
News Summary
Generated by OK AI. Editorially reviewed.- रमेश भण्डारीले ८ वर्षदेखि स्वयंसेवी रुपमा १५०० भन्दा बढी सर्प उद्धार गरेका छन् ।
- उनी सर्पप्रति जनचेतना फैलाउँदै, घर र खेतबारीमा सर्पको बासस्थान संरक्षण गर्न काम गर्छन् ।
मोरङ उर्लाबारी–४ का रमेश भण्डारीको दैनिकी सर्पसँगै बित्छ । कहिले खेतबारी, कहिले घरभित्रै, कहिले भान्साघर त कहिले सुत्ने ओछ्यानमा, सर्प देखिएको सूचना आउनेबित्तिकै उनी उद्धारका लागि निस्किन्छन् । सर्पप्रति आम मानिसमा जुन डर छ, रमेश त्यही डर हटाउने काममा लागेका छन् ।
२९ वर्षका रमेशले सर्प उद्धार थालेको ८ वर्ष भयो । अहिलेसम्म उनले १५०० भन्दा बढी सर्प उद्धार गरिसकेका छन् । त्यो पनि बिना कुनै पारिश्रमिक, पूर्णतः स्वयंसेवी भावना र जोखिम मोलेर ।
सर्पप्रेमी बन्न रमेशलाई प्रेरणा दिएका थिए छिमेकी प्रेम विष्टले । विष्ट वन प्राविधिक थिए । बिना उपकरण ठूला विषालु सर्प समात्न सक्ने विष्टसँग संगत गर्दै रमेशले सुरुमा अविषालु सर्पको उद्धार गर्न थाले । थुप्रै पटक सर्पले डसे पनि । उनी डराएनन् ‘विष नभएका सर्पले मार्दैन’ भन्ने आत्मविश्वासले उनलाई अघि बढायो।
पछि उनी विषालु सर्प, जस्तै करेत र गोमन सम्हाल्न थाले। उनमा सर्पको चाल, मनोविज्ञान र व्यवहार बुझ्ने अनुभवसँगै थपिँदै गयो।
‘सर्पले उद्धारकर्तालाई चिन्छ जस्तो लाग्छ,’ रमेश भन्छन्, ‘उद्धारकर्मी पुगेपछि सर्प सर्तक हुन्छ ।’ उनी सर्पलाई लाठी, ढुङ्गा वा आगो लगाएर मार्ने प्रयास नगर्न आग्रह गर्छन् । ‘त्यो अवस्थामा सर्प आक्रोशित हुन्छ,’ उनले थपे, ‘सर्प आफैंले कहिल्यै पहिला आक्रमण गर्दैन।’
डर हटाउन अभियान
रमेश अहिले उद्धार मात्र होइन, सर्पप्रति जनचेतना फैलाउने काममा पनि सक्रिय छन् । उनले विद्यालय, किसान समूह र विभिन्न संस्थामार्फत सर्प सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छन्। उनका अनुसार मानिसहरूकै कारण सर्पको बासस्थान नष्ट हुँदै गएकाले सर्पहरू घरतिर पस्न थालेका हुन्।
‘वासस्थान जोगाउन सके सर्प घर आउँदैन,’ उनी भन्छन्, ‘खेतबारीमा मुसा र कीटाणु नियन्त्रणमा सर्पको ठूलो भूमिका हुन्छ ।’
घरका सदस्यले सुरुमा यो काम नगर्न सुझाए पनि रमेशले अडान छाडेनन् । ‘जोखिमा हुने काम किन गर्छौ भनेर परिवारका व्यक्तिले रोक्न खोजे,’ उनले भने, ‘तर म रोकिइन।’
नाम नै सम्पत्ति
सर्प उद्धार उनको कुनै आर्थिक लाभ दिने पेशा होइन । तर उनले त्यसबाट पहिचान बनाएका छन्।
‘पैसा कमाएको छैन,’ उनी मुस्कुराउँदै भन्छन्, ‘तर नाम चलेको छ। त्यही मेरो सम्पत्ति हो।’
वर्षायाम सुरु भएसँगै उनलाई सर्प उद्धारका लागि भन्दै दिनकै २–३ वटा फोन आउँछ । उनी दिनरात नभनी तयार रहन्छन्, एक हातमा टर्च, अर्को हातमा बोटको भर ।
त्यही साहसले उनी सर्प र मानिस बीचको दूरी घटाउँदै छन्।
प्रतिक्रिया 4