
News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायतको अल्डरसट शहर नेपाली व्यवसायीको हब बनेकाले यसलाई ‘नेपाली टाउन’ नामले पनि चिनिन्छ।
- हिराका गरगहना बिक्री हुने पसल, रेष्टुरेन्ट र ग्रोसरी लगायतका पसलहरू छन् । गत फेब्रुअरी दोश्रो साता नेपाली उद्यमीहरुले सपिङ मल रहेको भवनसहितको प्रपर्टी झण्डै एक अर्ब ७५ करोड रुपैयाँमा खरिद गरे ।
- ‘नेपाली समुदायको रसमोरमा बलियो उपस्थिति छ, २० वर्षभित्र त यहाँ नेपालीमात्र हुन्छन् होला’ त्यहाँ रहेका नेपालीहरु भन्छन् ।
लन्डन । ‘ब्रिटिश सेनाको घर’ पनि भनेर चिनिने बेलायतको इंग्ल्याण्डस्थित अल्डरसट शहर अहिले नेपाली व्यवसायको हब बनेको छ ।
नेपाली जनसंख्या उल्लेख्य रहेको अल्डरसट शहरमा नेपाली व्यवसायीले रेष्टुरेन्ट, सुनचाँदी, ग्रोसरी, हेयर सलुन, कपडा पसलदेखि प्रपर्टी बिजनेस समेत सञ्चालन गरेका छन् ।
रसमोर बरोस्थित अल्डरसटलाई ‘नेपाली टाउन’ समेत भन्न थालिएको छ ।
रसमोरको फार्नबरोमा विगत २६ वर्षदेखि गोर्खा प्यालेस रेष्टुरेन्ट सञ्चालन गर्दै आएका एनआरएनए यूकेका पूर्व अध्यक्ष सूर्य गुरुङले अल्डरसट र फार्नबरोमा तीन माइलभित्र करिब २८ वटा नेपाली रेष्टुरेन्ट सञ्चालन भइरहेको जानकारी दिए ।
गत फेब्रुअरी दोश्रो साता नेपाली उद्यमीहरुले यही शहरमा सपिङ मल रहेको भवनसहितको प्रपर्टी झण्डै एक अर्ब ७५ करोड रुपैयाँमा खरिद गरे ।
पीआरएन इन्भेष्टमेन्ट लिमिटेडले अल्डरसटस्थित वेलिङटन सपिङ सेन्टर र आसपासको प्रपर्टी १० मिलियन पाउण्डमा खरिद गरेको हो । नेपाली उद्यमीहरुले खरिद गरेको यो प्रपर्टी नै अहिलेसम्म बेलायतमा सबैभन्दा ठूलो भनेर चर्चा समेत भयो ।
सोही प्रपर्टी खरिद गरेका व्यवसायी पुरन गिरीले अल्डरसटमै सन् २०१५ देखि एम्पायर हल र सन् २०२२ देखि सुसी मोतो सञ्चालन गर्दै आएका छन् ।

बेलायतमा नेपालीको पहिलो ट्याक्सी बिजनेश गर्ने गिरी विगत सम्झन्छन्, ‘सन् १९९९ तिर नर्थ क्याम्पमा हामी १५–२० जना जति सिभिल मात्र थियौं । बेला–बेला जमघट हुन्थ्यो, नेपाली खान मन लागे गोर्खा राजदूत रेष्टुरेन्ट जान्थ्यौं । यतिसम्म कि खुर्सानी र चामल समेत पाउन मुश्किल थियो ।’
तर विस्तारै सिभिल र गोर्खाहरुले परिवारजन, आफन्त तान्दातान्दै अहिले यो नेपाली टाउन बन्यो । ‘अहिले त स्थानीय सरकारसम्म हाम्रो पहुँच छ । केही काउन्सिलर नेपाली नै छन् । सांसदसमेत हामीसँग सहकार्य गर्न चाहन्छन्’, गिरी गर्व गर्छन्, ‘साँच्चै भन्दा अंग्रेजभन्दा नेपाली व्यवसाय बढी भइसके । हामीमाझ एकता र व्यवसायमा पनि स्वस्थ्य प्रतिस्पर्धा छ ।’
हिराका गरगहना बिक्री गर्ने नेपालीको एकमात्र र पहिलो व्यवसाय अनुग्रह बुलियनले पनि अल्डरसटमा राम्रो व्यापार गरिरहेको सञ्चालक सुमन राई बताउँछन् । ‘काँचो सुनको होलसेल साथै रोलेक्स, कार्टियर जस्ता लक्जरी वाच र हिराका गहना किन्ने नेपालीहरु पनि अधिक छन्’, करिब डेढ मिलियन पाउण्ड लगानीमा गत वर्ष जुलाईबाट व्यवसाय शुरु गरेका राईले सुनाए ।

नेपाली समुदायको आगमन बढेसँगै नेपालीलाई चाहिने खाद्यान्न, कपडा, सुनचाँदी र रेष्टुरेन्ट व्यवसाय बढेको व्यवसायी बताउँछन् ।
‘अंग्रेजले व्यवसाय छाड्ने र स्पेस पाउने बित्तिकै नेपालीले लिइहाल्छन्’, व्यवसायी सूर्य गुरुङले भने, ‘यहाँ नेपालबाट आउने हरेक कलाकारको इभेन्ट हुने गर्छ । मानिसहरु सप्ताहन्त इभेन्टमा पनि भाग लिने र त्यही बेला सपिङ, लन्च, डिनर गर्ने प्रचलनले नेपाली व्यवसायहरु विस्तार र सर्भाइभ भएका पनि छन् ।’
गुरुङसमेत आवद्ध एभरेष्ट क्यास एण्ड क्यारी ग्रुपले नेपाल, भारत र कोरियाबाट खाद्यान्न लगायत सामान ल्याएर होलसेल बिक्री गरिरहेको छ ।
ब्रिटिश आर्मीबाट अवकास लिएपछि विगत २२ वर्षदेखि अल्डरसटमै स्थायी बसोबास गरेका सहारा यूकेका पूर्व अध्यक्ष मीनबहादुर गुरुङ (साइला) भन्छन्, ‘हरेक घर–घरमा नेपाली रेष्टुरेन्ट र ग्रोसरी छन् । अब २० वर्षभित्र त यहाँ नेपालीमात्र हुन्छन् होला ।’
उनले अस्पताल, हाउजिङ, यातायात र सिक्सथ फर्म स्कुल आदि सुविधाले पनि रसमोरमा बस्न नेपाली आकर्षित भइरहेका बताए ।
नेपाली समुदायको रसमोरमा बलियो उपस्थिति छ किनभने आफ्नो सेवाकालमा अल्डरसट ग्यारिसनसँग गोर्खाहरुको घनिष्ट सम्बन्ध थियो । सन् २००८ को उच्च अदालतको फैसलापछि बेलायत सरकारले १९९७ भन्दा पहिले अवकास प्राप्त गोर्खा सैनिक र उनीहरुका आश्रित परिवारलाई बेलायतमा स्थायी बसोबासको अधिकार दिएको थियो ।
सन् २०२१ को जनगणनाले रसमोरमा गोर्खासहित १० हजार ५ सय ७५ जना (१०.६ प्रतिशत) नेपाली रहेको देखाएको छ । यो इङ्गल्याण्ड र वेल्सको स्थानीय क्षेत्रका लागि उच्च प्रतिशत थियो । अहिले त यो संख्या झन् बढेको स्थानीय बताउँछन् ।
प्रतिक्रिया 4