+
+
Shares

विश्वमा एन्टिबायोटिकको बारेमा किन बढिरहेको छ चिन्ता ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते २१:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एन्टिबायोटिक्सको अत्यधिक प्रयोगले जीवाणु प्रतिरोध बढाएको र उपचार कठिन बनाएको छ।
  • संसारभर र नेपालमा एन्टिबायोटिकको पहुँच र प्रयोगमा समस्या रहेको छ।
  • अध्ययनले उचित उपचार नपाउने र औषधिको अभावले गम्भीर स्वास्थ्य समस्या निम्त्याएको देखाएको छ।

साना देखि ठूला रोगहरूको उपचार गर्न विभिन्न प्रकारका औषधिहरू प्रयोग गरिन्छ । तीमध्ये धेरै रोगजसाे संक्रामक राेगमा एन्टिबायोटिक्सकाे प्रयोग हुन्छ ।

यी औषधिहरूलाई जीवन रक्षकको रूपमा हेरिन्छ । एन्टिबायोटिक्सलाई आधुनिक चिकित्साको मुख्य हिस्सा मानिन्छ र यसले हरेक वर्ष लाखौँ मानिसहरूको ज्यान बचाउँछ ।

तर, जब जीवाणुले एन्टिबायोटिकको प्रतिरोध गर्छ, त्यस्तो अवस्थालाई ‘एन्टिबायोटिक्स रेसिस्टेन्स’ भनिन्छ । यस्तो अवस्थामा संक्रमित व्यक्तिमा औषधिले काम गर्न छोड्छ । पछिल्लो दशकमा संसारभर जीवाणु प्रतिरोधको अवस्थामा वृद्धि भएको पाइन्छ ।

ब्याक्टेरियल रेसिस्टेन्स कुनै पनि एन्टिबायोटिक्स प्रयोगले हुन सक्छ । अति प्रयोगले मल्टिरेसिस्टेन्स बढ्न सक्छ, जसले थप समस्या निम्त्याउँन सक्ने इन्टरनल मेडिसिन प्रा.डा. विद्या सागर प्रसाद बताउँछन् ।

एन्टिबायोटिक रेजिस्टेन्स भएपछि सामान्य औषधि खाएर निको हुने ज्वरो तथा टाइफाइडका बिरामीलाई समेत सामान्य औषधिले काम नगरेर बढी डोजसहित सुई दिनुपर्ने र लामो समयसम्म अस्पतालमै भर्ना गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

यी औषधिहरू तबसम्म प्रयोग गरिन्छ, जबसम्म तिनको प्रभाव नै समाप्त हुँदैन । यसले रोगाणुहरूको प्रतिरोधी क्षमता बढाइरहेको छ । साथै, ‘सुपरबग्स’ नामक एक प्रकारको ब्याक्टेरियाको खतरा पनि बढ्दै गइरहेको छ । अर्कोतिर, यस्ता औषधिहरू नपाएर मृत्यु हुने मानिसहरू पनि छन् । चिकित्सकहरू भन्छन्, पछिल्लो समय यो एक गम्भीर विरोधाभास विषय बनेको छ ।

गैरनाफामूलक संस्था ग्लोबल एन्टिबायोटिक रिसर्च एन्ड डेभलपमेन्ट पार्टनरसिप ‘जिआरएडिपी’ले निम्न र मध्यम आय भएका आठ देशहरूमा करिब १६ लाख कार्बापेनेम–प्रतिरोधी ग्राम–नेगेटिभ (सीआरजीएन) सङ्क्रमणको केसमा एन्टिबायोटिकको पहुँचको जाँच गरेको थियो । यी देश भारत, ब्राजिल र दक्षिण अफ्रिका थिए ।

जिआएएडिपीको अध्ययनले कार्बापेनेम प्रतिरोधी ग्राम नेगेटिभबाट पीडित केवल ६.९ प्रतिशत मानिसहरूले उचित उपचार पाउन सक्षम भएको पत्ता लगाएको थियो ।

द ल्यान्सेट इन्फेक्सियस डिजिजको अध्ययन अनुसार, भारतमा सीआरजीएन सङ्क्रमणका सबैभन्दा धेरै केसहरू थिए र यसको उपचारका लागि पनि एन्टिबायोटिक औषधिका ४२ प्रतिशत कोर्सहरू खरिद गरिएको थियो ।  तैपनि भारतले केवल २.३ प्रतिशत मानिसहरूको मात्र उपचार गर्न सक्यो ।

एन्टिबायोटिकको पूर्णकोर्स भनेको औषधिको त्यो पूरा सेट हो जुन एक बिरामीले सङ्क्रमण पूर्णरूपमा निको पार्न निश्चित अवधिसम्म लिनुपर्ने हुन्छ । सामान्यतया पानी, खाना र मानव आन्द्रामा पाइने ग्राम–नेगेटिभ ब्याक्टेरियाले निमोनिया र खाद्य विषाक्तता निम्त्याउन सक्छ ।

यी ब्याक्टेरियाहरू नवजात शिशु र वृद्धहरू दुवैका लागि गम्भीर खतरा बन्न सक्ने प्रा.डा प्रसाद बताउँछन् ।

उनी भन्छन् ‘विशेष गरी अस्पतालमा भर्ना भएका बिरामीहरू र कमजोर रोग प्रतिरोधी क्षमता भएका व्यक्तिहरूका लागि । यी सङ्क्रमणहरू तीव्र गतिमा आइसीयू जस्ता ठाउँहरूमा फैलिन्छन् । यसको उपचार निकै कठिन हुन्छ र कहिलेकाहीँ उपचार सम्भव नै हुँदैन ।’

कार्बापेनेम–प्रतिरोधी ग्राम–नेगेटिभ ब्याक्टेरियाबाट हुने सङ्क्रमणको उपचार झनै कठिन हुन्छ । किनभने यी ब्याक्टेरियामा सबैभन्दा शक्तिशाली एन्टिबायोटिकको पनि प्रभाव नहुने उनले बताए ।

एकातिर विश्वले एन्टिबायोटिकको अत्यधिक प्रयोग रोक्न खोजिरहेको छ । अर्कोतिर, गरिब देशहरूमा उपचार गर्न सकिने रोगहरूबाट मानिसहरूको ज्यान गइरहेको छ, किनभने उनीहरूलाई औषधि उपलब्ध छैनन् ।

प्रसाद भन्छन् ‘ एन्टिबायोटिकको अत्याधिक प्रयोगको कुरा वर्षौँदेखि चर्चामा छ । तर, निम्न र मध्यम आय भएका देशहरूमा हजारौँ बिरामीहरू गम्भीर सङ्क्रमणसँग जुझिरहेका छन्, उनीहरूलाई उपचारका लागि एन्टिबायोटिक्स पाइरहेका छैनन् ।’

बिरामीहरूलाई सही एन्टिबायोटिक्स किन प्राप्त हुँदैन ?

‘जिआरएडिपी’का अनुसन्धानकर्ताहरूले यसको कारण कमजोर स्वास्थ्य प्रणाली र एन्टिबायोटिकमा पहुँचको कमी भएको बताएका छन् ।

अध्ययनको अनुसार आठ देशहरूमा टाइगेसाइक्लिनको केवल १ हजार २१२ पूर्ण उपचार कोर्सहरू खरिद गरिए, जब कि १६ लाख बिरामीहरूलाई यसको आवश्यकता थियो ।

चिकित्सकहरूले यसको कारण सही स्वास्थ्य केन्द्र र औषधिहरूमा पहुँचको कमी भएको बताएका छन् । साथै, एन्टिबायोटिकको मूल्य यति महँगो छ कि धेरै गरिब बिरामीहरूले यसलाई खरिद गर्न सक्दैनन् ।

‘जसले एन्टिबायोटिक्स खरिद गर्न सक्छन्, उनीहरूले यसको अत्याधिक प्रयोग गरिरहेका छन् । जसले खरिद गर्न सक्दैनन्, उनीहरूलाई एन्टिबायोटिक्स प्राप्त भइरहेको छैन’ डा. प्रसाद भन्छन्, ‘त्यसैले यस्तो प्रणाली चाहिन्छ, जसमा निम्न आयस्रोत भएकाहरूको पनि एन्टिबायोटिकमा पहुँच होस् र यसको अत्याधिक प्रयोग रोक्न सकियोस् ।’

अस्पतालहरूमा प्रत्येक एन्टिबायोटिकको प्रेस्क्रिप्सनमा थप स्वीकृति अनिवार्य हुनुपर्छ । एन्टिबायोटिक औषधि सङ्क्रामक रोग विशेषज्ञ वा माइक्रोबायोलोजिस्टले दिनुपर्ने डा. प्रसादको भनाइ छ ।

अनुसन्धानकर्ताहरू भन्छन्, एन्टिबायोटिकमा सबैको पहुँच र यसको दुरुपयोग रोक्न नीति र कडा नियमहरूको आवश्यकता छ । तर औषधिहरूमा सबैको पहुँच मात्र समाधान होइन । नयाँ एन्टिबायोटिकको विकास रोकिएको छ । यो विश्वव्यापी मुद्दा बनिसकेको छ ।

उनी भन्छिन् ‘चुनौती केवल एन्टिबायोटिकको सही प्रयोग गर्नु मात्र होइन, यो पनि सुनिश्चित गर्नु हो, यी औषधिहरू जसलाई सबैभन्दा बढी आवश्यक पर्छ ती मानिसहरूसम्म पुगोस्।’

नेपालमा के छ अवस्था

नेपाल पनि यो जोखिमबाट मुक्त छैन । विश्वभर एन्टिबायोटिकको द्रूत दुरुपयोग भइरहेको र यसबाट हुने कुल मृत्युमध्ये ९० प्रतिशत एसिया र अफ्रिकामा हुने अनुमान गरिएको छ । यसले नेपाल लगायत विकासोन्मुख देशहरू गहिरो रूपमा प्रभावित हुने देखाउँछ ।

नेपालमा प्रेस्क्रिप्सनबिना औषधि पसलहरूबाट सजिलै एन्टिबायोटिक खरिद गर्न सकिन्छ, जसले गलत र अनावश्यक प्रयोगलाई प्रोत्साहन गर्छ । बिरामीहरूले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिकको खुराक पूरा नगर्दा जीवाणुहरू पूर्णरूपमा नष्ट नभई रेसिस्टेन्ट हुने जोखिम बढ्ने प्रा.डा. प्रसाद बताउँछन् ।

उनी भन्छन् ‘ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवामा पहुँचको कमीले मानिसहरूले अनुभवका आधारमा एन्टिबायोटिक प्रयोग गर्छन् । एन्टिबायोटिकको बिक्री र वितरणमा कडा नियमनको अभाव छ ।’

‘एन्टिबायोटिक रेसिडेन्सको कारण सामान्य रोगहरूको उपचार लामो र महँगो हुँदै गएको छ, किनभने पहिलो र दोस्रो स्तरका एन्टिबायोटिकहरूले काम गर्न छोडेका छन् ।’ उनले भने ।

रेसिस्टेन्ट जीवाणुका कारण लामो समय अस्पताल बस्नुपर्ने र महँगो औषधि प्रयोग गर्नुपर्ने अवस्थाले आर्थिक बोझ बढाएको छ । साथै रेसिस्टेन्ट जीवाणुको फैलावटले महामारीको खतरा बढाएको प्रसादले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?