
News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रा.डा खड्ग केसीको कार्यकक्षमा तोडफोडको घटना भएको थियो।
- प्रहरी वृत कीर्तिपुरले सीसीटीभी फुटेज हेरेर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
- नेविसंघका नेता कार्यकर्ता र स्ववियु पदाधिकारीले त्रिविमा तोडफोड गरेको आरोप छ।
२१ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोड गर्नेविरुद्ध जाहेरी परेसँगै अनुसन्धान अगाडि बढेको छ । प्रहरी वृत्त कीर्तिपुरमा बुधबार त्रिविले जाहेरी दर्ता गराएको हो । जाहेरीमा सीसीटीभी फुटेज हेरेर पहिचान गरी अनुसन्धान गर्न भनेको छ ।
‘फुटेज हेरर पहिचान गरिरहेका छौँ,’ प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायव उपरीक्षक राजबाबु महर्जनले भने । सीसीटीभी फुटेज हेरेर अनुसन्धान भइरहेको उनले बताए । गत १४ नेविसंघका नेता कार्यकर्ता र नेविसंघबाट निर्वाचित भएका स्ववियुका पदाधिकारीले उपकुलपतिको कार्यालयमा तोडफोड र रेक्टर कार्यालयमा तालाबन्दी गरेका थिए ।
त्रिविको कार्यकारी परिषद्ले दोषीलाई कारबाही गर्ने निर्णय गर्दै प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिएका थिए । तर प्रहरीले जाहेरी मागेपछि त्रिविले बुधबार जाहेरी दिएको हो । प्रहरी वृत्त कीर्तिपुरले मंगलबार त्रिविलाई पत्र लेखेर जाहरी दिन भनेको थियो ।
‘प्रहरीकै अगाडि तोडफोड भएको छ । सार्वजनिक सम्पत्ति तोडफोड गर्नेविरुद्ध जाहेरी नै दिनु पर्ने त होइन । तर प्रहरीले मागेपछि प्रक्रिया पुर्याएर जाहेरी दिएका छौँ,’ त्रिविका एक अधिकारीले भने ।
सो दिन नेविसंघ निकटका विद्यार्थी नेता र नेविसंघबाटै निर्वाचित भएका स्ववियुका पदाधिकारीसमेत संलग्न थिए । काठमाडौं उपत्यकाका विभिन्न कलेजमा नेविसंघबाट निर्वाचित भएका स्ववियुका पदाधिकारीहरू स्नातकको भर्ना खुलाउने पर्नेे माग राखेर उपकुलपति कार्यालय पुगेका थिए ।
तर उपकुलपति केसी कार्यकक्षमा थिएनन् । र, विद्यार्थी नेताहरू उपकुलपतिको कार्यकक्षमा छिर्न खोजेपछि प्रहरीले रोकेको थियो । सो क्रममा विद्यार्थी नेताहरूले तोडफोड गरेका थिए ।
त्रिविले सीसीटीभी फुटेज र विज्ञप्तिमा हस्ताक्षर गरेको आधारमा तोडफोड र नाराबाजी गर्नेहरूको नाम पहिचान गरिएको जनाएको छ । त्रिविका अनुसार शंकरदेवका मदनराज उपाध्याय, भुवन ओझा, गजेन्द्र बम, भोजराज जोशी, लोकेश कुँवर, सविन भट्ट, सोनु साह, किशोर थापा छन् ।
पब्लिक युथ क्याम्पसका सन्तोष श्रेष्ठ, सरस्वती क्याम्पसका मुस्कानराज गौतम, भक्तपुर क्याम्पसका पुकार पराजुली, कैलाशकुट बहुमुखी क्याम्पसका मुरारी गौतम, काभ्रे बहुमुखी क्याम्पसका रोहित पराजुली, राजेश तिमिल्सिना लगायतको संलग्न रहेको त्रिविले जनएको छ ।
तोडफोडपछि संयुक्त हस्ताक्षर गरेको विज्ञप्ति र भिडियो पनि सार्वजनिक भएको छ ।

सार्वजनिक सम्पत्ति तोडफोड गर्नुलाई कानुनले समेत अपराध भनेको छ । मुलुकी अपराध संहितामा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई १ वर्षसम्मको कैद र १० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि त्रिविमा तोडफोड गर्नेलाई कारबाही गर्न गृह प्रशासनलाई आग्रह गरेको छ । बुधबार मन्त्रालयले विज्ञप्ति निकालेर शिक्षा मन्त्री रघुजी पन्तले दोषीलाई कारबाही गर्न गृह प्रशासनलाई अनुरोध गरेको मन्त्रालयले जनाएको छ ।
‘अनुशासनहीन र गैरकानूनी कार्यमा संलग्न जोसुकै भएपनि गम्भीर अनुसन्धानबाट पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन गृह प्रशासनको उच्च तहसँग परामर्श गर्दै सम्बन्धित पदाधिकारीलाई आवश्यक अनुरोध गर्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
शिक्षा मन्त्रालयले पनि तोडफोडको घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १७ (३) अनुसार सहकुलपतिका हैसियतबाट मन्त्रीज्यूले उक्त घटनाका सम्बन्धमा सुक्ष्म अध्ययन गरिरहनु भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया 4