भएयता हङकङ लगातार ८ खेलमा अपराजित छ । त्यसमा पनि सिंगापुरसँग एसिया कप छनोटमा गोलरहित बराबरी खेल्नुअघि हङकङले लगातार ७ खेल जितेको थियो । रोसले हङकङविरुद्ध खेल्न खेलाडीहरूमा ऊर्जा रहेको बताए ।
यता नेपालले भने पछिल्लो ५ खेलमा दुई खेल जित्दा २ खेलमा पारजति भएको छ भने एक खेल बराबरी खेलेको छ । वशिवकप छनोटमा गत वर्ष जुनमा यमनसँग बराबरी खेलेको नेपालले नोभेम्बरमा ताजकिस्तानसँग मैत्रीपूर्ण खेलमा ४-० को हार व्यहोरेको थियो । त्यसपछि मैत्रीपूर्ण खेलमा नेपालमा अफगानिस्तानलाई २-० ले सिंगापुरलाई १-० ले हरायो । एसियन कप छनोटको पछिल्लो खेलमा भने नेपाल मलेसियासँग २-० ले पराजित भएको थियो ।
मुख्य प्रशिक्षक रोसले दुई महिनाअघि खेलेको टिम भन्दा अहिले नेपाली टिम राम्रो रहेको बताएका छन् । ‘२३ जना अन्तिम खेलाडी छनोट गर्न धेरै प्रतिस्पर्धा भएको थियो । टिममा दुई महिना अघिको भन्दा धेरै डेप्थ छ’ उनले भने । यस पटक कुशल देउवा र सृजन राज गौतम नयाँ खेलाडीको रूपमा सिनियर टिममा समावेश भएका छन् ।
नेपाल र हङकङ दुवैको कप्तान गोलकिपर छन् र दुवैले आफ्नो राष्ट्रको लागि सर्वाधिक खेल खेलेका छन् । किरण चेम्जोङले नेपालका लागि १०४ खेल खेलेका छन् । यस्तै हङकङका कप्तान तथा गोलकिपर याप हुङ फाईले पनि आफ्नो राष्ट्रका लागि १०४ खेल नै खेलेका छन् । दुवै आफ्नो राष्ट्रका लागि एक सय खेल पुरा गर्ने पहिलो र एक मात्र खेलाडी हुन् ।
हाइ अल्टिच्युड ट्रेनिङले फाइदा
यसपटक नेपालले हाई अल्टिच्युड ट्रेनिङ समेत गरेको थियो । जसले गर्दा शारीरिकदेखि मानसिक रुपमा समेत फाइदा पुग्ने प्रशिक्षक रोसेको विश्वास छ ।
रोसले कार्डिओभास्कुलर सिस्टमका लागि यो राम्रो भएको बताए । यस्तै यो ट्रेनिङले टिमको बन्डिङ पनि राम्रो भएको प्रशिक्षक रोस र कप्तान किरण चेम्जोङले बताएका छन् ।
‘टिम बोन्डिङ पनि राम्रो बनेको छ । हामीले सँगै केही अभ्यासहरू पनि गर्यौँ । अहिले सबै एक अर्का नजिक छन् । युनिटी छ । खेलाडी र स्टाफको लागि पनि युनिक हो’ रोसले भने ।
यस्तै कप्तान किरण चेम्जोङले पनि हाई अल्टिच्युड ट्रेनिङपछि खेलाडीहरूबीच राम्रो बोन्डिङ भएको बताए ।
एकमात्र खेलमा बराबरी
नेपालले ३७ वर्षपछि हङकङसँग फुटबल खेल खेल्न लागेको हो । नेपालले हङकङसँग अहिलेसम्म जम्मा एक मात्र अन्तर्राष्ट्रिय खेल खेलेको छ । संयोगवश उक्त खेल झण्डै चार दशक अघि नेपालमै भएको थियो । ३७ वर्षअघि एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले हङकङसँग प्रतिस्पर्धा गरेको थियो ।
यसअघि सन् १९८८ मा काठमाडौंको दशरथ रंगशालमा भएको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । विश्वकप र एसियन कप जस्ता प्रतियोगिताको छनोट खेलहरू खेल्दै आएपनि नेपालले हङकङसँग यो बीचमा खेल्ने अवसर पाएन । अहिले नेपाल र हङकङबीचको खेलको अवसर जुरेको छ ।

३७ वर्षपछि नेपाल र हङकङ एकआपसमा भिड्न लाग्दा धेरै कुरा परिवर्तन भइसकेको छ । दुवै टोली जित हात पार्ने लक्ष्यमा हुनेछन् । हङकङ अन्तर्राष्ट्रिय खेलमा पछिल्ला ८ खेलमा अपराजित छ । त्यो अपराजित यात्रा ब्रेक गर्ने लक्ष्यमा नेपाल हुनेछ ।
हङकङले पछिल्लो खेल इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडसँग घरेलु मैदानमा खेलेको थियो । उक्त खेलमा हङकङले पहिले अग्रता लिएपनि जोगाउन नसक्दा ३-१ ले पराजित भएको थियो ।
त्यस खेलमा वाल्टर बेलिटार्डो जुनियरले गोल गर्दै हङकङलाई सुरुवात अग्रता दिलाएका थिए । वाल्टर नेपालविरुद्ध खेल्ने टिममा छन् ।
वाल्टरसँगै हङकङको टिममा ब्राजिलदेखि स्पेनमा जन्मिएका खेलाडीहरू समेत छन् ।
लाओससँगको खेलको तयारी
नेपालले अहिले सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कप छनोटको अन्तिम चरण खेलिरहेको छ ।
छनोटमा नेपाल समूह एफमा छ र यस समूहको आफ्नो दोस्रो खेल नेपालले जुन १० मा लाओससँग खेल्नेछ । लाओससँग नेपालको ‘अवे’ खेल हुनेछ । छनोटको खेल खेल्नुअघि तयारीस्वरुपमा नेपालले मैत्रीपूर्ण खेल्न थालेको छ ।
यसअघि समूहको पहिलो खेलमा मलेसियाविरुद्ध खेल्नुअघि नेपालले सिंगापुर विरुद्ध पनि मैत्रीपूर्ण खेल खेलेको थियो । चैतमा भएको सिंगापुरविरुद्धको खेलमा कीर्तिमानी जित हात पारेको नेपाल एसियन कप छनोटमा भने मलेसियासँग पराजित भएको थियो ।

हारबाट छनोट यात्रा सुरु गरेको नेपाल लाओसलाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्यमा छ । र त्यो लक्ष्य पूरा गर्नुअघि नेपालले तयारी स्वरुपमा हङकङसँग आफूलाई परिक्षण गर्नेछ ।
एसियन कप छनोटको तेस्रो तथा अन्तिम चरणमा एसियाका २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपाल रहेको समूहमा लाओससहित मलेसिया र भियतनाम छन् ।
होम एण्ड अवेका आधारमा हुने यस छनोटपछि प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोली २०२७ मा हुने एसियन कपमा छनोट हुनेछन् ।
एसियन कपका लागि १८ टोली यसअघि नै छनोट भइसकेका छन् ।
प्रतिक्रिया 4