+
+
Shares

एलिटकै कब्जामा ‘जेनजी न्यारेटिभ’

जेनजीबारेको न्यारेटिभ सभ्रान्त वर्गले नै बनाइरहेको छ । हामी जसलाई हेरेर ‘जेनजी यस्ता हुन्छन्’ भनिरहेका छौँ, त्यसले सबैलाई समेट्दैन ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ असार २ गते १५:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वेक्षण र अध्ययनले ‘जेनजी’को सोच, व्यवहार र रुचि परम्परागत पुस्ताभन्दा फरक देखाउँछ।
  • नेपालमा भने यसको अध्ययन कम छ।
  • विशेषज्ञहरूले ‘जेनजी’ अवधारणा नेपाली समाजमा लागू गर्न नसकिने बताएका छन् ।

२ असार, काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेटमा पहिलोपटक ‘जेनजी’ले स्थान पायो । बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले जेनजी लक्षित ‘इन्क्युबेसन सेन्टर’ सञ्चालन गरिने बताए । स्टार्टअप कार्यक्रम योजना पनि जेनजी लक्षित नै हुने उनले सुनाए ।

जेनजी त्यो पुस्ता हो, जहाँ सबैभन्दा बढी युवा छन् । यो उमेर समूहका ‘पाका’हरू पनि जम्मा २८ वर्षका भए । कान्छाहरू १३ वर्षमा हिँडिरहेका छन् ।

२०७८ सालको जनगणनाले भन्छ– देशको करिब ३० प्रतिशत जनसंख्या जेनजीले ओगटेको छ ।

नयाँ पुस्ताले भविष्यको नेतृत्व गर्ने भएकाले पनि पछिल्लो समय जेनजीको रुचि, प्रकृति र व्यवहारलाई लिएर विभिन्न अध्ययन भएका छन् । विश्वभर यो पुस्ताले भित्र्याएको नयाँ ट्रेन्डबारे बहस भइरहेको छ ।

स्ट्यानफोर्ड विश्वविद्यालय अन्तर्गतको ‘सेन्टर फर एड्भान्स्ड स्टडी इन द बिहेभियरल साइन्सेस’की अनुसन्धानकर्ता रोबर्टा क्याट्जको नेतृत्वमा गरिएको एक अध्ययनले भन्छ- जेनजीको सोच, बानी-व्यवहार र काम गर्ने शैली अघिल्ला पुस्ताभन्दा निकै फरक छ । स्मार्टफोन, इन्टरनेट र सामाजिक सञ्जालसँगै हुर्किएको यो पुस्ता सहयोगी, आत्मनिर्भर र व्यावहारिक छ ।

पुराना पुस्ताले ‘अल्छी’ ठाने पनि यो पुस्ता चुनौतीलाई बुझेर त्यसको समाधान खोज्न सक्ने क्षमता राख्ने सो अध्ययनको दाबी छ । १८–२५ वर्षका २ हजारभन्दा बढी युवामाझ गरिएको यो सर्वेक्षणको निष्कर्ष थियो– जेनजीको ध्यान सामाजिक न्याय, जलवायु परिवर्तन, लैंगिक समानता जस्ता विषयहरूमा केन्द्रित छ ।

विभिन्न रिसर्चले जेनजीलाई ‘प्रोग्रेसिभ’ देखाउँछ । तर नेपालका विश्वविद्यालयदेखि सम्बन्धित संघ-संस्थाले यो पुस्ताबारे खासै अध्ययन गरेको पाइँदैन । पश्चिमासहित अन्य विकसित देशका जेनजीबारे विभिन्न अध्ययन भए पनि नेपाली जेनजीबारे त्यति धरै अनुसन्धान भेटिँदैनन् । जति चर्चा भएका छन्, त्यो केबल काठमाडौं सहितका शहरमा सीमित छ । पिछडिएको भूगोलका जेनजीको चर्चा यसले गर्दैन ।

यता, शीर्ष राजनीतिक दलदेखि विद्यार्थी संगठनसम्म यो भाष्यमा लोभिएका देखिन्छन् । गत पुसमा नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा त जेनजी पुस्ता केन्द्रित पार्टी अभियान चलाउनुपर्ने प्रस्ताव नै आयो । अन्य दलका नेताहरूको भाषणमा पनि ‘जेनजी’ खुब सुनिन थालेको छ ।

शनिबार मात्र नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले जेनजी पुस्तालाई संगठनमा जोड्न यो महाधिवेशन ऐतिहासिक रहेको निष्कर्ष निकाल्यो । अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठकको निष्कर्ष सुनाउँदै अध्यक्ष सुजन कडरियाले भने, ‘३२ वर्षमुनिका युवा मात्र नेतृत्वमा रहने निर्णयले ‘कक्षा कोठासँग जोडिएको वास्तविक विद्यार्थी नेतृत्व’ र ‘जेनजी’ पुस्तासँग सङ्गठनलाई जोड्ने हाम्रो प्रतिबद्धतालाई औपचारिक मान्यता प्रदान गरेको छ ।’

पछिल्लो समय यसरी चर्चामा आएको नयाँ पुस्ताको यस्तो भाष्य एलिट वर्गकै ‘कब्जा’मा रहेको र त्यसकै घेरोमा नयाँ पुस्ताको बहस सीमित भएकोमा समाज अध्येताहरू चिन्तित देखिन्छन् ।

जेनजीजस्ता अवधारणालाई समाजमा लागु गर्नुअघि हाम्रो सामाजिक, आर्थिक र भौगोलिक विविधतालाई ध्यान दिनुपर्छ । पश्चिमा मोडलको बुझाइ हाम्रोमा जस्ताको तस्तै स्वीकार गर्न सकिँदैन ।

समाजशास्त्री दिपेश घिमिरे भन्छन्, ‘जेनजी अर्थात् नयाँ पुस्ताबारे न्यारेटिभ पनि एलिट वर्गले नै बनाइरहेको छ । हामी जसलाई हेरेर ‘जेनजी यस्ता हुन्छन्’ भनिरहेका छौँ, त्यसले सबैलाई समेट्दैन ।’

घिमिरेका अनुसार पछिल्लो समय चर्चामा रहेको जेनजीलाई बुझ्ने र वर्गीकरण गर्ने तरिका प्रायः पश्चिमा देशहरूको सन्दर्भमा आधारित रहेको छ । तर हाम्रो जस्तो विविधतायुक्त समाजमा यो अवधारणा पूर्ण रूपमा लागु हुँदैन ।

उदाहरणका लागि, घिमिरे केही समयअघि हुम्लामा थिए । त्यहाँ उनले एकजना व्यक्ति भेटे, जसको उमेर सोध्दा ३८ वर्षको भएको थाहा भयो । तर घिमिरेले सुरुमै आमा भनेर सम्बोधन गरिसकेका थिए । ‘यो घटनाले मलाई सोच्न बाध्य बनायो– एउटै उमेर समूहका मानिसहरूको जीवनमा कति धेरै भिन्नता हुन्छ । मभन्दा कान्छी उमेरकी उहाँलाई आमा भनेर सम्बोधन गरेँ,’ घिमिरले अनुभव सुनाए ।

त्यसैले हाम्रो समाजमा पुस्तालाई बुझ्ने कुरा केवल जन्म मितिमा मात्र आधारित हुँदैन । भूगोल, शिक्षा, आर्थिक अवस्था, धर्म, लिङ्ग र सामाजिक वर्गले पनि ठूलो प्रभाव पार्छ । काठमाडौँको जेनजी र कर्णालीको जेनजीको जीवनशैली र पहुँचमा आकाश–जमिनको फरक हुन्छ । यस्तो अवस्थामा ‘जेनजी’ जस्ता पश्चिमा अवधारणालाई नेपाली समाजमा जस्ताको तस्तै लागु गर्नु उपयुक्त नहुने घिमिरेको तर्क छ ।

तर, कर्णाली प्रदेशको निती तथा कार्यक्रममा समेत जेनजी लक्षित कार्यक्रम आएपछि सरोकारवाला अचम्मित छन् । कर्णालीको नीति–कार्यक्रममा निजी तथा सार्वजनिक क्षेत्रमा सूचना प्रविधिमा आधारित उद्यम व्यवसाय र सेवा प्रवाहको उपयोगलाई बढाउँदै जेनजी पुस्तालाई प्राथमिकतासहित सहयोग र सहुलियत प्रदान गरिने बताइएको छ ।

‘कर्णाली प्रदेशको बजेटमा ‘जेनजी लक्षित’ कार्यक्रमको कुरा आएछ । तर जेनजी भनेको को हो ? यो प्रश्नको जवाफ नीति निर्मातासँग छैन,’ समाजशास्त्री मीना पौडेलले भनिन्, ‘त्यही कर्णालीका अधिकांशलाई सोध्दा पनि यसबारे थाहा छैन होला । आफ्नो सुरले जे हौवा चल्यो, त्यसकै आधारमा नीति बनाएर कसरी हुन्छ ?’

यसबारे युवा तथा खेलकुद मन्त्रालयलाई सोध्दा जेनजीमाथि कुनै अध्ययन नभएको बतायो । मन्त्रालयका सूचना अधिकारीसमेत रहेका उपसचिव जगदीश पराजुलीले पछिल्लो समय चलनचल्तीमा रहेको जेनजी, जेन अल्फाजस्ता विषयलाई छुट्याएर काम नभएको जानकारी उनले दिए । बरु मन्त्रालयले तयार गरेको मस्यौदा ‘राष्ट्रिय युवा नीति, २०८१’ मा युवा लक्षित नीतिमा काम भइरहेको तर यस्ता चलनचल्तीको भाष्य त्यसमा उल्लेख नभएको उनले बताए ।

‘जेनजी, अल्फा लगायतका ‘फेन्सी वर्ड’मा आधारित वर्गीकरणभन्दा पनि हामीले जसलाई युवा भन्छौँ, त्यसमा टेकेर नीति बनाइएको छ, जुन मन्त्रिपरिषद्मा गइसक्यो,’ पराजुलीले भने ।

अनलाइनखबरलाई प्राप्त उक्त मस्यौदामा ‘युवा भन्नाले १८ वर्षदेखि ३५ वर्षसम्मका नागरिकलाई जनाउनेछ’ भनिएको छ । मस्यौदामा युवा केन्द्रित विभिन्न कार्यक्रम उल्लेख गरिएको भए पनि बजेटमै आएझैँ ‘पुस्ता वर्गीकरणको आधुनिक भाष्य’मा आधारित कुनै कार्यक्रम रहेको देखिँदैन । ‘जेनजी’जस्ता जार्गन नै त्यसमा छैनन् ।

समाजशास्त्री घिमिरेका अनुसार जेनजीको परिभाषा मुख्य रूपमा पश्चिमा देशहरूको सन्दर्भमा आधारित छ । नेपाल, विशेषगरी ग्रामीण क्षेत्रमा, यो पुस्ताका धेरैजना आधारभूत शिक्षा, स्वास्थ्य सेवा र पोषणयुक्त खानाबाट समेत वञ्चित छन् । काठमाडौँको एक जेनजी युवा, जसले इन्टरनेट र आधुनिक शिक्षाको पहुँच पाएको छ र रुकुमको अर्को जेनजी युवा, जसले स्कुल जाने अवसर समेत पाएको छैन, यी दुईको जीवन तुलना गर्न सकिँदैन ।

राज्यले ल्याएको नीतिदेखि विभिन्न मिडियामा बनेका भाष्य मुख्यगरी शहरी क्षेत्रका मध्यम र उच्च वर्ग लक्षित रहेको घिमिरेले बताए । ग्रामीण क्षेत्रका युवा, जो आधारभूत आवश्यकताबाटै वञ्चित छन्, यो नीतिबाट लाभान्वित हुन सक्दैनन् ।

उदाहरणका लागि, एउटा युवा पोषणयुक्त खाना नपाएर स्वास्थ्य समस्यासँग जुधिरहेको छ भने अर्को स्कुल नपाएर निरक्षर छ । यस्ता युवालाई जेनजीको एकै क्याटेगरीमा राखेर बनाइएको नीतिले नसमेट्ने घिमिरेको बुझाइ छ ।

पुस्तालाई वर्गीकरण गर्ने पश्चिमा आधारहरू– प्रविधिको उपयोग, शिक्षाको स्तर र जीवनशैली नेपाली समाजमा पूर्ण रूपमा लागु हुँदैन । यहाँ बसोबास गर्ने ठाउँ, आर्थिक अवस्था र सामाजिक पृष्ठभूमिले मानिसको जीवनलाई धेरै हदसम्म प्रभाव पार्छ । त्यसैले हामीले पुस्तालाई बुझ्ने र नीति बनाउने कुरामा हाम्रो आफ्नै सन्दर्भलाई प्राथमिकता दिनुपर्नेमा घिमिरेको जोड छ ।

‘जेनजीजस्ता अवधारणालाई हाम्रो समाजमा लागु गर्नुअघि हामीले हाम्रो सामाजिक, आर्थिक र भौगोलिक विविधतालाई ध्यान दिनुपर्छ । नीति निर्माता, मिडिया र सार्वजनिक विचार निर्माण गर्ने निकायहरूले यी अवधारणालाई समालोचनात्मक रूपमा हेरेर हाम्रो सन्दर्भमा ढाल्नुपर्छ । पश्चिमा मोडलको यो बुझाइ हाम्रोमा जस्ताको तस्तै एडप्ट गर्न सकिँदैन,’ घिमिरेले भने ।

समाजशास्त्री मीना पौडेलको तर्क पनि उस्तै छ । उनका अनुसार ‘जेनजी’ शब्द नै सभ्रान्त वर्ग (एलिट क्लास) बाट आएको हो । यसले शहरमा बस्ने, प्रविधिमा पहुँच भएको र आधुनिक जीवनशैली अपनाउने सानो समूहलाई मात्र समेट्छ । नेपालको सन्दर्भमा यसले समाजको ठूलो हिस्सालाई बेवास्ता गर्छ ।

‘गाउँमा बस्ने, सीमित स्रोत-साधनमा बाँच्ने किशोर–किशोरीहरू यो परिभाषामा पर्दैनन्,’ पौडेलले भनिन्, ‘जेनजीबारे पछिल्लो समय सतहमा आएका बहसहरू हेर्दा यसले एक निश्चित उमेर समूहका किशोर–किशोरीलाई स्टिग्माटाइज (कलंकित) गर्छ । उनीहरूलाई प्रविधिमा हराउने, स्वार्थी, वा सामाजिक मूल्यबाट टाढा भनेर चित्रण गरिन्छ । तर हाम्रो समाजका अधिकांश किशोर–किशोरी यस्ता छैनन् ।’

यसरी जेनजी वा जेन अल्फा भनेर सिंगो पुस्तालाई नै सामान्यीकरण गर्दा कस्तो प्रभाव पर्छ त ?

यसरी गरिने सामान्यीकरण (जेनरलाइजेसन) लाई खतरनाक मान्छिन्, पौडेल । उनका अनुसार यसले एउटै ‘फर्मुला’ सबैमा लाद्न खोज्छ । यसले आम सर्वसाधारण, विशेषगरी सीमान्तकृत समुदायका किशोर–किशोरीलाई समेट्दैन । यसले समाजमा भ्रम सिर्जना गर्छ ।

जेनजी भनेर जस्ता सपना देखाउँन खोजिँदैछ, यसले नेपाली युवालाई मनोवैज्ञानिक रूपमा आतंकित पार्छ । कारण, अधिकांश नेपालीको जीवनशैली, चुनौती र सपना पछिल्लो समय सतहमा आएको नयाँ भाष्यसँग मेल खाँदैन ।

‘अहिले जेनजी यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ भनेर एलिट वर्गको सानो समूहलाई हेरेर जस्तो भाष्य बनाउन खोजिँदैछ, यसले आम युवालाई छुँदैन, शहरिया सानो हिस्साको मात्र कुरा गर्छ । बरु यस्ता न्यारेटिभले उनीहरूमा डर सिर्जना गर्छ । त्यसैले हामीले हाम्रा बहुसंख्यक किशोर–किशोरीको विविधता बुझ्न अध्ययन गर्न जरुरी छ । र, हाम्रै अनुकूलता अनुसारको नीति र योजना बनाउनुपर्छ,’ पौडेलले भनिन् ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?