
News Summary
Generated by OK AI. Editorially reviewed.- अनेरास्ववियुको पहिलो केन्द्रीय कमिटीको बैठकले संगठनलाई ‘जेन जी’ पुस्तासँग जोड्ने निष्कर्ष निकालेको छ।
- उमेरहदका कारण नेतृत्वबाट बाहिरिएकाहरुलाई पार्टीमा उचित स्थान दिएर समेट्नुपर्ने बैठकको माग छ।
- संगठनले विदेशी हस्तक्षेप रोक्न र स्वदेशी रोजगारी सिर्जनामा जोड दिएको छ।
३१ जेठ, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतत्नत्र विद्यार्थी संगठन (अनेरास्ववियु) ले हालै सम्पन्न महाधिवेशनले संगठनलाई ‘जेन जी’ पुस्तासँग जोड्ने औपचारिक मान्यता पाएको निष्कर्ष निकालेको छ ।
शनिबार तुल्सीलाल स्मृति भवन च्यासलमा बसेको नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले ३२ वर्षमुनिका युवाहरुमात्र नेतृत्वमा रहने निर्णयले संगठनलाई ‘जेन जी’सँग जोड्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि नवनिर्वाचित अध्यक्ष डा. सुजन कडरियाले विज्ञप्ति जारी गर्दै ‘कक्षाकोठासँग जोडिएको वास्तविक विद्यार्थी नेतृत्व’ र ‘जेन जी’ पुस्तासँग संगठनलाई जोड्नेगरी नेतृत्व चयन भएको दाबी गरेका छन् ।
२५ जेठदेखि २९ गतेसम्म किर्तिपुरसम्म सम्पन्न महाधिवेशनसँगै उमेरहदका कारण नेतृत्वबाट बाहिरिएकाहरुलाई पार्टीमा उचित स्थान दिएर समेट्नुपर्ने बैठकले माग गरेको छ ।
महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखा परेका केही पछिल्ला घटनाहरुविरुद्ध जनवादी र लोकतान्त्रिक शक्तिहरु एकजुट भई प्रतिगमनका विरुद्ध लड्नुपर्ने सन्देश दिएको अनेरास्ववियुले भनेको छ ।
‘लोकतान्त्रिक प्रणाली र मूल्यमा अडिग शक्तिहरूलाई झूठको प्रचार र अराजनीतिक कुचेष्टा बाट बदनाम गर्ने खेलप्रति गम्भीर चिन्ता व्यक्त गर्दै हामी भन्न चाहन्छौं ‘इतिहासको गति सधैँ प्रगतिशील र भविष्यमुखी हुन्छ, भूतमुखी होइन’,बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
अन्तर्राष्ट्रिय राजनीतिमा भइरहेको शक्ति सन्तुलनको पुनर्संरचना, तीव्र फेरबदल र नयाँ शक्तिकेन्द्रहरूको उदयले नेपालजस्तो मुलुकमा परनिर्भरता र अस्थिरता बढाउने प्रयत्न भइरहेको अनेरास्ववियुको ठहर छ ।
विदेशी हस्तक्षेप रोक्न विद्यार्थीहरु एकजुट हुनुपर्नेमा जोड दिँदै बैठकले स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गरी ब्रेन ड्रेन न्यूनीकरण गर्नतर्फ सरकार र सम्बन्धित निकायको ध्यानकर्षण समेत गराएको छ ।
यसका लागि एकेडेमिया र नीतिनिर्माणबीचको खाडल चिर्न ठोस पहल गरिनुपर्ने भन्दै शिक्षामा रहेको वर्गीय र संस्थागत विभेदको अन्त्य हुनुपर्ने निष्कर्ष अनेरास्ववियुको छ ।
सामुदायिक विद्यालय तथा विश्वविद्यालयहरूलाई सुधार गर्दै सर्वसुलभ र गुणस्तरीय शिक्षाको पहुँच विस्तारको एजेन्डालाई पहिलो प्राथमिकता राख्ने भन्दै अनेरास्ववियुले महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको बताएको छ ।
बैठक केन्द्रीय कमिर्टीमा निर्वाचित आकाश घर्ती मगरलाई आर्थिक सचिव, अधिवक्तासमेत रहेका गोपाल हमाललाई संगठन सचिव, समिम बाबु खानलाई प्रचार सचिव र ईन्जिनियर रचना सापकोटालाई विदेश सचिवको जिम्मेवारी तोकेको छ ।
प्रतिक्रिया 4