+
+
Shares
त्रिवि तोडफोड घटना : :

‘सेटिङ’मा पक्राउ परेका नेविसंघ नेता २ दिनमै सुटुक्क रिहा, २ जनाविरुद्ध भएन जाहेरी दर्ता

मदनराज उपाध्याय गृहमन्त्री रमेश लेखक निकट मानिन्छन् । भुवन ओझा भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । सभापति र गृहमन्त्री निकट रहेकै कारण तोडफोडको जाहेरी आउँदा समेत प्रहरीले दर्ता गर्न सकेन ।

नारायण अधिकारी दिनेश गौतम नारायण अधिकारी, दिनेश गौतम
२०८२ असार १ गते २१:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिविमा तोडफोड गरेको आरोपमा पक्राउ परेका दुई नेविसंघ नेतालाई प्रहरीले रिहा गरेको खुलेको छ।
  • प्रहरीले उनीहरुलाई ‘सेटिङ’ अनुसार पक्राउ गरी पछि रिहा गरेको पाइएको हो।
  • त्रिविका पदाधिकारी र विद्यार्थीहरू तोडफोड र धम्कीको डरले कार्यालय जान असुरक्षित मानिरहेका छन्।

१ असार, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि (त्रिभुवन विश्वविद्यालय) मा तोडफोड गरेको आरोपमा पक्राउ परेका नेपाल विद्यार्थी संघ (नेविसंघ) दुई नेविसंघका दुई नेतालाई सुटुक्क छाडिएको खुलेको छ ।

२१ जेठमै प्रहरी वृत्त कीर्तिपुरमा त्रिविमा तोडफोड गर्नेविरुद्ध उजुरी परेको थियो । तर, उनीहरुलाई प्रहरीले लामो समयसम्म पक्रेन ।

तर प्रहरीले उनीहरुलाई पक्राउ नगरी अनुसन्धान प्रतिवेदन तयार गरेर सरकारी वकिलमा पठाउने तयारी गर्‍यो । त्यसपछि बल्ल तोडफोड घटनामा संलग्न मध्ये दुई जनालाई ‘सेटिङ’ प्रहरीले पक्राउ गरेको पाइएको छ ।

पक्राउ परेको दुई दिनमै उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएर रिहा गरिएको खुलेपछि कारबाही गरेजस्तो देखाउनका लागि मात्रै पक्राउ गरेजस्तो देखिएको छ ।

परिसर काठमाडौंको टोलीले धुन्चेपाखा भक्तपुरबाट तोडफोडमा संलग्न भएको आरोप लागेका दिक्पाल कार्की र लोकेश कुँवरलाई पक्राउ गरेको थियो ।

२७ जेठमा पक्राउ परेका उनीहरु प्रतिवेदन प्रहरीले यसको भोलिपल्टै सरकारी वकिल कार्यालयमा पठाएको पाइएको छ ।

त्रिविका पदाधिकारीको निरन्तर दबाब र सञ्चार माध्यममा निरन्तर समाचार आएपछि मात्रै उनीहरुलाई पक्राउ गर्न प्रहरीलाई गृहले निर्देशन दिएको पाइएको एक अनुसन्धान अधिकृत बताउँछन् ।

ती अधिकृतले भनेजस्तै भोलिपल्टै अनुसन्धान प्रतिवेदन पेस गरेर पर्सीपल्टै उनीहरु छुट्नुले पनि उनीहरुको पक्राउ पनि ‘सेटिङ’मै भएको देखिन्छ । २७ जेठमा पक्राउ परेका दुबै जनालाई सबैभन्दा कमजोर मुद्दा अर्थात् ‘अभद्र व्यवहार’को कसुरमा म्याद लिइएको थियो ।

एक वर्षभन्दा कम सजाय हुने अभद्र व्यवहार कसुरको मुद्दा प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले हेर्ने कानुनी व्यवस्था छ । जसकारण पक्राउ परेका दुई जनाविरुद्ध सीडीओ कार्यालयले अनुसन्धानका लागि पाँच दिनको म्याद समेत पाएको थियो ।
तर, पाँच दिनको म्याद लिएपनि पक्राउ परेको दुई दिनमै उनीहरु रिहा भएको छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बिहीबार जनही दश हजार रुपैयाँ धरौटी बुझाएर उनीहरु रिहा भएका हुन् । परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले पनि उनीहरु रिहा भएको विषय स्वीकार गरे । ‘सीडीओ कार्यालयको आदेश भएपछि हामीले उहाँहरुलाई रिहा गरेका हौं’, एसपी बोहराले अनलाइनखबरसँग भने ।

तर, यति छिट्टै उनीहरुको मुद्दा कसरी सीडीओ कार्यालय पुग्यो भन्नेबारे प्रहरीले केही बताएको छैन । स्रोतकाअनुसार पूर्वतयारी अनुसार नै उनीहरुलाई पक्राउ गरेर तुरुन्तै मुद्दा दायर गरिएको हो ।

‘माथिको निर्देशनअनुसार पहिला मुद्दाको कागजात तयार पारेपछि बल्ल उनीहरुलाई नियन्त्रणमा लिइएको हो । लगत्तै मुद्दा पेस भयो । अनि उहाँहरु छुट्नुभयो’, एक अनुसन्धान अधिकृतले भने ।

पक्राउ परेका कुँवर शंकरदेव क्याम्पसमा अध्ययनरत नेविसंघका नेता हुन् भने कार्की सानोठिमी क्याम्पसमा अध्ययनरत थिए । त्रिविमा तोडफोड गरेपछि निकालेको विज्ञप्तीमा समेत उनीहरुको नाम र हस्ताक्षर थियो । तोडफोडको भिडियोमा समेत उनीहरुको अनुहार प्रष्ट देखिन्थ्यो ।

२ जनाविरुद्ध दर्ता भएन जाहेरी

कार्की र कुँवर पक्राउ परेर सुटुक्क रिहा भएपनि यो प्रकरणमा जोडिएका दुई जनाविरुद्धको उजुरी भने प्रहरीले दर्ता नै नगरेको पाइएको छ । उजुरी दर्ता नभएकाहरुमा मदनराज उपाध्याय र भुवन ओझा छन् ।

उनीहरुविरुद्ध उजुरी आएपनि गृहमन्त्रालयकै दबाबका कारण दर्ता गर्न नसकिएको एक अनुसन्धान अधिकारी बताउँछन् । उजुरी दर्ता नभएका उपाध्याय २०७९ मा भएको स्ववियु निर्वाचनबाट निर्वाचित स्ववियु सचिव हुन् ।

भुवन ओझा भने निर्वाचित सहसचिव हुन् । शंकरदेवमा यो पटक स्ववियु निर्वाचन भएकाले उनीहरुले कामकाज गरिरहेका छन् ।

मदनराज उपाध्याय गृहमन्त्री रमेश लेखक निकट मानिन्छन् । भुवन ओझा भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । सभापति र गृहमन्त्री निकट रहेकै कारण तोडफोडको जाहेरी आउँदा समेत प्रहरीले दर्ता गर्न सकेन ।

जाहेरी नै दर्ता नभएका ओझा र उपाध्याय पनि तोडफोडमा उत्रिएको भिडियोमै प्रष्ट देखिन्छ । तर भिडियोसहितको प्रमाण हुँदाहुँदै उनीहरुले भने शक्तिकेन्द्रको पहुँचकै कारण उन्मुक्ति पाएको एक अधिकृत सुनाउँछन् ।

‘अभियुक्त छुटेपछि त्रासमा छौं’

त्रिभुवन विश्वविद्यालयमा नेविसंघका नेता तथा स्ववियु पदाधिकारीले तोडफोड र तालबान्दी गरेपछि उपकुलपति प्रा.डा. खड्ग केसी, रेक्टर प्रा.डा. दुविनन्द ढकाल र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल कार्यालय गएका छैनन् । डर र त्रासमा रहेका पदाधिकारी पुल्चोक क्याम्पसबाट दैनिक कामकाज गरिरहेका छन् ।

‘कहिले पुल्चोक, कहिले पनिका, कहिले डीन अफिसमा बसेर काम गरिरहनु भएको छ,’ त्रिविका एक अधिकारीले भने ।
तोडफोडमा संलग्नलाई कारबाही गर्नुको सट्टा पक्राउ परेकालाई पनि छोडेपछि पदाधिकारीहरूले थप असुरक्षित महसुस गरेका छन् ।

‘सरहरू कार्यकक्षमा आउने स्थिति छैन, तोडफोड गर्नेलाई कारबाही नभएसम्म कार्यकक्षमा आउने अवस्था छैन,’ भीसी कार्यालयका एक कर्मचारीले भने ।

यतिसम्म कि, तोडफोडमा संलग्नहरूले पदाधिकारीहरूलाई विद्यार्थीले ज्यान मार्नेसम्मको धम्की दिएका छन् ।
त्रिविले दोषीलाई कारबाही गर्न प्रहरी वृत्त कीर्तिपुरमा २१ जेठमा जाहेरी दिएको थियो ।

सीसीटीभी फुटेजको आधारमा दोषी पहिचान गरी कारबाही गर्न त्रिविले जाहेरीमा भनेको थियो । तर, पहुँचकै आधारमा पक्राउ परेका कोही छुट्ने र कोही पक्राउ नै नपर्ने र कतियपयविरुद्ध उजुरी नै दर्ता नहुने भएपछि त्रिविका पदाधिकारी त्रासमा छन् ।

सार्वजनिक सम्पत्ति तोडफोड गर्नुलाई कानुनले समेत अपराध भनेको छ । मुलुकी अपराध संहितामा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई १ वर्षसम्मको कैद र १० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि त्रिविमा तोडफोड गर्नेलाई कारबाही गर्न गृह प्रशासनलाई आग्रह गरेको छ । शिक्षा मन्त्री रघुजी पन्तले दोषीलाई कारबाही गर्न गृह प्रशासनलाई अनुरोध गरेका थिए ।

सीसीटीभी फुटेज र विद्यार्थीहरूले विज्ञप्तिमा हस्ताक्षर गरेको आधारमा तोडफोड र नाराबाजी गर्नेहरूको नाम पहिचान भएको थियो । तर पनि शक्तिकेन्द्रले संरक्षण दिँदा आरोपितले उन्मुक्ति पाएका छन् ।

त्रिविका अनुसार मदनराज उपाध्याय, भुवन ओझा, गजेन्द्र बम, भोजराज जोशी, लोकेश कुँवर, सविन भट्ट, सोनु साह, किशोर थापा, दिक्पाल कार्की लगायत तोडफोडमा संलग्न थिए ।

यो समूहले १४ जेठमा उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेको थियो भने रेक्टरको कार्यालयमा तालबन्दी गरेको थियो ।

स्नातक पहिलो वर्षको भर्ना खुलाउन माग गर्दै काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघबाट निर्वाचित भएका स्ववियुका विद्यार्थी नेता उपकुलपति कार्यालय गएका थिए ।

उपकुलपति केसी कार्यकक्षमा नभएको समयमा तोडफोड भएको थियो । त्यसयता त्रिवि अहिले पनि अशान्त र असुरक्षित छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?